सुनिल बल्लभको ३२ बर्षे यात्राः ‘मार्केटिङ एसिस्टेन्ट‘देखि सीईओसम्म एनएलजीमै

Advertisement

काठमाडौं । ‘आफू जन्मिएकै घरमा अझैसम्म बसोबास, करिअर आरम्भ गरेकै कम्पनीमा सीईओ पद ।’ यो दुर्लभ अनुभव हो सुनिलबल्लभ पन्तको, जो यतिबेला एनएलजी इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हालिरहेका छन् ।

डिल्ली बजारस्थित जुन घरमा पन्त जन्मिए, आज पनि त्यही घरमा उनी बस्दै आएका छन् । बत्तिस वर्ष पहिले जुन कम्पनीमा मार्केटिङ एसिस्टेन्ट (बजार सहायक) पदबाट जागिरे जीवन आरम्भ गरे, त्यही कम्पनी अर्थात एनएलजीमै अहिले सीईओको भूमिका छन् उनी ।

‘आफैं जन्मिएको घरमा बसोबास गर्छु, करिअर अरम्भ गरेकै कम्पनीमा सीईओ छु, यस्तो सौभाग्य कस्ले पाउँछ र ?’ प्रश्न गर्दै उनी मुस्कुराउँछन् । किर्तिपुरको लेबोरेटोरिज स्कुलबाट एसएलसी दिएपछि अस्कल (अमृत साइन्स) क्याम्पसमा भर्ना भएका पन्तले त्यहींबाट विज्ञान संकायमा स्नातकोत्तर (एमएससी) उतिर्ण गरे ।

२०४५ सालमा एनएलजी इन्स्योरेन्समा बजार सहायकबाट जागिर थालेका उनले कहिल्यै कम्पनी बदल्नु परेन् । बत्तिस वर्षपछि उनी यतिबेला एनएलजीको व्यवस्थापकीय नेतृत्व सम्हाल्दै कम्पनीलाई अब्बल निर्जीवन बीमा कम्पनी बनाउने अभियानमा लागिपरेका छन् । पन्त भन्छन्, ‘मैले एनएलजी छोडेर अन्त जानुपर्छ भनेर कहिल्यै सोचिन, कम्पनीले पनि त्यस्तो सोच्ने अवस्था आउनै दिएन, आज प्रिमियमका आधारमा हामी पाँचौं कम्पनी हौं, यसलाई अझै अब्बल बनाउने योजना छ ।’

कस्तो नियामकः कस्ता कम्पनी ?
बीमा समिति भनेको बीमा क्षेत्रको नियामक हो । अविभावक हो । यसको काम बीमा क्षेत्रको नियामन गर्नु, सुशासन कायम गराउनु, बीमाबारे चेतना बढाउनु, बीमितको हित गर्नु हो । साथै बीमा कम्पनीहरुलाई केही हदसम्म नाफा आर्जन गर्ने वातावरण बनाइदिनु पनि उसको दायित्व हो ।समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिएको सन्दर्भ कोट्याउँदै पन्तले थपे, ‘बीमा कम्पनीलाई दिगो बनाउन के के गर्नु पर्ने हो ? त्यो समितिले हेरिरहेको हुन्छ । बीमा क्षेत्रको दायरा बढाउनका लागि नयाँ लाइसेन्स दिनुपर्ने भन्ने सोँच आएर त्यसो गरिएको हुनुपर्छ, त्यसको नजिता पनि अहिले राम्रै आईरहेको छ ।’

एउटा अभिभावकले आफ्ना बालबालिकालाई हुर्काउन धेरै विकल्प खुला गरे जस्तै बीमा समितिले पनि बीमा क्षेत्रलाई हुर्काउन कहिले नयाँ लाइसेन्स वितरण त कहिले पुँजी वृद्धिको योजना ल्याएको पनि उनको भनाई छ । त्यस्तै, यतिबेला निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा पठाउने बीमा समितिको आशय पनि त्यसकै एउटा नतिजा हुन सक्ने पन्तको बुझाई छ । उनी भन्छन्, ‘मर्जरमा जाँदा व्यवसाय विस्तारमा आक्रामकता आउँछ भन्ने होला, बैंकहरुलाई मर्जरमा पठाउँदा नयाँ सिनर्जी (उर्जा) प्राप्त भएको छ, बीमामा पनि त्यस्तै उत्साह ल्याउला भन्ने अपेक्षा पनि होला ।’ पन्तले बीमा क्षेत्रको नियमनका लागि बसेल लागू गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

