विस्फोटमा मर्नेहरु विप्लवका आफ्नै कार्यकर्ता, घट्टेकुलोमा विस्फोटपछि भागेहरुलाई पनि पक्राउ

Advertisement

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले घोषणा गरेको नेपाल बन्दको अघिल्लो दिन राजधानीका विभिन्न ठाउँमा भएका विस्फोटका घटनामा परी मृत्यु भएका चार जना विप्लवकै कार्यकर्ता भएको थाहा भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधाराको ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा घाइते भएका ४ मध्ये एक जनाको उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेको संख्या ४ पुगेको उनीहरु सबै विप्लवका कार्यकर्ता हुन् ।

यसअघि सुकेधारामा २ जना र अनामनगरस्थित घट्टेकुलोको एक घरको कोठामा बिस्फोट हुँदा १ जनाको मृत्यु भएको थियो। यद्यपि मृतकहरुको अझै सनाखत हुन सकेको छैन् । काठमाडौंका प्रहरी प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार अनामनगर र सुकेधारा घटनाका अन्य घाइतेका उपचार भइरहेको छ र मृत्यु भएकाहरु विप्लवका कार्यकर्ता हुन् ।

साथै घट्टेकुलोमा सिलिण्डर बम लिन गएका र विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लवको भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले तेजबहादुर मोक्तान रहेका छन्। उनीहरूलाई सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेर कोटेश्वर वृत्तको जिम्मा लगाएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement