आजदेखि १० दिनका लागि भद्रपुर विमानस्थल बन्द

Advertisement

भद्रपुर । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।

गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि  १० करोड २३ लाखमा ठेक्का लिएको उनको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको उनले जानकारी दिए । भद्रपुर–काठमाडौँ हवाईसेवाका लागि यहाँबाट अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान भर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement