बंगलादेशी राष्ट्रपतिको भ्रमणको भित्री उद्देश्यः विद्युत व्यापारका लागि सम्वन्ध विस्तार गर्नु

Advertisement

काठमाडौं । बंगलादेशमा उर्जाको माग बढिरहेको बेला उक्त मुलुकका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल भ्रमणलाई धेरैले अर्थपूर्णरुपमा लिएका छन् । नेपालसँग उर्जा व्यापार र जलविद्युतमा लगानीका लागि बंगलादेशले चासो दिइरहेको बेला बंगलादेशी राष्ट्रपतिको मंगलबारबाट सुरु भएको सदभावना भ्रमण पनि उर्जा व्यापारकै लागि नेपालसँग अनुकुल बाताबरण बनाउनु रहेको जानकारहरु बताउँछन् ।

यद्यपि बंगलादेशी राष्ट्रपति हमिदको यो भ्रमणमा बंगलादेशसँग विद्युत व्यापारकै लागि भनेर छुट्टै सम्झौता हुने संभावना नरहेको उर्जा मन्त्रालयका प्रवक्ता प्रविनराज अर्यालले कर्पोरेट नेपाललाई बताए । उनले भने– बंगलादेशसँग द्धिपक्षीयरुपमा उर्जा व्यापारका लागि संयुक्त संयन्त्रमार्फत धेरै कुराहरु भइरहेका छन्, यही बेलामा विद्युत व्यापारका लागि छुट्टै सम्झौता भनेर नभए पनि वृहत्तर फ्रेमवर्कमा उर्जा साझेदारीका लागि सम्झौता भने हुनसक्छ ।

नेपालमा तीन चार बर्षअघि निर्माण सुरु भएका विद्युत आयोजनाहरु धमाधम निर्माण सम्पन्न भई उत्पादनमा वृद्धि हुन थालेसँगै विद्युत निर्यातको बहस पनि बढेको छ । त्यसका लागि संभावित बजारको रुपमा बंगलादेशलाई पनि लिइएको छ । स्वयम बंगलादेशले पनि नेपालसँग उर्जा व्यापारका लागि चासो दिइरहेको बेला बंगलादेशी राष्ट्रपति नेपाल आउनुको भित्री उद्देश्य पनि त्यसैका लागि बाताबरण बनाउनु रहेको देखिन्छ ।

सद्भावना भ्रमण भएकाले कुनै पनि विषयमा महत्त्वपूर्ण सम्झौता हुने संभावना नरहे पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा विद्युत् व्यापारको कुरा हुने अडकल गरिएको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता अर्यालले बंगलादेशसँग विद्युत व्यापारका लागि उच्चराजनीतिकस्तरमा सम्झौताको जरुरी नभए पनि उर्जा क्षेत्रमा दीर्घकालिन द्धिपक्षीय साझेदारीका लागि यो भ्रमणमा कुरा हुनसक्ने स्वीकार गर्छन् । उनले बंगलादेश आफै पनि जलविद्युतमा लगानी बढाउन इच्छुक रहेको बताए । नेपालले १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने भन्दै त्यसका लागि स्वदेशी र विदेशी लगानीको आव्हान गरिरहेको छ ।

बंगलादेशले अहिले पनि भारतसँग ठूलो परिणाममा विद्युत आयात गरिरहेको छ । नेपालबाट बंगलादेशसम्म विद्युत निर्यात गर्न भारतीय भूमि हुँदै प्रसारणलाइन तथा ग्रिडको निर्माण गर्नुपर्ने हुन्छ । बंगलादेशलाई सन् २०३० सम्म ४० हजार मेगावाट र सन् २०४१ सम्म ६० हजार मेगावाट बिजुली आवश्यक पर्छ । अहिले २२ हजार ३ सय २९ मेगावाट बिजुली आपूर्ति गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement