विश्वका सबैभन्दा प्रदुषित शहरहरुमा काठमाडौं पनि, बिरामीहरुको संख्या बढ्दै

Advertisement

काठमाडौँ । केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ । दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो– यहाँ पनि उतैको विषाक्त वायु त आइपुगेन ?

तर विज्ञहरू भन्छन्– यो बाह्य प्रभाव होइन । काठमाडौंको वायुमण्डल आफैंमा प्रदूषित छ । हामीले पलपल सास फेर्ने हावामा धूवाँ र धूलोको मात्रा ‘अत्यधिक’ छ । सरकार र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धूवाँधूलो रेकर्ड भएको छ ।

सम्झनुस् हाम्रो टाउकाको एउटा रौं । यसको औसत मोटाइ १०० माइक्रोमिटर हुन्छ । त्यो मोटाइलाई ४० भाग लगाउने हो भने एउटाको आकार २.५ माइक्रोमिटर बराबरको बन्छ । यसलाई हाम्रा आँखाले देख्न सक्दैन । प्राविधिक भाषामा यसलाई (पार्टिकुलेट्स म्याटर) पीएम–२.५ भनिन्छ ।

विज्ञहरूका अनुसार पीएम २.५ कणलाई खुला आँखाले देख्न सकिँदैन । यी कण नाक र मुखबाट सीधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छ । क्यान्सरसमेत निम्त्याउन सक्ने रसायन मिसिएका यी कणले रक्तसञ्चार प्रणाली र मुटुलाई आघात पु‍र्‍याउने जानकारहरू बताउँछन् ।

यस्ता ससाना धूवाँधूलोका कण प्रतिघनमिटर हावामा ४० माइक्रोग्रामभन्दा बढी छन् भने श्वासप्रश्वासका लागि हानिकारक मानिन्छ । राजधानीको व्यस्त क्षेत्र रत्नपार्कमा गत बिहीबार पीएम–२.५ को मात्रा ६७ माइक्रोग्राम रेकर्ड भयो । चिसो बढेसँगै यो मात्रा पनि बढ्दै जानेछ । यो ०७५ को हिउँदमा १४५.४७ माइक्रोग्रामसम्म पुगेको रेकर्ड छ । यो डब्ल्यूएचओले तोकेको मापदण्डभन्दा झन्डै ६ गुणा बढी हो । अघिल्लो साता दिल्लीको वायुमण्डलमा पीएम २।५ को मात्रा एक घण्टाको औसत लिँदा ९ सय माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको थियो । अहिले त्यो घटिसकेको छ ।

डब्ल्यूएचओले पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २५ माइक्रोग्राम (२४ घण्टामा) भन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । नेपाल सरकारले भने २०६९ सालमा यस्तो मापदण्ड ४० माइक्रोग्राम तोकेको छ । तोकिएयताको तथ्यांक हेर्दा वायु प्रदूषणको मात्रा कुनै दिन पनि मापदण्डभित्र छैन । सधैं नाघेकै छ । विकसित मुलुकका विश्वविद्यालय र अनुसन्धानकर्ताले गरेका अध्ययनले पनि काठमाडौं प्रदूषित सहरभित्र पर्ने गरेको देखाएका छन् ।

स्वीट्जरल्यान्डका विशेषज्ञहरूको समूहले गत बुधबार सार्वजनिक गरेको ‘आईक्यू एअर भिजुअल’ प्रतिवेदनमा विश्वका ३० प्रदूषित सहरको सूचीमा काठमाडौं सातौं स्थानमा परेको छ । यसअघि अन्य विशेषज्ञले गरेका अध्ययनले पनि काठमाडौं प्रदूषित १० नम्बरभित्र पर्ने गरेको थियो । डेनिस सरकारको सहयोगमा तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयले ०५९ सालदेखि काठमाडौंमा वायु प्रदूषणको अवस्थाबारे अध्ययन सुरु गरेको हो । त्यसअघि नेपालको वायु प्रदूषणबारे विदेशी अनुसन्धानकर्ताले आफ्नै प्रयोजनका लागि गरे पनि सरकारीस्तरमा अध्ययन भएको पाइँदैन । ०५९ सालमा राजधानीमा वायुको गुणस्तर थाहा पाउन काठमाडौं, भक्तपुर र ललितपुरमा सर्वसाधारणको बढी आउजाउ हुने ७ स्थानमा प्रदूषण मापन केन्द्र राखिएको थियो । ती केन्द्रले वायुमा रहेका धूलोका कण (पीएम १०) मापन गर्थे । सरकारले पीएम १० को मात्रा प्रतिघनमिटर हावामा १२० माइक्रोग्राम हुनुपर्ने मापदण्ड तयार गरेको छ । यो मापदण्ड ०५६ सालमा तोकिएको हो ।

पीएम १० पनि हानिकारक धूलोका कण नै हुन् । यिनको आकार पीएम २.५ भन्दा चार गुणा ठूलो हुन्छ । यी कण पीएम २.५ जस्तो फोक्सोसम्मै भने पुग्दैनन् । घाँटीसम्म पुग्ने भएकाले श्वासप्रश्वास र दमका रोगीलाई यसले हानि पुर्‍याउँछ । यस्ता कणले बालबालिका र वृद्धवृद्धालाई बढी असर गर्ने चिकित्सकहरूको भनाइ छ ।

अन्य देशबाट प्रदूषण नभित्रिँदा पनि काठमाडौंको वायुमण्डल प्रदूषित नै भइरहने वातावरण विभागका विज्ञ एवं सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए । ‘विगतको तुलनामा अहिले प्रदूषण केही हदसम्म घटे जस्तो देखिन्छ,’ उनले भने, ‘तर मुख्य स्रोत मानिएका सवारीसाधनको अनुगमन प्रभावकारी हुन नसकेकाले वायुको गुणस्तर चाहे जस्तो सुध्रिएको छैन ।’ उनका अनुसार ०७६ को तुलनामा ०७३ र ०७४ मा राजधानीको वायुमण्डलमा धूवाँ र धूलोको मात्रा बढी थियो ।

विभागले आव ०७३.७४ मा गरेको अध्ययनले पनि वायु प्रदूषण गर्ने स्रोतमा सबभन्दा बढी भूमिका सडकलगायतका पूर्वाधार निर्माणलाई देखाएको छ । ‘त्यो अध्ययनले ५३ प्रतिशत प्रदूषणका स्रोत पूर्वाधार निर्माण भएको किटान गरेको छ,’ पौडेलले भने । ०७४ पछि प्रदूषणका स्रोतबारे अध्ययन भएको छैन । तर अहिले विभागले वायु प्रदूषणको मुख्य स्रोत सवारीसाधनलाई नै मानेको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement