‘विश्वास जित्दै अघि बढ्दै’ टप १० भित्र पर्ने खुञ्जेलीको भिजन

Advertisement

काठमाडौं । तीन हजार संस्थापक लगानीकर्ता, दुई लाख साधारण लगानीकर्ता भएको बैंक हो मेगा बैंक ‘यो पूर्णतया नेपाली बैंक हो, बैंकले जति पैसा कमाए पनि यही देशभित्रै बस्छ, बाहिर पठाउँदैनौं’, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली भन्छिन् ।

मेगा बैंकले भर्खरै विश्व प्रसिद्ध ‘बैंक अफ द इअर २०१९’ अवार्ड पनि पायो । यसलाई नेपाली बैंकहरुले ब्राण्डिङ गर्ने उत्कृष्ट उपायका रुपमा उपयोग गर्दै आएका छन् । खुञ्जेलीले मेगा बैंकको यो सफलतालाई सञ्चालक समितिको भिजन र कर्मचारीको लगनशीलताको प्रतिफल मान्छिन् ।

हलोदेखि हाइड्रोसम्मको नारा लिएर नौ वर्षअघि वित्तिय कारोबार थालेको मेगा बैंकको संस्थापक कर्मचारी हुन उनी जो आज देशकै सफल बाणिज्य बैंकको सफल व्यवस्थापन प्रमुखको रुपमा चिनिन्छिन् । प्रतिस्पर्धाको मैदानमा आफूलाई अब्बल सावित गराउने चुनौतिमा छिन् ।

उनी भन्छिन्, ‘सबै बैंकसँग उस्तै उस्तै प्रडक्टहरु हुने गर्छन् । फरक यति मात्रै होकी कुन बैंकले त्यो प्रडक्टलाई कसरी उपभोक्तामाझ पुर्याउँछ ? हामीले ‘विश्वास जित्दै अघि बढ्दै’ भन्ने स्लोगन बनाएका छौं । हाम्रो ह्युमन क्यापिटल अर्थात कर्मचारीले नै त्यसलाई सार्थक बनाईरहेका छन् ।’

अवार्ड एउटा आधार
कुनै पनि संस्थाप्रति उपभोक्ताको आकर्षण र विश्वासको आधार भनेकै कर्मचारीहरुले दिने सेवा नै हो । उनीहरुको सोच र कार्यशैलीले बैंकको सफलतालाई निर्धारण गर्दछ । खुञ्जेलीले बैंक अफ द इयर अवार्ड ग्रहण गर्ने क्रममा फाइनान्सियल टाइम्सलाई अन्तरवार्ता दिँदै आफ्ना कुराहरु पनि राखिन् । उनी भन्छिन्, ‘उनीहरुले अवार्डका लागि बैंकको वित्तिय पक्षसँगै बैंकको पहिचान, सेवाको गुणस्तर, सामाजिक उत्तरदायित्वमा गरेको लगानी, नयाँ नयाँ प्रविधिको उपयोग, उपभोक्ताका लागि दिइएको सुविधा, बैंकको पहुँच लगायतका कुरा हेर्ने रहेछन् ।’



मेगा बैंक आज कहाँ ?
नौ वर्षे यात्रामा मेगा बैंकको शाखा संख्या १११ वटा पुगिसकेको छ । ११९ वटा शाखारहित बैंकिङ छन् । २५ सय वटा रेमिटेन्स एजेन्ट छन् । एक वर्षको अवधीमै क्युआर कोडका ६० हजार एजेण्ट संख्या पुगेको छ जसबाट दैनिक पाँच हजार कारोबार भइरहेका छन् ।