कम्पनी र बजार
‘बीस वटा कम्पनीलाई २० अर्ब पुँजी पुर्याउन भनिएको छ, हाम्रो बजार जम्मा २५ अर्ब हाराहारीको छ, अब बीमा क्षेत्रमा नयाँ तरंग ल्याउनुपर्छ, नयाँ बजार खोज्नुपर्छ’, पन्तको भनाई छ । अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य बीमालाई बीमा कम्पनीहरुमार्फत अघि बढाउने संकेत गरेकोमा उनी खुसी र आशावादी छन् । सरकारले स्वास्थ्य बीमाको चेतना गाउँगाउँसम्म विस्तार गरिसकेकाले बीमा कम्पनीलाई त्यसैमा काम गर्न सहज हुने पनि पन्तको विश्वास छ ।

उनका अनुसार सबै नागरिकमा स्वास्थ्य बीमा पुर्याउने सरकारको योजना छ । कृषि, पशुपंक्षी तथा बालीधन बीमाको कुरा पनि प्राथमिकता मै छ । अब बीमा कम्पनीहरुलाई बजारको अभाव नहुन सक्छ । बीमा कम्पनीहरुलाई बजारको अवसर छ । त्यसलाई खोजेर क्यास गर्न सक्नुपर्नेछ । स्वास्थ्य बीमा र कृषि तथा पशुपंक्षी बीमा बीमा कम्पनीहरुका लागि ठूलो अवसर भएको पन्तको भनाई छ ।

अहिले सरकारले पाँच जनाको परिवारवापत तीन हजार पाँच सय रुपियाँ उठाएर दुई लाख रुपियाँसम्मको उपचार गरिदिन्छ । ऐनले नै स्वास्थ्य बीमाको अन्तिम दायित्व सरकारमा हुन्छ भनेको छ । बीमा कम्पनीतर्फ आउँदा भने त्यसो नहुन सक्छ । तर प्रिमियममा भने केही वृद्धि गर्नुपर्ने अवस्था आउने पन्तको प्रारम्भिक ठम्याई रहेछ ।

भूकम्पले अवसर
भूकम्पले नेपालको बीमा बजारमा ठूलै अवसर ल्याउने अपेक्षा गरिएको तर त्यस्तो उत्साह भने नदेखिएको पन्तको अनुभव छ । उनी भन्छन्, ‘भूकम्पपछि बीमा क्षेत्रका लागि ठूलो अवसर थियो, सबै भौतिक सम्पतिहरुको बीमा गर्नेबारे कुरा पनि उठेको थियो, हामीले यथोचित सदुपयोग गर्न सकेनौं ।’

यद्यपी संसारका अधिकांश देशहरुमा सरकारी सम्पतिहरुको बीमा गर्ने चलन भने अझै नदेखिएको उनले स्वीकार गरे । सडक, पुलहरुको पनि निर्माण अवधीका लागि मात्रै बीमा गर्ने अभ्यास रहेको भन्दै उनले भूकम्पले बीमाको आवश्यकताबारे केही चेतना बढाएको र अब त्यसलाई कम्पनीहरुले क्यास गर्नुपर्ने पन्त बताउँछन् ।

बैंकप्रतिको निर्भरता
बैंकबाट ऋण लिएपछि बीमा गराउनै पर्ने व्यवस्था छ । यो संसारभर स्थापित मान्यता हो । विश्वमै बैंक र बीमा एक अर्काका सहयोगीका रुपमा चिनिन्छन् । अझ निर्जीवन बीमा कम्पनीको त ठूलो व्यवसाय नै बैंकसँग जोडिएर आउँछ । बैंकमा धितो राखेर ऋण लिँदा जोखिम हस्तान्तरण गर्नुपर्छ । त्यो भनेको बीमा नै हो । सवारी साधनको तेस्रो पक्ष बीमा पनि अनिवार्य गरिएको छ । त्यसको ठूलो हिस्सा पनि बैंकबाट ऋण लिएर नै गरिन्छ । संसारभर नै इन्स्योरेन्सका प्रडक्टहरु बेच्ने भरपर्दो माध्यम भनेको बैंकहरु नै हुन् । यसलाई निर्भरता भन्दा पनि सहकार्य भन्न उपयुक्त हुने पन्तको विश्लेषण छ ।

