महासंघभित्रको अनियमितताबारे विवाद भएपछि प्रधानले कोषाध्यक्षबाट दिए राजीनामा

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पदबाट आइतबार राजिनामा दिएका छन् । महासंघको कार्यकारिणी समितिको बैठकमा कर्मचारीबाट भ्रष्टाचार भएको विषय विवाद भएपछि उनले राजिनामा दिएका हुन् ।

प्रधानले आफूले राजीनामा दिएको कर्पोरेट नेपालसँग स्वीकार गरे । महासंघको कृषि उद्यम केन्द्रमा कर्मचारीबाट लामो समयदेखि भ्रष्टाचार हुँदै आएको कुरा मिडियादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेपछि कार्यकारिणी समिति बैठकमा यस विषयमा विवाद भएको थियो ।

महासंघकी अध्यक्ष भवानी राणालगायतले प्रधानले नै अख्तियार उजुरी दिनेदेखि मिडियामा अन्तरवार्ता दिँदै यस विषयलाई बाहिर ल्याएर महासंघलाई नै बदनाम गरेको आरोप लगाएकी थिइन । प्रधानले भने आफूले अख्तियारमा कुनै उजुरी नदिएको तर अनियमितता भइरहेको तथ्य बाहिर आएपछि आफूले छानविन गरी दोषीलाई कारवाही गर्नुपर्छ भन्ने धारणा राखेको बताए ।

उनले भने, महासंघ भनेको सार्वजनिक संस्था हो । महासंघले हरेक बर्ष सरकारसँग ३० करोड रुपियाँ बजेट लिन्छ । यसको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ र अनियमितता हुन्छ भने दोषीलाई कारवाही गर्नुपर्छ । मैले बैठकमा त्यो कुरा गरेको हो । तर अख्तियार डाक्ने काम मैले गरेको होइन् । अख्तियारले केन्द्रमा भएको अनियमितताको विषयमा महासंघलाई पत्र काट्दै कागजपत्र माग गरेको छ ।

प्रधानले थपे, आर्थिक अनियमितताको धन्द आउँछ, त्यहाँ त अख्तियार त्यसै आउँछ । उनले अनियमितता भएको देख्दादेख्दै यसलाई अध्यक्ष राणाले ढाकछोप गर्नुको कारण आफूले बुझ्न नसकेको बताए । अध्यक्ष राणाले भने यस विषयलाई आन्तरिकरुपमा समाधान गर्नुपर्नेमा बाहिर ल्याएर बदनाम गर्ने काम प्रधानले गरेको गुनासो गरिन् ।

Advertisement

Advertisement

Advertisement