जुम्लामा तीन हजार प्रतिष्ठानमा ८ हजारले पाए रोजगारी

Advertisement

खलङ्गा । सरकारले विसं २०७५ मा गरेको आर्थिक गणना जिल्लास्तरमा सार्वजनिक गरेको छ । नेपाल सरकारले गरेको आर्थिक गणना जिल्ला तथ्याङ्क कार्यालयले एक कार्यक्रमका बीच जुम्लामा सार्वजनिक गरेको हो ।

कार्यालय प्रमुख शङ्करदत्त भट्टले सार्वजनिक गरेको प्रतिवेदनमा कर्णाली प्रदेशमा आर्थिक प्रतिष्ठान र यसमा रोजगारी पाउने व्यक्तिको सङ्ख्या कम भएको बताइएको छ । प्रतिवेदनमा कर्णाली प्रदेशमा ४२ हजार ८०७ वटा आर्थिक कारोवार गर्ने प्रतिष्ठानको गणना भएको छ । देशभरमा गणना गरिएका प्रतिष्ठानको सङ्ख्या नौ लाख २२ हजार ३५६ रहेको छ ।

यसैगरी जुम्लामा तीन हजार ७८ वटा प्रतिष्ठान रहेका छन् । तीमध्ये एक हजार ५११ (४९.२७ प्रतिशतं दर्ता भएका र एक हजार ५५६ (५०.७३ प्रतिशत) दर्ता नभएका प्रतिष्ठानको गणना भएको थियो । यसैगरी जुम्लामा ती प्रतिष्ठानमा आठ हजार ४६३ जनाले रोजगार पाएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आर्थिक गणनाले एउटा मार्गचित्र तयार हुने र आगामी दिनमा काम गर्न सहयोग भएको बताए । उनले देशकै आर्थिक आकार दिने आर्थिक गणनाले सहयोग गर्ने भन्दै जुम्लाको आर्थिक अवस्था बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

कोष तथा लेखानियन्त्रक रामप्रसाद बिडारीले आर्थिक तथ्याङ्क अर्थतन्त्रको मेरुदण्ड रहेको बताए। उनले यसले योजना, मूल्याङ्कन गर्न सजिलो हुने भएकाले सोहीअनुसारको काम सरोकारवाला निकायले गर्ने बताए ।

नेपाल सरकारले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गते सम्म आर्थिक गणना गरेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

जुम्लामा वनस्पति पकेटक्षेत्र कार्यक्रम सञ्चालन हुने

वनस्पति अनुसन्धान केन्द्र जुम्लाले चालू आर्थिक वर्षदेखि वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम सञ्चालनका लागि स्थलगत भ्रमणको अध्ययन गर्न लागिएको छ । स्थलगत अध्ययन भ्रमणका लागि पूर्व वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीको टोली पातारासी क्षेत्रमा पुगेको छ ।

वनस्पति विभागको कार्यक्रमअन्तर्गत यो वर्षदेखि जुम्लामा वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने कार्यालय प्रमुख चन्द्रमोहन गुर्मछानले बताए । जुम्लाको ४० हेक्टर जमीनमा उतिस लगाउने तयारी भएको उनको भनाइ छ । पहिलो चरणमा १० हेक्टर जमीनमा उतिस लगाउने योजना रहेको भन्दै उनले आगामी वर्षमा ४० हेक्टर जमीनमा वनस्पति पकेट क्षेत्र कार्यक्रमअन्तर्गत उतिस लगाउने योजना रहेको बताए।

कर्णाली प्रदेशका ९ जिल्लामा यो वर्षदेखि वनस्पति पकेटक्षेत्र कार्यक्रम सञ्चालन हुने गुर्मछानले जानकारी गराए । कर्णाली प्रदेशको ४०० हेक्टर जमीनमा वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने भन्दै उनले पकेट, ब्लक, जोन र सुपरजोन कार्यक्रम सञ्चालनका लागि विभागले तयारी थालेको जानकारी दिए।

उतिस खेती गर्ने जमीनको स्थलगत भ्रमणका लागि क्षेत्रीको टोली जुम्लामा पुगेर चौधबीस क्षेत्रका किसानसँग समन्वय र खेती गर्ने उपयुक्त वातावारण हेर्ने काम शुरु भएको उनको भनाइ छ ।

सामुदायिक वन र किसानसँग समन्वय गरी वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने पूर्व वैज्ञानिक अधिकृत क्षेत्रीले बताए। नेपालमा पाइने वनस्पति हराउँदै गएकाले यसको संरक्षण गर्न विभागले वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न लागेको उनको भनाइ छ ।

जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनका लागि खास क्षेत्र तोकी उत्पादन र उत्पादकत्व वृद्धि, दिगो सङ्कलन र स्थानीय जनताको आयआर्जन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको गुर्मछानले बताए।

बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वन जङ्गलबाट तथा दुवैबाट आपूर्तिको व्यवस्था मिलाउन वनस्पति पकेट क्षेत्र कार्यक्रमको प्रस्ताव विभागले ल्याएको हो । रासस

Advertisement

Advertisement

Advertisement