सामाजिक उत्तरदायित्वः छोरी पढाउ अभियान
मेगा बैंकले सामाजिक उत्तरदायित्वका लागि छोरी पढाउ अभियान नै चलाईरहेको छ । बैंकले आफ्ना १०२ वटा शाखाबाट एक एक जना छात्रालाई एलकेजीदेखि १२ कक्षासम्म निःशुल्क अध्ययनको अवसर दिएको छ । ती १०२ जना चेलीहरुका लागि अहिले पहिलो वर्षको छात्रवृद्धि चलिरहेको छ । ‘केही मापदण्ड बनाएर त्यसरी छात्रवृत्ति दिइरहेका छौं, बीचबीचमा छात्रवृद्धि पाएका चेलीहरुले राम्रोसँग अध्ययन गरिरहेका छन् की छैनन् ? भनेर पनि हेर्छाै’, खुञ्जेलीले भनिन् ।

उनका अनुसार १२ वर्षपछि तिनै चेलीहरुले मेगा बैंकमा आउट सोर्सको जागिर पनि दिइनेछ । त्यही जागिरबाट थप अध्ययनका लागि ती चेलीहरुलाई स्रोत (पैसा)को जोहो हुने पनि खुञ्जेलीको सोच छ । खुञ्जेली भन्छिन्, ‘ग्राजुयसन सकिएपछि पहिलो प्राथमिकता उनीहरुलाई नै जागिर दिने हो । आजका दिनमा बैंकहरुलाई लोयल (प्रतिवद्ध) कर्मचारी पाउनै मुस्किल परिरहेको छ । मेगा बैंकले १२ वर्षसम्म अध्ययनका लागि छात्रवृद्धि दिएर, त्यसपछि पनि आउटसोर्समा जागिर दिने र ग्राजुयसनपछि पनि जागिरका लागि पहिलो प्राथमिकता दिएर बैंकप्रति प्रतिवद्ध कर्मचारी उत्पादन गर्ने सोच बनाएको छ ।

कुनै पनि संस्थामा व्यक्तिहरु आउनेजाने प्रक्रिया चलिरहने तर संस्था भने सैयौं वर्षसम्म निरन्तर कायम रहने भएकाले प्रतिवद्ध कर्मचारी तयार पार्नु आवश्यक रहेको खुञ्जेलीको विश्लेषण छ । उनी भन्छिन्, ‘चेलीहरुले शिक्षा पनि पाउने, जागिरको अवसर पनि पाउने, अनि संस्थाले प्रतिवद्ध कर्मचारी पनि पाउने ’ छोरीचेलीलाई अघि बढाउने उपाय खोज्दै सल्लाह माग्दा धेरैले उनीहरुलाई पढाउनुपर्छ भनेपछि आफूले उनीहरुका लागि छात्रवृद्धि कार्यक्रम चलाउने निष्कर्षमा पुगेको उनी बताउछिन् ।



सेन्ट मेरिजदेखि शंकरदेव हुँदै ‘एस’सम्म
स्कुले जीवन सेन्ट मेरिज स्कुलमा बिताएकी अनुपमा खुञ्जेलीले सुरुसुरुमा ‘आमाका लागि पढिदिएको’ सम्झिन्छिन् । उनको रुची भने पढ्नभन्दा पनि खेलकुद र नाटकमा धेरै थियो । ‘आमाका लागि पढ्दा पढ्दै शंकरदेव क्याम्पसबाट बिबिएस उत्रिण गरेछु, त्यसपछि जागिर थालियो तर मास्टर्स पास नगरी केही नहुने रहेछ भनेर फेरी पढ्न थालें’, खुञ्जेलीले सुनाइन् । दिनभर बैंकमा काम गरेर साँझ एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा पढ्न थालिन् । उनीले १० वर्षअघि मात्रै इएमबिए अध्ययन सकिन् ।

बैंकिङ करिअर
सीईओ खुञ्जेलीको बैंकिङ करिअर २८ वर्षको भयो । स्ट्याण्डर्ड चाटर्ड बैंकबाट करिअर सुरु गरेकी उनले त्यसपछि छ वर्ष नविल बैंकमा काम गरिन र नौ वर्ष अघि आइपुगिन् मेगा बैंकमा । खुञ्जेली भन्छिन्, ‘२८ बर्से जागिरे जीवनमा आजसम्म पनि बिहान उठेर अफिस आउन मन नलागेको कुनै दिन छैन् ।’

