एनएसीलाई लिलाम बडाबढमा बेच्ने सांसदको प्रस्ताव, मन्त्री भन्छन्ः यस्तै रहे बन्द गर्दा हुन्छ

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमबारे संसदिय समितिमा रोचक छलफल चलेको छ । नेपाल भ्रमण वर्ष २०२० मा पर्यटन उपभोक्ताका अधिकारबारे छलफल गर्न आयोजीत बैठकमा मन्त्री र सांसदले वायुसेवा निगमलाई लिलाम बढाबढमा बेच्ने देखि बन्द गर्नेसम्मका प्रस्ताव राखेका हुन् ।

काँग्रेस सांसद प्रकाश रसाइलीले नेपाल वायुसेवा निगमलाई रकम बढाबढ गरेर बेचिदिँदा उपयुक्त हुने धारणा राखे । 'सेवा पनि गुणस्तरिय नदिने, सधै डिले हुने, भएका जहाज उडाउन नसक्ने ? यस्तै अवस्था हो भने निगमलाई लिलाम बढाबढ गरेर बेचिदिए हुन्छ ।', सांसद रसाइलीले भने ।

उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा बोल्दै उनले निगम सरकारका लागि बोझ बन्दै गएको समेत सुनाएका थिए । सांसदहरुको जिज्ञासापछि बोलेका पर्यटन मन्त्री योगेश भट्टराईले पनि अहिलेकै अवस्थामा निगम बन्द गर्दा हुने धारणा राखे ।

मन्त्रीले त्यसो भनिरहँदा निगमका अध्यक्ष मदन खरेल भने मुसुस्क मुस्कुराईरहेका थिए । मन्त्री भट्टराईले भने-'निगमका जिम्मेवार पदाधिकारीहरु यहि हुनुहुन्छ, अहिलेकै अवस्था रहने हो भने निगम बन्द गर्दा हुन्छ ।'

यद्यपी निगमलाई सुधार गरेर राष्ट्रिय ध्वजा बाहकलाई माथी उठाउनुको विकल्प नभएको पनि मन्त्री भट्टराईले बताए । ‘निगमलाई सुधार गर्ने भनेर धेरै अध्ययन समितिहरु बने, अन्तिम पटकका लागि भनेर मैले समिति बनाए, त्यसको प्रतिवेदनका आधारमा राष्ट्रिय ध्वजा बाहकको सुधार कार्य अघि बढाउँछौं’, मन्त्री भट्टराईले भने । उनले रणनीतिक साँझेदार भित्र्याउने, व्यवस्थापन करारमा दिने लगायतका विकल्प खोजेर निगमको सुधार गरिने पनि बताए ।

 

Advertisement

Advertisement

Advertisement