संवैधानिक राजतन्त्रको माग गर्दै मंसिर १ देखि ७२ घण्टे सत्याग्रह गरिने

Advertisement

काठमाडौं । नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउन भन्दै स्वतन्त्र नागरिक समाजले मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्ने घोषणा गरेको छ । उक्त सत्याग्रहमा समाजका संयोजक हेमविक्रम सिलवाल बस्ने भएका हुन् । सत्याग्रह विहान ८ बजे काठमाडौंको शान्तिवाटिकामा सुरु हुने जनाइएको छ ।

शुक्रबार रिपोर्टर्स पत्रकार सम्मेलन गर्दै समाजले खबरदारीको कारण सरकार सुध्रिने कुनै लक्षण नदेखिएको र जनताको आवाजलाई बेवास्ता गरिएको आरोप लगायो । समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देशलाई यस भयानक आर्थिक–राजनीतिक संकटको दलदल र असफल राष्ट्र हुनबाट समयमै जोगाउन हामी यही २०७६ साल मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्न बाध्य हुनुको विकल्प नरहेको कुरा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी दिँदै स्वतन्त्र नागरिक समाज सारा स्वदेश तथा विदेशमा रहनु भएका आम नेपाली जनतालाई यो देशको धर्म, संस्कृति, मूल्य मान्यता अनि परम्परा जोगाउन, देशमा संवैधानिक राजतन्त्र तथा हिन्दू अधिराज्य स्थापना गर्न पहिला सबै नेपाली भएर सोचौं र यस सत्याग्रहमा बृहत्त सहभागी जनाई आफ्नो दायित्व निर्वाह गरी सफल पारिदिनु हुन हार्दिृक अनुरोध तथा आह्वान गर्दछौं ।’

समाजले आफ्नो स्थापनाकालदेखि नै जनताको मौलिक हकहितका कुरा, भ्रष्टाचार विरोधी, प्रेस तथा वाक स्वतन्त्रता, गरिबी निवारण, देशमा राजनीतिक स्थिरता र राष्ट्रिय एकताको लागि राजसंस्था र नेपाललाई हिन्दू अधिराज्य स्थापना गर्ने सम्बन्धमा आवाज उठाई आएको जनाएको छ । नेपाली जनताले लगभग ७० वर्ष प्रजातान्त्रिक आन्दोनलमा समय व्यतित गरेको उल्लेख गर्दै यो अवधिमा जनताले केही पनि उपलब्धि हााँसिल गर्न नसकेको दाबी गरेको छ । नागरिकको तर्फबाट हेर्दा जनताले भएको पनि गुमाएको समाजको ठहर छ ।

स्वतन्त्र नागरिक समाजले थप भनेको छ, ‘आज देश भ्रष्टाचार, दण्डहीनता, कूटनीतिक रणभूमीको दलदलमा फस्दै गएको छ । प्रजातन्त्र भनेपनि हाम्रो देशमा निषेधको राजनीति मौलायो । मानव सभ्यताको सृष्टिकालदेखि नै १६ औं शताब्दी होस वा १८ औं शताब्दीकालमा विश्व साम्राज्यवादीहरुको हैकमबाद विस्तार हुँदा विश्वलाई उपनिवेश बनाउँदा पनि नेपाल एक स्वतन्त्र, सार्वभौम, स्वाधिन र अभिभाज्य राष्ट्र थियो । अहलिे हामी २१ औं शताब्दीमा आएर आफ्नो कला, संस्कृति, मूल्य र मान्यतालाई बिर्सने र समाजलाई धर्मनिरपेक्षताको नाममा नाष्तिक बनाउँदै लैजाने र भविष्यमा मूलुकको विश्व मानचित्रमा नेपालको नाम निशानै मेटाउने खालका अलोकतान्त्रिक गतिविधि हुनु हामी नेपाली आफैंमा विवेकहीनता र लाजशर्मको कुरा हो ।’

समाजका संयोजक हेमविक्रम सिलवालले फाष्टट्रयाकको नाममा २०७२ सालको संविधान जारी गरिएकोले उक्त संविधानलाई मुलुकले नचिनेको आरोप लगाए । त्यतिमात्रै होईन, उनले उक्त संविधानले नेपाली जनताको हकअधिकार पनि सुरक्षित नगरेको दाबी गरे । उनले वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकार स्वेच्छाचारी हुँदै गएको आरोप लगाए ।

