माथिल्लो तामाकोशी निरीक्षण गर्दै पुनले भने– ठूला आयोजना बनाउन हामी सक्छौं भन्ने पुष्टि भयो

Advertisement

दोलखा । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गर्न शुक्रबार विगु गाउँपालिकाको लामाबगर आइपुगेका छन् । शनिबार आयोजना निरीक्षणका क्रममा उनले ४५६ मेगावाटको यस आयोजनालाई चाँडै सक्ने आग्रह पनि गरे ।

मन्त्री पुनले आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा जानकारी लिएका थिए । विद्युत प्राधिकरणका केही कर्मचारीलाई समेत लिएर आएका उनलाई आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले प्रगतिबारे जानकारी गराएका थिए ।

मन्त्री पुनले अन्तिम पटक तोकिएको समयभित्रै काम सक्न आयोजनाका अधिकारीहरुलाई निर्देशन पनि दिए । भूकम्प, नाकाबन्दीलगायतका कारणले यस आयोजनाको निर्माण अवधि र लागत पटक पटक थप भइसकेको छ ।

यसअघि प्रधानमन्त्री केपी ओली पनि माथिल्लो तामाकोशी निरीक्षण गर्न आएका थिए । मन्त्री पुनले आयोजना आगामी मंसिरभित्र सम्पन्न हुनेमा आफू आशावादी रहेको बताए । उनले भने, ‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागि मैले ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पूरा हुनेमा विश्वस्त छु ।’

पुनले नेपालीले ठूला आयोजना गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै माथिल्लो तामाकोशीबाट नेपालीले ठूला आयोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको बताए । उनले तामाकोशी जलविद्युत आयोजना नेपालकै लागि नमुनायोग्य र महत्वपूर्ण भएको बताए ।

पुनले थपे, ‘केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको विचमा समझदारी बनाईदिएका छौ, अहिले काम अघि बढिरहेको छ । त्यसैले पनि आगामी मंसिरसम्म सबै काम सम्पन्न हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

Advertisement

Advertisement

Advertisement