पाल्पाका १२ विद्यालय शून्य दरबन्दीमा सञ्चालन

Advertisement

पाल्पा । पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मा.वि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयलाई समस्या परेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पा जिल्लामा १२ माध्यमिक विद्यालय शिक्षक दरबन्दीबिना नै सञ्चालनमा आएको शाखा अधिकृत विष्णु बेल्बासेले जानकारी दिए । जिल्लाको तिनाउ गाउँपालिका र रैनादेवी छहरामा सबैभन्दा बढी शून्य दरबन्दी विद्यालय रहेका छन् । तिनाउ गाउँपालिकामा तीन मावि, रैनादेवी छहरा गाउँपालिकामा तीन मावि, निस्दी, बगनासकाली र तानसेन नगरपालिकामा समेत शिक्षकको दरबन्दीबिना नै कक्षा सञ्चालनमा आएको हो ।

शून्य दरबन्दीमा रहेका विद्यालयलाई शिक्षकका लागि शिक्षण सहयोग अुनदानका रुपमा बजेट प्राप्त हुँदै आएको बेल्बासेको दाबी छ । विसं २०७६र७७ मा शिक्षा विकास तथा समन्वय एकाइमा बजेट प्राप्त भएको थियो । विसं २०७५र७६ मा स्थानीय तहमा नै केन्द्रीय सरकारले शिक्षण सहयोग अनुदान पठाएको हो ।

शिक्षण अनुदानको रकम मावि तहमा रहेका शिक्षकहरुलाई तलब प्राप्त भए पनि आधारभूत तहका शिक्षकले अनुदान कार्यक्रमबाट बञ्चित हुनुपरेको छ । विसं २०६६ देखि दरबन्दी थप गर्ने काम भएको छैन । पछिल्ला वर्षमा माविका कक्षा सञ्चालनमा आएका विद्यालयमा शिक्षक दरबन्दी नहुँदा पठनपाठन गराउने शिक्षकका लागि पारिश्रमिकको जिम्मेबारी विद्यालयले बेहोर्नुपर्ने बाध्यता छ ।

गाउँपालिकाले जसोतसो गरी मावि तह सञ्चालन गर्नुपर्ने बाध्यता छ । शून्य दरबन्दीमा सञ्चालित विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । तर, मावि नहुँदा अन्यत्र पठाउँदा बढी समय लाग्ने भएपछि ग्रामीण क्षेत्रका माविमा गाउँपालिका र विद्यालयको आन्तरिक खर्चबाट मावि शिक्षक पालिन्छन् ।

शून्य दरबन्दीका मावि कहाँ छन् ?

पाल्पाको तिनाउ गाउँपालिकाको कोलडाँडामा बृद्ध मावि, तिनाउको दोभानस्थित थानीडाँडा, मस्यामको जनदीप मावि, रैनादेवी छहरा गाउँपालिकाको गहतेस्थित गहते मावि, भुवनपोखरीस्थित जोगवाणी मावि, जुठापौवास्थित गुहाठाना मावि रहेका छन् ।

पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा जनप्रिय मावि र ज्यामिरेका जनप्रिय मावि शून्य दरबन्दीमा पठनपाठन हुँदै आएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका दुई माविमा हाल पनि शिक्षकलाई कसरी र कहिलेसम्म तलब खुवाउने भन्ने पिरलो छ । रिब्दीकोट गाउँपालिकाको ठिमुरेस्थित भाष्कर मावि र खस्यौलीको माविको समस्या फरक छैन ।

जिल्ला सदरमुकाम तानसेन नगरपालिका–१ भूषलडाँडास्थित माविको समस्या पनि उस्तै छ । जिल्लाको नमूना पठनपाठन हुने विद्यालयको रुपमा नाम दर्ज गर्न सफल भए पनि मावि तहमा दरबन्दीका शिक्षक नहुँदाको पीडा यो माविलाई पनि छ । झण्डै ५१९ विद्यार्थी भूषलडाँडा माविमा पठनपाठन गर्छन् । विषयगत रुपमा शिक्षकको अभाव छ । निजी शिक्षकका भरमा मावि सञ्चालन गर्दा अभिभावकले विश्वास कम गर्ने समस्यासमेत भोगेका छन् । शिक्षक विद्यार्थी अनुपातमा एक शिक्षक बराबर ६८ विद्यार्थी रहे पनि स्थानीय तहबाट दरबन्दी नहुँदा विषयगत शिक्षकको अभाव विद्यालयले खेपेको शिक्षक राजेन्द्र बस्यालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement