सरकारले बल्ल विद्युत नियमन आयोगमा पदपूर्ति गर्यो, अध्यक्षमा डिल्लीबहादुर सिंह

Advertisement

काठमाडौं । सरकारले विद्युत नियमन आयोगमा पदपूर्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच सदस्यीय पदाधिकारी नियुक्तिको निर्णय गरेको छ । सरकारले आयोगको अध्यक्षमा विद्युत विकास विभागका पूर्वमहानिर्देशक डिल्लीबहादुर सिंहलाई नियुक्त गरेको हो ।

आयोगका सदस्यहरूमा रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

धिताल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक र कलवार नेपाल विद्युत प्राधिकरणका पूर्वनिर्देशक हुन् । खतिवडा अहिले लगानी बोर्डको कार्यालयमा कार्यरत छन् । ज्ञवाली महिला कोटामा परेकी हुन् । महिनौंसम्म नियुक्ति प्रक्रिया रोकिएको भन्दै प्रधानमन्त्रीकै आलोचना बढेपछि सोमबार निर्णय गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मागिएको थप विवरण सोमबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पठाएको थियो । विद्युत नियमन आयोग ऐन २०७४ भदौ १९ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । प्रमाणीकरण भएको ९०औं दिनदेखि लागू हुने उल्लेख छ । तर, पदाधिकारी नियुक्त नहुँदा आयोग अलपत्रजस्तै थियो ।

ऐन प्रमाणीत भएको मंगलबार २० महिना ५ दिन पुगेको छ । मन्त्रालयले २०७५ पुस १६ गते पठाएको प्रस्ताव प्रक्रिया नमिलेको वा कानुनसम्मत नदेखिएको भन्दै थप विवरण पठाउन मन्त्रिपरिषदले निर्देशन दिएको थियो । तर, प्रस्ताव भने मन्त्रालय नपठाई प्रधानमन्त्री कार्यालयमै राखिएको थियो ।

मन्त्रालयको अनुुसार उपाध्यायबाहेक अध्यक्षमा सिंह र तत्कालीन विद्युत महसुल निर्धारण आयोगका अध्यक्ष जगतकुमार भुसालको पनि आवेदन परेको थियो । उपाध्यायको नाम पदाधिकारी सूचीबाट हटेपछि दोस्रो नम्बरका सिंहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय भएको छ ।

Advertisement

Advertisement

Advertisement