उनी औषतमा बिहान साढे ९ बजेअघि नै अफिस आइसक्छिन् । साँझ ७ बजेसम्म अफिस बस्नु उनका लागि सामान्य भइसकेछ । ‘बैंकिङ करिअर चाहनेहरुले समय चाँही धेरै दिनुपर्छ । घर र अफिसलाई व्यालेन्स गर्छु भन्न निकै कठिन हुन्छ । तर त्यति नगरी सफलता सम्भव छैन’, उनले थपिन ।



महिला, घर र अफिस
‘घर परिवारको सहयोग बिना म यहाँसम्म आइपुग्न सम्भव थिएन् । अफिसरभन्दा माथिल्लो तहमा पुगेपछि घर र परिवारलाई समय व्यवस्थापन गर्न मुस्किल हुन्छ । महिलाहरुलाई त्यहाँभन्दा माथि जान निकै कठिन हुन्छ । लोग्ने मान्छेहरुलाई अफिसमा राम्रो गरेपछि घरमा अति खुसी हुन्छन् । तर महिलाले अफिसमा राम्रो गरे पनि प्रमोशन खाए पनि घरको काममा ध्यान दिनै पर्छ । म भने भाग्यमानी रहेछु’, परिवारको साथ सुनाउँदै खुञ्जेलीले सुनाइन् ।

बुहारी र छोरीहरुले पनि अफिसमा राम्रो गर्दैछन्, करिअर विकास गर्दैछन् भने घरको काममा धेरै अल्झाइदिन नहुने उनको राय छ । खुञ्जेली भन्छिन्, ‘समय धेरै अघि बढि सक्यो, अब जागिर खाने छोरा र छोरी बुहारीलाई समान ढंगले हेर्न सक्नुपर्छ ।’ आज पनि मेगा बैंकमा ४३ प्रतिशत सिनियर मेनेजमेन्टमा महिलाहरु नै छन् । बैंकले सेवा आरम्भ गर्दा ६० प्रतिशत जनशक्ति महिला थिए । अहिले मर्जर गर्दै आएकाले त्यो संख्या केही कम भएको उनी बताउँछिन् ।

अक्वायरको श्रृंखला
मेगा बैंकले अहिलेसम्म पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकलाई अक्वायर (प्राप्ति) गरिसकेको छ । अबको तीन महिनाभित्र गण्डकी विकास बैंकलाई एक्वायर गरेर एकीकृत कारोबार आरम्भ गर्ने योजनासहित काम अघि बढिरहेको उनले बताइन् ।



कस्तो छ मेगा ?
गत पाँच वर्षको प्रगतिलाई हेर्ने हो भने मार्केटको सरदर वृद्धिदरभन्दा मेगा बैंकले दोब्बर वृद्धि गरिरहेका खुञ्जेलीको दावी छ । उनी भन्छिन्, ‘अहिले निक्षेप, कर्जा र नाफाका आधारमा १८ औं नम्बरमा पर्छौ । गण्डकी विकास बैंकलाई भित्र्याएपछि मेगा बैंक १२–१३ औं नम्बरमा आईपुग्छ । अझै टप १० बैंकभित्र छिर्ने प्रयास गर्नेछौं ।’

गण्डकी विकास बैंकको ३० अर्ब निक्षेप र २६–२७ अर्बको ऋण छ । शाखा संख्या नै ९६ वटा छ र अझै वृद्धि गरिरहेको छ । मेगा बैंकको ग्राहक संख्या छ लाख ५० हजार छ । गण्डकीको दुई लाख ग्राहक आधार छन् । मेगा बैंकसँग एक हजार दुई सय ५० जना कर्मचारी छन् भने गण्डकीसँग ७५० जना छन् । यी दुई संस्था जोडिँदा दुई सय बढी शाखा सञ्जाल र एक खर्ब रुपियाँभन्दा बढीको निक्षेप पुग्नेछ ।

