प्रिमियर स्टिलः दुई अर्ब लगाानी, एक वर्ष नपुग्दै दुई नम्बरको बजार हिस्सा

Advertisement

काठमाडौं । ‘२०७५ मंसिरदेखि उत्पादन आरम्भ, २०७६ मंसिर नपुग्दै २ वटा प्रदेशको ६० प्रतिशत बजार हिस्सामा कब्जा’, यो प्रगति हो प्रिमियर स्टिलको ।

दैनिक ८ सय टन उत्पादन क्षमता भएपनि यतिबेला कम्पनीले औसतमा तीन सय टन उत्पादन गरिरहेको छ । एक नम्बर प्रदेशको राजधानी बिराटनगरबाट उत्पादन गरिरहेको प्रिमियरले एक नम्बर र दुई नम्बर प्रदेशको ६० प्रतिशत हिस्सा एक वर्षकै दौरानमा ओगट्न सफल भएको जनाएको छ । स्थापित व्यवसायीक घराना सारडा ग्रुप र राठी ग्रुपको दुई अर्बको लगानीमा प्रिमियर स्टिल स्थापना भएको हो ।

जापानी स्टेटलाइट प्रविधिमा डण्डी निर्माण गरिरहेको कम्पनीले एक नम्बर र दुई नम्बर बाहेकका अन्य प्रदेशहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै लगेको कम्पनीका महाप्रवन्धक उमेश बराल बताउँछन् । उनी भन्छन्, ‘बिराटनगरको उत्पादनलाई नेपालगञ्ज लगेर त्यहाँका उद्योगसँग प्रतिष्पर्धा गर्न कठिन हुन्छ । तर, हामी आसपासका प्रदेशहरुमा भने बजार विस्तारमा विशेष ध्यान दिईरहेका छौं ।

बराल आफैं काठमाडौंमा बसेर मेगा प्रोजेक्टहरुमा प्रिमियरका उत्पादन प्रयोग गराउने अभियानमा जुटिरहेका छन् । देशमा पूर्वाधार निर्माणको काम अघि बढिरहेको छ । तर, पुँजीगत खर्च खासै वृद्धि हुन नसक्दा अहिले निर्माणसँग सम्बन्धित उद्योगहरुमा सुस्तता आएको उनी बताउँछन् ।

पुँजीगत खर्चको न्यूनताकै कारण सिमेन्ट, डण्डी, ढुंगा लगायतका उद्योगहरु आफ्नो क्षमता अनुसार चल्न सकिरहेका छैनन् । ‘यद्यपी हामी निर्माण उद्योग फस्टाउने अपेक्षामा छौं, पुँजीगत खर्च राम्रो होला, मध्यपहाडी, मदन भण्डारी राजमार्ग, फास्ट ट्रयाक, अरुण तेस्रो, बुढीगण्डकी जलविद्युत आयोजना, सिंहदबारको संसद भवनहरुको निर्माणले स्टिल उद्योगहरु फस्टाउनेछन् भन्ने आशा छ’, बरालले आशावादी हुँदै भने ।

नेपालका सबै स्टिल उद्योगहरुले आफ्ना लागि आवश्यक कच्चा पदार्थ भारतबाट आयात गरिरहेका छन् । भारतको स्टिल अथोरिटी अफ इण्डिया लिमिटेडबाट अलि धेरै मात्रामा ‘ब्लेड’ आयात हुन्छ । नेपाली उद्योगहरु ‘ब्लेड’ आयात गरेर डण्डी लगायतका उत्पादन तयार पारेर नेपाली बजारमा पठाउँछन् ।

आफ्नै खानीको फलाम कहिले ?
यतिबेला सरकारले फलाम खानी दर्ता गरिसकेको छ । त्यो कम्पनीबाट नवलपरासीको धौवादीको फलाम खानी उत्खनन गर्ने भनिएको छ । त्यो भन्दा पहिले यसको सम्भाव्यताको खोजी पनि आवश्यक छ । त्यसपछि देशभरका अन्य खानीहरुको खोजी र उत्खननमा लाग्नुपर्छ भन्ने ठान्छन् बराल । उनी भन्छन्, ‘नेपालमा खनिजका थुप्र खानीहरु छन् भन्ने कुरा हाम्रो भौगर्भिक बनोटले पनि बताउँछ, १७ प्रतिशत तराई बाहेकको माथिल्लो भागमा थुप्रै खानीहरु छन् । अब तिनीहरुको उत्खनन गर्नुपर्छ ।’

हाम्रा डण्डीः हिजो र आज
आज भन्दा १५ वर्ष अघिसम्म नेपालमा एफई (फेरस) ४१५ ग्रेडका डण्डी बनाउने गरिएको थियो । त्यसपछि एफई ५०० ग्रेडका डण्डी बनाउन थालियो । अहिले एफई ५०० डि मापदण्डका डण्डी उत्पादन गर्न थालिएको छ । भूकम्पपछिको अवस्थामा एफई ५०० डीको माग बढिरहेको छ ।

मेल्टिङ उद्योग
हामीसँग कवाडीका समान मेल्टिङ गर्नसक्ने उद्योग पनि छन् । तिनले पूराना फलाम र डण्डीलाई पेलेर नयाँ बनाईरहेका छन् । त्यसका लागि केही कच्चा पदार्थ फेरी पनि भारतबाटै ल्याउनुपर्छ । अहिले सञ्चालनमा रहेका मेल्टिङ उद्योगका लागि भने पूराना फलाम र डण्डीको पर्याप्त मात्रामा उपलब्ध नभएको अवस्था छ ।

