फलाम खानी उत्खनन् गर्न सरकारले कम्पनी स्थापना गर्यो, नाम धौवादी फलाम खानी कम्पनी

Advertisement

काठमाडौं । मुलुकका उद्योगहरुलाई आवश्यक पर्ने फलाम स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले सरकारले फलाम कम्पनी स्थापना गरेको छ। कम्पनीको नाम ‘धौवादी फलाम खानी कम्पनी’ राखिएको छ।

स्वदेशका डण्डी उद्योगले विदेशबाट बर्सेनी अर्बौं रुपियाँको कच्चा पदार्थका रुपमा फलाम आयात गरिरहेका छन्। स्वदेशमा फलाम खानी फेला परेको तर वर्षेनी यसको आयात बढीरहेकाले सरकारले फलाम उत्खनन गर्न लागेको हो। खानी तथा भू–गर्भ विभागको अध्ययनमा नवलपुरको होप्सेकोट गाउँपालिकामा व्यावसायिक रुपमा फलाम उत्पादन गर्न सकिने देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव शोभाकान्त पौडेलका अनुसार फलाम खानी सञ्चालन गर्न सरकारले चार अर्ब रुपियाँ लगानी गरेर कम्पनी दर्ता गरेको छ। ‘फलाम खानीका लागि कम्पनी स्थापना भएको छ,’ पौडेलले भने, ‘अब काम अघि बढ्छ।’ कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपियाँ छ।

कम्पनीमा निजी क्षेत्रको पनि सेयर रहने मन्त्रालयले जनाएको छ। सार्वजनिक–निजी साझेदारी अन्तर्गतको कम्पनीमा निजी क्षेत्रलाई ४५ प्रतिशत सेयर दिने पौडेलले बताए। ‘कम्पनीमा सरकारको ५५ र निजी क्षेत्रको ४५ प्रतिशत सेयर हुन्छ,’ उनले भने, ‘सरकारको सेयर पुँजीका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाउने तयारी भइरहेको छ।’ निजी क्षेत्रको सहभागिता रहे पनि सरकारकै स्वामित्वमा कम्पनी सञ्चालन गर्ने गरी सेयरको संरचना तयार गरिएको छ।

मन्त्रिपरिषद् बैठकले नवलपुरको धौवादीमा फलाम उद्योग स्थापना गर्न स्वीकृति दिएपछि कम्पनी खुलेको हो। खानीस्थल पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलोमिटर उत्तरको दुरी नवलपुरको होप्सेकोट गाउँपालिकामा छ।

होप्सेकोटको नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्रफलमा फलामको कच्चा पदार्थ फैलिएको विभागले जनाएको छ। प्रारम्भिक अध्ययनले करिब सात करोड टन कच्चा पदार्थ रहेको देखाएको छ। पूर्वसम्भाव्यता अध्ययनमा उपयुक्त देखिएपछि खानी उद्योग सञ्चालन गर्न लागिएको हो। मुलुकका विभिन्न ठाउँमा फलामका खानी रहेको बताउँदै आए पनि व्यावसायिक रुपमा फलाम उत्पादन गर्न खोजिएको यो पहिलो भएको विभागले जनाएको छ।

खानी सञ्चालनका लागि पूर्वाधार तयार गर्न बजेट माग गरिएको विभागका महानिर्देशक सोमनाथ सापकोटाले बताए। ‘यो वर्षदेखि खानी सञ्चालन गर्ने तयारीमा जुटेका छौं,’ सापकोटाले भने।

खानी सञ्चालनस्थलबाट नमूना संकलन गरी परीक्षणका लागि चीन पठाएको विभागका सूचना अधिकारी कृष्णदेव झाले बताए। ‘नमूना चीन पठाएका छौं,’ उनले भने, ‘प्रयोगशालाको रिपोर्ट आएपछि थप अघि बढ्छौं।’

यो वर्ष करिब पाँच सय मिटर ड्रिलिङ गर्ने योजना रहेको उनले जानकारी दिए। जियोलजिकल सर्भेमा सातदेखि आठ करोड टन फलामको धाउ रहेको अनुमान गरिएको झाले बताए। ‘७० देखि ८० मिलियन टन फलामको कच्चा पदार्थ रहेको अनुमान छ,’ झाले भने, ‘फलाम खानीका लागि उपयुक्त भएकाले प्रक्रिया अघि बढाएका हौं।’ विभागका अनुसार नवलपुरमा धौवादी ब्लक, दुर्लुंगा ब्लक, पोखरी ब्लक, राम्चे ब्लक छन्।

खानी उद्योग सञ्चालन सरकारको प्राथमिकतामा रहेको मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बताइन्। ‘फलाम खानी सञ्चालन सरकारको प्राथमिकतामा छ,’ खतिवडाले भनिन्, ‘उद्योग सञ्चालनको लागि बजेट अभाव हुन दिँदैनौं।’ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि फलाम खानी सञ्चालन गर्ने योजना समावेश छ। सरकारले स्वदेशमा रहेका खनिजलाई उत्खनन गर्न राष्ट्रिय खनिज नीति कार्यान्वयनमा ल्याइसकेको छ।

अहिले यहाँका डण्डी उद्योगले विदेशबाट कच्चा पदार्थ आयात गरिरहेका छन्। मुलुकमा धमाधम पूर्वाधार निर्माण भएकाले रडको माग उच्च छ। राजनीतिक स्थिरतासँगै सडक, सिँचाइ, विद्युत् आयोजना, विमानस्थल निर्माण अघि बढेकाले स्टिलको माग बढिरहेको छ। नेपालमा स्टिल उद्योगमा १५ अर्ब रुपियाँभन्दा बढी लगानी पुगेको नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनले जनाएको छ।

यहाँ डेढ दर्जन बढी डण्डी उद्योगले वार्षिक १० लाख टन बढी डण्डी उत्पादन गर्दै आएका छन्। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब ८६ करोड रुपियाँको फलाम र स्टिल उद्योगले कच्चा पदार्थ आयात गरेका छन्। डण्डीका लागि चाहिने कच्चा पदार्थको रुपमा प्रयोग हुने फलाम विदेशबाट आयात हुन्छ। स्वदेशमै फलाम उत्पादन भए उक्त कच्चा पदार्थ स्वदेशी उद्योगले प्रयोग गर्छन्। यसले मुलुकको व्यापार घाटा कम गर्न पनि सघाउ पुग्नेछ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement