प्रधानमन्त्रीको गृहजिल्ला झापामा विकासको लहर, भ्यूटावरको निर्माणदेखि गल्लीगल्लीसम्म पिच

Advertisement

झापा । सरकारले विकासका गतिविधिलाई तीब्रता दिन नसकेको भन्दै मुलुकभर सरकारको आलोचनाको स्वरहरु आइरहेका बेला प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा भने विकासको लहर देखिएको छ । जिल्लालाई केन्द्रदेखि प्रदेश सरकारले प्राथमिकतामा राख्दै योजनाहरु अघि बढाएका छन् ।

झापाका अधिकांश मुल तथा सहायक सडकहरु पिच (कलोपत्रे) भएका छन् भने बाँकी रहेका पनि पिच हुने योजनामा परेका छन् भने ओलीको गृहनगर दमकमा पाँच विघा क्षेत्रफलमा २५ तले भ्यूटावरको निर्माणकार्य अघि बढेको छ । टावर निर्माण गर्न केन्द्रले नै एक अर्ब ५४ करोड बजेट उपलब्ध गराएको छ । सरकारको उच्चप्राथमिकताप्राप्त यो भ्यूटावर अन्डरग्राउन्ड पार्किङ, पसल, सेमिनार हल, प्रदर्शनी हल, सिनेमा हलसहितको सुविधासम्पन्न हुनेछ ।

यसअघि बजेट निर्माणका क्रममा आफ्नो क्षेत्रमा बढि बजेट पार्न प्रधानमन्त्रीले अर्थमन्त्रालयलाई दबाब दिएको समाचार बाहिर आएको थियो । त्यसभन्दा अघि आर्थिक बर्षको अन्त्यमा अर्थमन्त्रालयले २० अर्बभन्दा बढि रकम रकमान्तर गरेर प्रधानमन्त्रीलगायत प्रभावशाली नेताको क्षेत्रमा बाँडेको तथ्य बाहिरिएको थियो ।

योजना आयोगले पनि सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्राथमिकतामा राखेर यो बर्ष झण्डै तीन तीन दर्जनको दरले महत्वपूर्ण आयोजनाहरु पारेको छ । दाहालको गृहजिल्ला चितवनमा ३६ वटा महत्वपूर्ण योजना सञ्चालनमा छन् भने ओलीको गृहजिल्लामा भ्यूटावरसहित ३० भन्दा बढि आयोजनाहरु सञ्चालनमा छन् ।

Advertisement

Advertisement

Advertisement