दुरगामी सञ्चालकः दक्ष कर्मचारी
मेगा बैंकको सञ्चालक समितिले सुरुमै व्यवस्थापनको टिम बनाउँदा जनशक्तिमा राम्रो खर्च गर्यो । बैंकले जनशक्ति व्यवस्थापनमा ठूलो खर्च गरेको देख्दा सबै डराएका थिए । तर अहिले त्यो जोखिम उठाउने कदम ठिक थियो भनेर प्रमाणित भएको छ । यस पटक मेगा बैंक आइएसओ सर्टिफाइड कम्पनी पनि भएका छ । अवार्डहरु भनेको थप राम्रो गर्ने प्रेरणाका स्रोत भएको खुञ्जेली बताउँछिन् ।

उनी यस्ता अवार्डहरुले भोलिका दिनमा थप राम्रो काम गर्न प्रेरित गर्ने बताउँछिन् । मेगाले विदेशी विज्ञ नै ल्याएर साइबर सेक्युरीटीको अडिट गर्ने काम पनि चाँडै नै गर्दैछ ।

मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर
जनशक्तिको जति राम्रो भयो, बैंक त्यति नै सफल हुँदै जान्छ । जनशक्तिलाई बढी भन्दा बढी क्षमतावान बनाउन र सञ्चालन जोखिम घटाउन ६ महिना अघिदेखि बैंकले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर खोलेको छ । सीईओ खुञ्जेली भन्छिन्, ‘ऋण बिग्रियो भने रिकभर गर्ने विकल्प हुन्छन । तर अपरेशनमा भ्वाङ परेपछि त्यसलाई टाल्नै सकिन्न । कमचारीको क्षमता राम्रो भएन भने बैंकको पफमेन्स पनि राम्रो हुन्न । त्यसैले अपरेशन जोखिम घटाउन तालिम केन्द्र सुरु गरेका हौं ।’

बाध्यताका १८ शाखाः विस्तार प्रतिफल
मेगा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम १८ वटा स्थानीय तहमा आफ्ना शाखा स्थापना गरिसकेको छ । यी शाखाबाट राम्रो रेस्पोन्स आईरहेको खुञ्जेलीले सुनाइन् । उनी भन्छिन्, ‘बैंकिङ क्षेत्रमा मुद्दती निक्षेपको मात्रा बढिरहेको छ र बचत खाताको संख्या घटिरहेको छ । तर स्थानीय तहमा खोलिएका १८ वटा शाखामा भने बचत खाताको संख्या धेरै देखिएको छ । ती शाखाबाट बचत खातामा राम्रो पैसा आईरहेको छ ।’



कृषिमा केही गरौं
नेपाललाई कृषि प्रदान देश भनिँदै आइएको छ । तर पनि व्यवसायिक कृषि खेती गर्न सकिएको छैन् । मेगा बैंकले सुरुदेखि नै हलोदेखि हाइड्रोसम्म भन्ने नारा अघि सारेको थियो । बुद्ध एयरका वीरेन्द्र बस्नेतले बिराटनगरमा दुई सय विघा जमिनमा व्यवसायिक कृषि गर्ने आँट देखाएका छन् । त्यसमा मेगा बैंकले ऋण लगानी गरेको छ । त्यो परियोजना सफल भएमा सातै प्रदेशमा त्यस्तै परियोजना सञ्चालनका लागि अघि बढ्ने खुञ्जेलीको योजना छ ।

बैंकले विपन्न वर्गका लागि भनेर तोकिएको ५ प्रतिशत कर्जालाई पञ्चवर्षीय योजनामा राखेर १० प्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ ।

अब ब्याजदर कता ?
बैंकहरुको पुँजी न्यूनतम् आठ अर्ब पुगेको छ । तर एउटा बैंकमा ९० प्रतिशतभन्दा बढी पैसा पब्लिककै हुन्छ । यद्यपी आठ अर्ब लगानी गर्ने लगानीकर्तालाई पनि केही प्रतिफल दिनैपर्ने खुञ्जेली बताउँछिन् । उनी भन्छिन् ‘पहिलेको जस्तो ह्वारह्वार्ती ब्याजदर बढाउने अवस्था अहिले छैन् । राष्ट बैंकले नै ३ महिनामा एक पटक मात्रै आधार ब्याजदर परिवर्तन गर्ने व्यवस्था गरिदिएको छ । वर्षमा दुई पटक मात्रै ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था छ ।’

