एनएमबि बैंकको ३ अर्ब रुपियाँको ऋणपत्र खुल्यो

Advertisement

काठमाडौं । एनएमबि बैंकको ३ अर्ब रुपियाँको ऋणपत्र खुला भएको छ । बैंकले १ हजार रुपियाँ दरको कुल ३० लाख कित्ता ‘१०५ एनएमबि डिबेन्चर २०८५’ जारी गरेको हो । यसमध्ये ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

६० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ । एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

बैंकले बिहीबार फागुन ३० गतेदेखि ऋणपत्र खुल्ला गरेको छ । यस ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ ।

एनएमबि बैंकले यो ऋणपत्रमा वार्षिक १०५ ब्याजदर दिनेछ । ऋणपत्रको अवधि १० वर्षको हुनेछ । यसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने चैत १४ गतेसम्म भर्न सकिनेछ ।

एनएमबि बैंकले लगानीकर्तालाई गत वर्षको कमाईबाट १०५ बोनस सेयर र २० प्रतीशत नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपियाँ पुगेको छ । पछिल्लो समय बैंकहरुले लगानीका लागि अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।

एनएमबिले पनि ऋणपत्र बिक्रीबाट उठ्ने रकममध्ये २ अर्ब २० करोड रुपियाँ राष्ट्र बैंकबाट स्वीकृत क्षेत्रमा कर्जा लगानी गर्ने योजना बनाएको छ । यस्तै, २० करोड रुपियाँ विपन्न वर्गामा कर्जा लगानी गर्ने, २० करोड तरलता व्यवस्थापन र ४० करोड रुपियाँ सरकारी ऋणपत्रमा लगानी गर्ने योजनना रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement