दुई  ट्रिलियन डलरको प्याकेजः नागरिकलाई पैसा, बेरोजगारलाई भत्ता, उद्योगीलाई निर्ब्याजी ऋण

Advertisement

काठमाडौं । अमेरिकाले कोरोनासँग जुध्न दुई ट्रिलियन डलरको राहत प्याकेज ल्याएको छ । लामो समयको रस्साकस्सीपछि बुधबार बिहान अमेरिकी सिनेटबाट २ ट्रिलियन डलरको आर्थिक प्याकेज पास गर्ने सहमति जुटेको हो । अमेरिकी कँग्रेसको इतिहासमा यति ठूलो र दिर्घकालिन लक्ष्य बोकेको पहिलो राहत प्याकेज भनिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ल्यारी कुड्लोले भनेका छन,‘अमेरिकी इतिहासमा पहिलो एकल मुलधारको सर्वाधिक राशीको राहत प्याकेज हो ।’

प्याकेजमध्ये २५० बिलियन डलर सिधै नागरिकलाई राहत स्वरुप उपलब्ध गराइनेछ । ३५० बिलियन डलर भने साना उद्योगीहरुलाई बिजनेश ऋणका रुपमा उपलब्ध गराइनेछ । २५० बिलियन डलर भने बेरोजगारी र इन्स्योरेन्सका लागि छुट्याईएको छ । र ५०० बिलियन डलर भने कोरोनाका कारण थला परेका कम्पनीहरुलाई ऋणका रुपमा उपलब्ध गराइनेछ । यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले शुन्य प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।

सिनेटमा डेमोक्र्याटिक पार्टीका नेता चक स्कुमरले अमेरिकी कामदार वर्गका लागि राहत प्याकेज केन्द्रित हुनुपर्ने धारणा राख्दै आएको बताएका छन् । सिनेटकी सभामुख नेन्सी पेलोसीले राहत प्याकेजलाई अघि बढाउने संकेत दिईसकेका छन् । पेलोसीले आफुहरुका धेरै मान्यताहरु प्याकेजमा समावेश गरिएकाले सिनेटबाट पास गराउन सहमत भएको बताएकी छिन् । उनले अब राहत प्याकेज सम्बन्धी दस्तावेज सिनेटमा पेश हुने र पास गरेपछि कार्यान्वयनमा जाने अपेक्षा समेत व्यक्त गरेकी छिन् ।
-एजेन्सीहरुको सहयोगमा

Advertisement

Advertisement

Advertisement