दुई अर्ब पुँजीका बैंकहरु आठ अर्बमा पुग्दा सबैलाई व्यवसाय विस्तार गर्ने चुनौती थपियो नै । ‘सबै बैंकलाई व्यवसाय बढाउनुपर्ने बाध्यता आईपरेको थियो । त्यसैले ब्याजदर तलमाथि भइरह्यो । तर अब त्यस्तो नहोला उनी आशावादी छन् ।

अजय श्रेष्ठ प्रकरणबारे
नेपालको सबैभन्दा पारदर्शी र अनुशासित क्षेत्रमध्येको अग्रणी हो बैंकिङ क्षेत्रलाई मानिन्छ । सीईओहरुले ३६ प्रतिशत आयकर तिरिरहेका छन् भने बैंकले संस्थागत आयकरतर्फ ३० प्रतिशत तिरिरहेको हुन्छ । ६१ प्रतिशत नागरिकको पहुँचमा बैंकहरु पुगेका छन् । तर अझै पनि बैंकिङ क्षेत्रलाई जुन नजरले हेर्नुपर्ने हो, त्यसरी नहेरिएको खुञ्जेलीको गुनासो छ ।

‘सीईओहरुले सबै फाइलहरु एक एक गरेर हेर्ने अनि हस्ताक्षर गर्ने कुरा सम्भव छैन् । विश्वासका आधारमा तलबाट आएका फाइलहरुमा हस्ताक्षर गर्ने हो । नागरिकले पनि विश्वासकै आधारमा बैंकमा निक्षेप राख्छन, अनि बैंकरले पनि त्यही विश्वासका आधारमा ऋण प्रवाह गर्ने हो । केही गडबडी भयो भन्दैमा सीईओलाई मुछ्ने काम गलत हो’, खुञ्जेलीको भनाइ छ ।

एउटा ऋण बिग्रने बित्तिकै सबै खराब हुन भन्दै सीईओलाई जेल हाल्ने हो भने भोलि अर्को ऋणको फाइलमा कसले हस्ताक्षर गर्छ ? बैंकरहरुलाई नै निरुत्साहित गर्ने हो भने देश कसरी विकसित हुन्छ ? समृद्ध हुन्छ ?’, उनले प्रतिप्रश्न गरिन् ।



सहुलियत कर्जाः हाम्रो भिजन
मेगा बैंकले विपन्न वर्गलाई कर्जा दिन माइक्रो युनिट र महिलाहरुलाई हेर्ने छुट्टै संरचना नै बनाएको छ । सहुलियतपूर्ण कर्जासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरबाट उद्यमशील युवाहरुलाई बिजनेशको आइडिया र ब्यालेन्ससिट बनाउने उपाय सिकाउने खुञ्जेली बताउँछिन् ।

मेगा बैंकको मेगा रेस
यति बेला २७ वटा बाणिज्य बैंकहरु मेगा रेसमै छन् । मेगा बैंकले पनि ठूलो बैंक बन्ने र डिजिटाइजेशनमा गएर फरक ढंगको बैंकिङ गर्ने सोच बनाएको छ । ‘अब ब्रिक बैंकिङ (ब्राञ्चमार्फत गरिने)को ठाउँमा टिक बैंकिङ (डिजिटल)मा जाने सोच छ । यसले अपरेशन कस्ट पनि घटाउँछ’, खुञ्जेलीले सुनाइन् । बैंकले त्यसका लागि डिजिटलाइजेशन युनिट नै खडा गरेको छ ।

दुई अंकको प्रतिफल
बैंकले भर्खरै आफ्ना लगानीकर्तालाई ११.७५ प्रतिशत लाभांश दिएको छ । आगामी वर्ष १५ प्रतिशत लाभांश दिने योजनाअनुसार बिजनेश योजना बनाएको उनले जानकारी गराइन् ।



Advertisement

Advertisement

Advertisement