उनले समाजले वर्तमान सरकार गठन भएपछि देशमा बेरोजगारीको समस्या विकराल भएको, लुटपाट, बलात्कार र हत्याहिंसाकाजस्ता जघन्य अपराध बढ्दै गएको, मानवअधिकार हनन् भएको, न्यायालयमा हस्तक्षेप बढेको, राज्यबाटै संस्थागत भ्रष्टाचार भएको, शीर्ष नेतृत्वबाटै अनैतिक काम भएको आरोप लगाए ।

सिलवालले मुलुकको समग्र विकासको लागि राष्ट्रियता र राष्ट्रि एकता, क्षेत्रिय सुरक्षा आजको आवश्यकत्ता भएको पनि औंल्याए । उनले ०६८ सालको जनगणनाले पनि नेपाल ९४ प्रतिशत हिन्दूहरुको देश भएको तथ्य सुनाए । उनले २०७२ सालको संविधान जारी गरेपछि देशको पहिचान नै समाप्त भएको पटक पटक आरोप लगाए । उनले भने,‘संविधानको प्रस्तावनाले नै मुलुकलाई चिन्दैन् । पाँच हजार वर्षको ईतिहास भएको देश हो नेपाल । नेपाल विश्वकै एकमात्रै हिन्दूराज्य थियो । यसको पूर्नस्थापना हुनुपर्छ । संवैधानिक रुपमा शाहवंशीय हुनुपर्छ ।’

वरिष्ठ पत्रकार प्रेम कैदीले मुलुकको अर्थतन्त्र अहिले डामाडोल भएको सुनाउँदै भारतसँगमात्रै १६–१७ खर्ब व्यापार घाटा रहेको सुनाए । विगतमा कांग्रेस सरकारमा हुँदा चार सयभन्दा बढि कलकारखाना सखाप पारेको पनि उनको आरोप छ । उनले भारतसँगको नेपालको सीमाबारे १८५० सालमै तत्कालिन् लेफ्टिनेन्ट लालसिंह खत्रीले बेलायतको प्रसिद्ध टाईम्स पत्रिकाका सम्पादकलाई चिठ्ठी लेखेको स्मरण गराए । उनले सीमा विवादलाई लिएर पाकिस्तान संयुक्त राष्ट्र संघमा र अन्तर्राष्ट्रिय अदालतमा जान हुने अनि नेपाल चाहीँ किन जान नहुने ? भन्दै प्रश्न तेर्साए ।

चीनले सीमा विवादबारे लेखेर दिए सहयोग गर्न तयार छु भनेर बोलिसक्दापनि नेपालको परराष्ट्र मन्त्रालय किन नबोलेको भन्दै केदीले अर्को प्रश्न गरे । उनले भने, ‘हाम्रो चेत र होश छैन त? कि कुहिएको मुर्दा भएर बस्ने ? जनतालाई अत्याचार भएको छ । रौतहटमा हेर्नुहोस त आलम प्रकरण, त्रासदीपूर्ण राजनीति गरेर जनतामाथि अत्याचार गरिएको छ ।’ कैदीले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताए । त्यस्तै, उनले जनताले चाहे राजा आउन सक्ने बताए । अहिलेको गणतन्त्र देश र जनताको लागि महँगो सावित भएको उनको टिप्पणी छ । उनले स्वतन्त्र नागरिक समाजको माग र सत्याग्रहप्रति आफ्नो साथ रहेको पनि बताए ।

भारतीय प्रसिद्ध पत्रिका टाईम्स अफ इण्डियाका पत्रकार सुजीत ताम्बडेले नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए । मित्रराष्ट्रबीचको सम्बन्धमा कुनैपनि किसिमको कटुता हुन नहुने उनको भनाई छ । उनले भने,‘नेपाल र भारतबीच रहँदै आएको भाईचारा सम्बन्ध आगामी दिनमा पनि कायम रहोस् । हामीबीचको मित्रता सधैं सुमधुर रहोस् ।’

बौद्धिक मञ्चका अध्यक्ष डा. केबी रोकायले नेपाललाई हिन्दू अधिराज्य बनाउनुपर्ने माग गरे । उनले भने, ‘आज नेपाललाई हिन्दूराष्ट्र चाहिएको छ । धर्म र नैतिकता हराएको छ । हाम्रो समाज अहिले अनैतिक र भ्रष्ट, ध्वस्त भएको छ ।’ उनले पृथ्बीनारायण शाहको वंश फेरि आफूहरुलाई यो देशको राजा चाहिएको बताए ।