बैंकास्योरेन्सलाई धक्का
नेपाल राष्ट्र बैंकले बैंकास्योरेन्समा कडाइ गर्ने निर्णयलाई कतिपयले कैँची लगाएको भनेर टिप्पणी पनि गरे । राष्ट्र बैंक एउटा सक्षम नियामक निकाय भएकाले उसले बैंकास्योरेन्समाथि कैँची लगाएको नभई व्यवस्थित गर्ने प्रयास गरेको पन्तको बुझाई छ । यस विषयमा थप अध्ययन गर्ने काम भइरहेकोले व्यवस्थितरुपमा यो पुनः आउने उनको आशा छ ।

आचारसंहिताको चर्चा
बीमा कम्पनीहरु मर्यादित हुनुपर्छ भनेर निर्जीवन बीमा कम्पनीहरुले आफैं आचारसंहिता ल्याएका छन् । पन्त भन्छन्, ‘बीमा व्यवसायमा केही न केही विकृति आएका थिए, देखिएको विकृतिलाई निरुत्साहित गरौं भनेर आचारसंहिता ल्याएका हौं ।’ उनका अनुसार बीमितलाई सही सूचना दिनुपर्छ, कर्मचारीहरुको तानातानको अवस्था रोकिनुपर्छ, बीमा शुल्कमा एक रुपता हुनुपर्छ भनेर नै आचारसंहिता ल्याइएको हो । ‘नियामकले त नियमन गर्छ नै, साथमा हामीले पनि आफ्नो तर्फबाट स्वनियमन हुनुपर्छ भनेर आचारसंहिता ल्याएका हौं, त्यसले राम्रो काम गरिरहेको छ’, पन्तले सुनाए ।

कृषि तथा पशुधन बीमा
सरकारले कृषि तथा पशुधन बीमामा ७५ प्रतिशत अनुदान दिएको छ । बीमा कम्पनीहरुले नै सुरुमै किसानसँग २५ प्रतिशत शुल्क उठाउँछन् । त्यो पैसाका लागि बीमा कम्पनीहरुले केही समय कुर्नुपर्छ र केही प्रक्रिया समेत पार गर्नुपर्छ । त्यसरी ७५ प्रतिशत प्रिमियम ढिला आउँदा कम्पनीहरुलाई क्यास फ्लोमा भने केही समस्या हुने गरेको छ । गाई बस्तुलाई ट्याग लगाएको, स्वास्थ्य जाँच गरेको खर्च पनि आउने र सुरुमै पूरै प्रिमियम नआउँदा पनि केही अप्ठेरो परेको पन्त सुनाउँछन् । सँगै उनले बीमा समिति र सरकारसँग ७५ प्रतिशत प्रिमियम ढिलो आउने समस्याको समाधानका लागि पहल भइरहेको जानकारी दिए ।

हामी सर्वोत्कृष्ट
एनएलजी इन्स्योरेन्सले गत वर्ष कृषि तथा पशुपंक्षी बीमामा सर्वोत्कृष्ट कम्पनीका रुपमा राष्ट्रपतिबाट पुरस्कारसमेत पायो । यस्तो बीमाको कुल हिस्सामध्ये एनएलजी एक्लैले २० प्रतिशत ओगटेको थियो । अहिले पनि कम्पनीको कृषि तथा पशुपंक्षी बीमालाई उच्च प्राथमिकतामा राखेको उनी बताउँछन् ।

साथै, प्रिमियम संककनका आधारमा एनएलजी पाँचौं नम्बरको कम्पनीका रुपमा स्थापित छ । कम्पनीको केन्द्रियसहित ९३ वटा कार्यालय पुगिसकेका छन् । चार सय जना कर्मचारी र सात सय एजेन्टहरुको विशाल सञ्जालबाट कम्पनीले आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । सातै प्रदेशमा प्रदेश कार्यालय खोल्ने तयारी पनि अन्तिम चरणमा पुगेको पन्त बताउँछन् ।

Advertisement

Advertisement

Advertisement