तनहुँमा घुम्ती शिविरबाट दुई सय १२ लाई नागरिकता

Advertisement

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा शनिबार आयोजना गरेको घुम्ती शिविरबाट दुई सय १२ ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र एक सय १९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सर्वसाधारणलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका छन् । नागरिकता बनाउन सदरमुकाम दमौलीसम्म आउनुपर्ने बाध्यता रहेकाले सर्वसाधारणको सुविधाका लागि गाउँमा नै घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।

देवघाट गाउँपालिकाका अध्यक्ष थापाले प्रशासन कार्यालयले स्थानीयस्तरमा नै आएर नागरिकता वितरण गरिदिँदा स्थानीयवासीलाई राहत मिलेको बताए ।

प्रशासन कार्यालयले यसअघि पनि देवघाट गाउँपालिकामा दुईपटक घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिसकेको छ । कार्यालयले गत आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा समेत घुम्ती शिविरको आयोजना गरेको थियो ।

Advertisement

Advertisement

Advertisement