काँग्रेसका अर्का सांसद बहादुरसिंह लामा बिरुद्ध पनि पक्राउ पुर्जी जारी

Advertisement

काठमाडौँ । प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद लामालाई सामुदायिक वनभित्र नदीजन्य पदार्थको अवैध उत्खनन् गरेपछि डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पुर्जी जारी गरेको हो ।

नुवाकोट जिल्लाका काँग्रेस नेता लामा हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालि सञ्चालक समितिका अध्यक्ष हुन् । पूर्वी मकवानपुरको बकैया–७ स्थित कालीवन सामुदायिक वन क्षेत्र भित्र अवैध ढुंगागिटी र वालुवा उत्खनन् गरिरहेको अवस्थामा एक्साभेटरसहित चालक नरेशराम महरा पुस १३ गते पक्राउ परेका थिए ।

डिभिजन वन कार्यालय मकवानपुरको टोलीले महरालाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त एक्साभेटर लामा अध्यक्ष रहेको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिको रहेको खुलेको छ । चालकसँगै कालीवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तान पनि पक्राउ परेका थिए ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष लामा, नुवाकोट पञ्चकन्या ५ का निर्मलप्रसाद सिटौला र चितवन भरतपुर ९ का शिव घिमिरेलाई पुस १५ गतेसम्म सम्पर्कमा आउन वन कार्यालयले पत्र काटेपनि उनीहरु सम्पर्कमा नआएपछि पक्राउ पुर्जी जारी गरेको वन कार्यालय श्रोतले जनाएको छ ।

यसअघि पनि रौतहटका काँग्रेसका सांसद अफताब आलम मान्छेलाई जिउँदै इटाभट्टामा हालेर मारेको मुद्दामा जेल परेका छन् ।

Advertisement

Advertisement

Advertisement