अब आत्मनिर्भर पनि
नेपाललाई फलाम र फलामजन्य उत्पादनहरुमा आत्मनिर्भर बनाउन सकिने अवस्था बनिसकेको छ । सबै उद्योगहरु आफ्ना पूर्ण क्षमतामा सञ्चालन हुने हो भने फलाम र फलामजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्न सकिने बरालको दावी छ । हाम्रा उत्पादनहरुको गुणस्तरमा पनि कुनै समस्या छैन् । नेपाली उत्पादनहरुले गुणस्तर तथा नापतौल विभागले तोकिदिएको गुणस्तरको मापदण्ड पनि पूरा गरेका छन् । ‘पूर्ण क्षमताहरुमा उद्योगहरु चलाउन सक्ने वातावरण बन्ने हो भने अहिले नै माग र गुणस्तरमै पनि हामी आत्मनिर्भर बन्नसक्ने अवस्थामा छौं’, बरालले भने ।

प्रिमियर प्रविधि
प्रिमियर स्टिलले जापानिज प्रविधिबाट आफ्ना सामानहरु उत्पादन गरिरहेको छ । एउटा छेउबाट ब्लेड हालेपछि सात सय मिटर पर गएर डण्डी निस्कन्छ । त्यसपछि कुन आकार र साइजमा चाहिएको हो, सेन्सरले आफैं कटिङ गरेर बण्डलिङ हुन्छ । प्रिमियरसँग आधुनिक प्रविधिको केमिकल टेष्टिङ ल्याब फिजिकल ल्याब दुबै छन् । यी दुबै टेष्टको रिपोर्ट डण्डीसँगै पठाउँने गरेको बराल बताउँछन् ।

त्यसबाहेक गुणस्तर विभागले हरेक महिनाजसो बजारबाट नमुना संकलन गरेर र उद्योगमै आएर पनि गुणस्तर जाच्ने गरेको छ । भूकम्पपछि गुणस्तरमा केही परिमार्जन पनि भएको उनी बताउँछन् ।

लगानी कति ? अब के ?
प्रिमियर स्टिलमा दुई अर्ब लगानी गरिएको छ । अहिले धमाधम नयाँ फलाम उद्योग आउँदैछन् । बिराटनगरमै दुई वटा नयाँ उद्योग थपिएका छन् । नेपागञ्जमा अम्बेको नयाँ उद्योग आउँदैछ । बिरगञ्ज, बुटवल, चन्द्रौटामा नयाँ उद्योग थपिएका छन् । उद्योगी व्यापारीले नाफा हेर्ने हो, अहिलेकै उद्योगहरु अण्डर क्यापासिटीमा चलिरहेका बेला नयाँ प्लान्ट थप्नेबारे प्रिमियर स्टिलले सोचिएको छैन् ।

बजार प्रणाली
सामान्यतयाः स्टिल कम्पनीका लागि बजारसम्म पुग्ने दुई वटा बाटा हुन्छन् । पहिलो भनेको निर्माण कम्पनी र क्षेत्रसँग सिधै छलफल गर्ने हो । दोस्रो बाटो भनेको बजारका एजेण्टहरु हुन् । ‘हामीसँग दुई सय जना एजेन्ट छन् । उनीहरुको अण्डरमा बसेर काम गर्नेहरु छ सयको संख्यामा पुगेका छन्’, बरालले सुनाए ।

ठूला परियोजना
सोलुमा सिई कन्स्ट्रक्सनले ८९ मेगावाटको जलविद्युत आयोजना बनाईरहेको छ । त्यसमा प्रिमियरका उत्पादन प्रयोग भईरहेका छन् । पूर्व–पश्चिम रेलमार्गमा पनि प्रिमियरकै स्टिल उपयोग भइरहेका छन् । त्यसबाहेक अरुण ३ जलविद्युत आयोजनामा पनि प्रिमियरका उत्पादन प्रयोग भइरहेका छन् ।

साथै, अहिले मेलम्चीमा काम थालेको सिनो हाइड्रोलाई डण्डी बेच्ने योजनाका साथ बराल छलफलमा जुटेका छन् । सिनोले चीनमै लगेर गुणस्तर परिक्षण गरिरहेको र त्यसमा अब्बल ठहरिए मेलम्चीमा प्रिमियरका छड प्रयोग हुनेछन् । नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउने जापानी कम्पनी हाज्मासँँग पनि छलफल अघि बढाएको उनी बताउँछन् ।

४० अर्बको लगानी
अहिले सबै स्टिल उद्योगले गरेर ४० अर्बका सामान बजारमा पठाईएका छन् । ‘मेसिन, उपकरण, जग्गासहितको हिसाब गर्ने हो भने दुई खर्ब ४० अर्ब भन्दा बढीको लगानी यो क्षेत्रमा छ’, बरालले भने । यति ठूलो लगानी भएको औद्योगिक क्षेत्रलाई बजार प्रणालीमा पठाईएको समानको सुरक्षा गर्ने चुनौती भएको उनी बताउँछन् ।

Advertisement

Advertisement

Advertisement