मेलम्चीको ठेकेदारलाई काममा फर्काउन सिंगापुरमा वार्ता

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिबीच सिंगापुरमा वार्ता सुरु भएको छ।

मेलम्ची आयोजनाको काम छिटोभन्दा छिटो सक्न अहिलेकै  ठेकेदार सीएमसी कम्पनीलाई काममा फर्काउने उद्देश्यले वार्ता भएको हो । काममा फर्कनका लागि कम्पनीले राखेका  मागका विषयमा छलफल गर्न वार्ता सुरु भएको हो।

यो कम्पनीले काम नगरे ठेक्का तोड्ने तयारी खानेपानी मन्त्रालयले गरेको भए पनि अर्को व्यवस्था गरेर मेलम्ची आयोजना सक्न लामो समय लाग्ने भएकाले सकेसम्म यही कम्पनीलाई मनाएर काममा फर्काउने उद्देश्यका साथ वार्ता सुरु भएको बताइएको छ ।

सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले माघ ६ गते पत्राचार गरेको थियो।

बिहीबारसम्म थप छलफल गर्न सिएमसीसँग वार्ता सुरु भएको हो। संकटको निकास निकाल्न सीएमसीसँग पहिलो चरणको वार्ता सुरु भएको खानेपानी मन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो।

ठेकेदार कम्पनी सीएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने छ।

वार्तामा मेलम्चीका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, खानेपानी मन्त्री बिना मगरको स्वकीय सचिव विजय भट्टराई, मेलम्चीमा सामान आपूर्ति गर्ने दिनेश श्रेष्ठ र आयोजनाका कानुनी सल्लाहकार सहभागी छन्।

Advertisement

Advertisement

Advertisement