रोकायले नेपाललाई हिन्दूराष्ट्र पनि बनाउनुपर्ने आफूहरुको माग रहेको बताए । समाजले अघि सारेको माग र सुरु गर्न लागेको सत्याग्रहप्रति आफ्नो पूर्ण साथ, समर्थन र सहयोग रहने पनि उनले विश्वास दिलाए । दोस्रो विश्व युद्धताका संसार प्रजातन्त्र, विकास, मानव अधिकार र धर्मनिरपेक्षताको पछि लागेपनि अहिले त्यो अवस्था नरहेको उनले सुनाए । फ्रान्सबाट सुरु भएको धर्मनिरपेक्षताको हावा नेपालसम्म आईपुगेको उनले बताए ।

उनले अहिले विश्वभरि राष्ट्र र राष्ट्रियताको प्रभाव बढेको सुनाउँदै त्यसैकारण अमेरिकामा ट्रम्प विजयी भएको सुनाए । भारतमा हिन्दू धार्मिक पार्टी सत्तामा रहेको पनि रोकायले सुनाए । त्यतिमात्रै होईन, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सोभियत संघको बेला ध्वस्त बनाईएका चर्चहरु फिर्ता लिएको र बन्द सबै चर्चहरु सुचारु गरेको सुनाए । रोकायले भने, ‘पुटिनले त चर्चबिनाको रसिया कल्पना गर्न सकिँदैन भनेका छन् ।’

युवा राजनीतिक विश्लेषक अग्निशम्शेर शाहीले मुलुक यतिवेला संवेदनशील घडीमा उभिएको बताउँदै सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने जोड दिए । नेपाली जनताले विगत लामो समयदेखि विकास र आफ्नो हकअधिकारको नाममा विभिन्न कालखण्डमा आन्दोलन तथा संघर्ष गरेपनि उपलब्धि केही पनि हाँसिल नभएको उनको टिप्पणी छ । उनले नेपालको भूमी छिमेकीले मिचेको भन्दै अब पनि यसैगरि हेरेर बस्न नसक्ने अभिव्यक्ति दिए ।

आफ्नो देशको भूमी मिचिँदा पनि राजनीतिक दल र यसका नेताहरु चुप लागेर बस्नु भनेको सबैले मिलेर खाएको उनको आरोप छ । उनले नेपालका नेताहरुलाई हिजडाको संज्ञा दिए । उनले समाजले गर्ने सत्याग्रह देशमा अन्तिम लडाई हुने पनि धारणा राखे । शाहीले भारतले मात्रै नभएर चीनले पनि नेपालको भूमी मिचेको टिप्पणी गरे । भारत र चीनले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता लिनको लागि सबै एकजुट हुनुपर्ने बेला आएको उनको भनाई छ ।
उनले नेपालमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता नेताहरुले विदेशीको भरिया भएर ल्याएको आरोप लगाउँदै भरियाहरु बाँकी रहन्जेलसम्म देशको मौलिक पहिचान बाँकी नहुने बताए । शाहीले सबै नेपालीहरुलाई विशुद्ध नेपाली भएर उठ्नको लागि आग्रह गरे ।

राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष बिक्रमबहादुर बमले नेपालको मूल समस्याको जड नै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता भएको सुनाए । नेपालको संविधान २०७२ मा सबै नेपाली जनताको अपनत्व नभएको पनि उनले टिप्पणी गरे । उनले समाजको सत्याग्रह गणतन्त्र फाल्ने सुरुवात भएको घोषणा गरे । उनले भने,‘समाजले सुरु गर्ने ७२ घण्टे सत्याग्रहमा हाम्रो साथ छ ।’

राष्ट्रिय शिवसेना पार्टीका सह–अध्यक्ष सिर्जना वाग्लेले ‘नेपाली हामी रहँला कहाँ, नेपाल नै नरहे’ भन्दै राष्ट्र र राष्ट्रियताको रक्षाको लागि सबै एकजुट हुनुपर्ने बताईन् । उनले गणतन्त्रले नेपाली जनतालाई समेट्न नसक्ने बताईन् ।

उनले भारतले नेपालको लिपुलेक, कालापानीको सीमा मिच्दा आज नेपालीहरुको मन दुःखीरहेको पनि सुनाईन् । तर, सरकारले यसबारेमा अहिलेसम्म आधिकारिक धारणा बाहिर नल्याएको उनको गुनासो थियो । उनले भनिन्,‘सरकारले अहिलेसम्म सीमा विवाद भएको ठाउँमा सुरक्षाकर्मी पठाएको छैन् । देश अभिभावकविहीन भएको छ ।’

Advertisement

Advertisement

Advertisement