साग खेलकुदको मिति अब नसर्ने, तोकिएकै मितिमा गर्न नेपाल तयार

Advertisement

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै गर्न सकिने नेपाली पक्षले अडान राखेको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बोर्ड बैठकमा शनिबार युवा तथा खेलकुदमन्त्रीलगायतका नेपाली अधिकारीहरुले तोकिएकै मितिमा खेल आयोजना गर्न सकिने भन्दै मिति सार्नु जरुरी नरहेको प्रष्ट्याएको छ ।

यसअघि दुई पटक मिति सारिसकिएको साग खेलकुद मंसिर १५ गतेबाट आयोजना गर्न मिति तोकिएको छ । तर समय तीन हप्ता मात्रै बाँकी रहँदा रंगशाला निर्माको काम बाँकी नै रहेको, रंगशालामा हालिने प्याराफिटको छानो चीनबाट आउनै बाँकी रहेको, अन्य तयारी पनि सुस्त रहेको भन्दै तोकिएको मितिमा खेल आयोजना गर्न कठिन रहेको कतिपय सरोकारवालाले औंल्याइरहेका छन् ।

खेल निर्धारित समयमा आयोजना हुने कुरामा सार्वजनिक चासो बढेपछि शनिबार खेलकुद मन्त्रीले बोल्दै मिति नसर्ने र तोकिएकै मितिमा खेल आयोजना गर्न आफूहरु रातदिन काम गरिरहेको बताएका थिए । शनिबार नै भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बोर्ड बैठकमा मन्त्री विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव जीवनराम श्रेष्ठलगायतले मिति सार्नु जरुरी नरहेको बताएपछि अब भने खेल मंसिर १५ गतेबाट हुने करिव निश्चित भएको छ ।

दश दिनसम्म चल्ने यस खेलका लागि आवश्यक तयारी गरिसकेको र बाँकी काम चाँडै सम्पन्न हुने नेपाली पक्षले बताएपछि बैठकमा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिहरू तोकिएकै मितिमा सहभागी हुन तयार भएका हुन् । बैठकमा सहभागी श्रेष्ठले सबै राष्ट्रका प्रतिनिधिहरुमा रहेको दुबिधालाई आफूहरुले प्रष्ट राखेसँगै सबै विश्वस्त भएको बताउँदै अब साग खेलकुद नसर्ने स्पष्ट पारेका छन् ।

त्यस्तै, सार्क शिखर सम्मेलन जस्तै साग खेलकुदको आगामी संस्करण पाकिस्तानलाई हस्तान्तरण गरिने भएको छ । भारत–पार्क खराब सम्वन्धका कारण शिखर सम्मेलन हुन नसकेको बेला पाकिस्तानलाई आगामी खेल आयोजनाको जिम्मेवारी दिने तयारी गरिएको हो । १३औं सागको समापनमा पाकिस्तानलाई झन्डा हस्तान्तरण गने भएको छ । वर्णानुक्रमअनुसार पाकिस्तानले साग खेलकुल आयोजनाको जिम्मेवारी पाउन लागेको हो ।

Advertisement

Advertisement

Advertisement