सोह्रौं अनसनका लागि डा. केसी इलाम पुगे,  निर्मलाको हत्यारा पक्राउ गर्ने माग थपियो

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै लगातार रुपमा आन्दोलनरत डा. गोविन्द केसी आफ्नो १६ औं अनसनका लागि इलाम पुगेका छन् ।

आफ्नो माग पूरा गर्न आजसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगीले जानकारी दिएका छन् ।

१६ औ सत्याग्रहको लागि डा गोबिन्द केसीले दिएको अल्टिमेटमको आज अन्तिम दिन भएकाले डा केसी सत्याग्रहको तयारीको लागि पुर्बी नेपालको इलाम पुगिसकेको केसीका सहयोगी अभिषेकराज सिंहले बताए।

केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन् । केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् । पहिलो बुँदामा उनले १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । उनले आफूसँग भएको सम्झौता बमोजिम अक्षरस संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन् ।

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि उनले माग गरेका छन् ।

दोस्रो मागमा केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।

तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

Advertisement

Advertisement

Advertisement