सचिन तेन्दुलकर नेपालमा, आज किर्तिपुरमा क्रिकेट खेल्ने

Advertisement

काठमाडौँ । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्  । युनिसेफका सद्भावना दूत रहेका सचिन युनिसेफको निमन्त्रणामा नेपाल आइपुगेका हुन् ।

बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले सचिनलाई नेपाल ल्याएको हो ।

सचिन नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११।०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । उनी शनिबार नै भारत फर्कंदै छन् ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले नेपाल आउँदा निकै खुसी लागेको बताएका छन् ।

क्रिकेटका भगवानको उपाधि पाएका सचिन नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन् ।

यस अघि भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्कर र महेन्द्र सिंह धोनीले नेपालको भ्रमण गरेका थिए । त्यस्तै दक्षिण अफ्रिकी जोन्टी रोड्सलगायत क्रिकेटर पनि नेपाल आएका छन् ।

शनिबार कीर्तिपुर मैदानमा सचिनले विनोद दास नेतृत्वको टोलीविरुद्ध प्रदर्शनी खेल खेल्दै छन् ।

सचिन बालबालिकाको अधिकारका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था सचिन र दासले काठमाडौंका विभिन्न विद्यालयबाट युनिसेफ आफैँले छनोट गरेका विद्यार्थी टोलीको नेतृत्व गर्दै प्रदर्शनी खेल खेल्ने कार्यक्रम रहेको छ । युनिसेफले सचिनसँग खेल्नका लागि विद्यार्थीको छनोट गरिसकेको छ । त्यसमा महिला र पुरुष दुवै छन् । खेल १०–१० ओभरको हुने बताइएको छ ।

नेपाली टोलीका पूर्वकप्तान विनोद दासले सचिनको नेपाल भ्रमणको खबरले आफू निकै उत्साहित बनेको बताएका छन् ।

‘बाल्यकालदेखि नै म उनलाई नजिकबाट हेर्न चाहन्थेँ । यदि सबै चिज योजनाअनुसार नै भए क्रिकेटको पर्यायवाची व्यक्तित्वसँग म एउटै मैदानमा खेलिरहेको हुनेछु,’ पूर्वकप्तान दासले सचिनको तस्बिरसहित ट्विटरमा लेखेका छन्, ‘कम्तीमा म क्रिकेटप्रति पागल देशका समर्थकसँगै त्रिवि मैदानमा उनको स्वागत गरिरहेको हुनेछु ।’

१६ नोभेम्बर २०१३ मा सबै प्रकारको क्रिकेटबाट सन्यास लिएका सचिन अहिले आइपिएल टिम मुम्बई इण्डियन्सका मेन्टर हुन् भने भारतको राज्य सभाका सदस्य समेत हुन् ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement