चीनसँगको व्यापार वार्तामा उल्लेखनीय प्रगतिः राष्ट्रपति ट्रम्प

Advertisement

वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो ।

आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीया सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ ।

दुबै देशका व्यापार प्रतिनिधिबीच वासिङट्न डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेखेको पत्र निकै स्वागतयोग्य रहेको पनि बताए ।

चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुबै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा “महत्वपूर्ण प्रगति” भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल वासिङ्टन आएको छ ।

अर्थशास्त्रीहरुको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनीया राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेख्नुभएको पत्र चिनीया प्रमण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीया राष्ट्रपतिले दुबै मुलुकबीचको सम्बन्ध अहिले “गम्भीर मोडमा” आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुबै मुलुकले मिलेर कार्य गरिने उल्लेख छ ।

जवाफमा राष्ट्रपति ट्रम्पले दुबै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताए ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गरर्नेछन् । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीया राष्ट्रपतिलाई भेट्ने बताएका छन् । त्यसपछि दुबै मुलुकबीच व्यापार सम्झौता हुनेछ ।

“सहमतिका बुँदाहरुलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,” राष्ट्रपति ट्रम्पले बताए ।

चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ । गत वर्ष, वासिङ्टन र बेइजिङले एकअर्का मुलुकका ३६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए ।

चिनीया गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापार युद्ध नै शुरु गरेका थिए ।

व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौं । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।”

यसैबीच, चिनीया वार्ता टोलीको नेतृत्व गरिरहेका चिनीया उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गरेका छन् । उनले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका थिए ।

जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुशी हुने बताए ।

बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement