सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल

Advertisement

काठमाडौं। सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका पोखरेललाई यहि चैत १८ गतेदेखि लागु हुने गरि आगामी चार वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गर्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका थिए । साथै २०६५ साल देखिनैे दोस्रो वरियतामा रही बैंकमा कार्यसम्पादन गर्दै आएका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर,कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्तव्यवस्थापन विषयमा स्नातकोत्तर गरेका पोखरेलले बिगत २५ वर्षभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव हाँसिल गरिसकेका छन् ।

नवनियुक्त प्रमुखकार्यकारी अधिकृत पोखरेलले नीति नियमको अनुपालना आफ्नो पहिलो प्राथमिकतामा पर्ने र बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता गरेको जनाएको बैंकले जनाएको छ।

Advertisement

Advertisement

Advertisement