चीन भन्छ- राष्ट्रपति सी को नेपाल आउने योजना रद्द भएको छैन्

Advertisement

काठमाडौं । चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको स्पष्ट पारेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा वाङले भ्रमणको समयबारे थप छलफल गर्नुपर्ने बताए । चीनको दलियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा घन्टा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध थप सुदृढ हुने बताएपछि जवाफमा वाङले सीको भ्रमण हुने बताएका हुन् । ‘उच्चस्तरीय भ्रमण (राष्ट्रपति सीको नेपाल भ्रमण गराउने नेपालको चाहना)मा हामी सकारात्मक छौँ । नेपालको चाहनाबारे हामी पूर्ण जानकार र सकारात्मक छौँ,’ चिनियाँ परराष्ट्रमन्त्री वाङको भनाइ उद्धृत गर्दै बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले भने ।

भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी र उपनियोग प्रमुख लम्साल सहभागी थिए । लम्सालका अनुसार वाङले सम्भावित भ्रमणको मिति र अनुकूलताबारे दुवै पक्षबीच परामर्श जारी राख्नुपर्ने धारणा राखेका थिए । उनले उपयुक्त समयमा राष्ट्रपतिको भ्रमण हुने जवाफ पठाएका थिए ।

नेपालले पाँच वर्षदेखि राष्ट्रपति सीको भ्रमणका लागि जोड दिँदै आएको छ । कूटनीतिक स्रोतका अनुसार राष्ट्रपति सी तीन महिनापछि भारत भ्रमणमा जाँदै छन् । अक्टोबर ११ मा उनले वाराणसीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तयारी भइरहेको छ । त्यसवेला राष्ट्रपति सीको नेपाल भ्रमण गराउन नेपालका तर्फबाट कोसिस भएको छ ।

दक्षिण एसियाको करिडोर
चिनियाँ परराष्ट्रमन्त्री वाङले हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत नेपालसँग सहकार्य गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् । नेपाललाई चीनले दक्षिण एसिया प्रवेशको करिडोरका रूपमा बुझेको र त्यहीअनुसार परियोजना अघि बढाउन चीन प्रतिबद्ध रहेको वाङको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बेग्लाबेग्लै राजकीय भ्रमणका वेला भएका सहमति र समझदारी कार्यान्वनयमा जोड दिएका थिए ।

‘नेपालको व्यापार क्षमता अभिवृद्धि गर्न, हवाई रुट थप विस्तारलगायतका विषयमा चीनको सहयोगको अपेक्षा गरेका छौँ’ परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ थियो । जवाफमा चिनियाँ परराष्ट्रमन्त्री वाङले बेइजिङ र ग्वान्जाओ उडानका लागि तदारुकताका साथ छलफल गर्न चीन तयार रहेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी शुक्रवार स्वदेश फर्किनेछन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement