रुपन्देहीमा विद्युत् चुहावट घट्दो

Advertisement

खस्यौली । रुपन्देहीमा विद्युत् चुहावट घट्दै गएको देखिएको छ । नियन्त्रणका कार्यक्रम प्रभावकारी र विद्युत्मा प्राविधिक सुधार भएकोले चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए ।

बुटवल उप- महानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष हुकिङ, मिटर र मागको आधारमा चुहावट हुने गरेको बताइएको छ । “विद्युत्को खपत गर्नेले जती स्वीकृति लिएको छ त्यति नै आधारमा बल्व जडान गर्नुपर्छ नभए त्यसलाई मागको आधारमा चुहावट मानिन्छ”, प्रमुख मिश्रले भने, “केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा १२/३४ प्रतिशत विद्युत् चुहावट भएकोमा आव २०७४/७५ मा ९६१ प्रतिशतमा झरेको छ ।

आव २०७५/७६ मा ६/९१ प्रतिशतमा विद्युत् चुहावट सीमित हुन पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्युत् चुहावट गर्ने दुई जनालाई कारवाही गरिएको छ । ती दुईसँग ३३ हजार ७५३ रकम असूली गरिएको थियो ।

उक्त आर्थिक वर्षमा मिटरबाट विद्यु चुहावट गर्ने तीन जनालाई कारवाही गर्दा  ९९ हजार ६९८ रकम असूली भएको छ । यसैगरी मागका आधारमा चुवाहट अन्तर्गत तीन हजार ९९३ जनालाई कारवाही भएको छ । उनीहरुबाट रु दुई करोड १४ लाख ६८ हजार ५२४ रकम असुली भएको छ । विद्युत् चुहावटमा यस क्षेत्रबाट कूल तीन हजार ९९८ कारवाहीमा परेकोमा रु दुई करोड १६ लाख ९७६ रकम असूली भएको जनाइएको छ ।

केन्द्रका प्रमुख मिश्रका अनुसार चुहावट नियन्त्रणका लागि मिटरमा ताल्चा हान्ने काम भएको र त्यस्तो एक हजार ५०० ग्राहकको रिसिलिङ गरिएको छ । “कतिपय अवस्थामा विद्युत् चुहावट थाहा नभएर पनि हुने गरेको छ”, उनले भने । प्रमुख मिश्रले विद्युत् प्राधिकरणले ग्राहक वर्गिकरण सुधारलगायतका कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिँदै विद्युत्को वक्यौता प्रतिशत पनि घटदै गएको बताए ।

Advertisement

Advertisement

Advertisement