वडा कार्यालय भवन निर्माण गर्दै काठमाडौँ महानगरपालिका

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आवश्यकतानुसार वडा कार्यालयका भवन निर्माण गर्ने र तला थप्ने भएको छ । अहिले का.म. पा.६, ७, ८, १४ र २६ को भवन पुनर्निर्माण गर्न लागिएको हो ।

का.म.पाले वडा नं १५, ३२ लगायत अन्य वडा कार्यालयमा भने अहिले भइरहेको भवनमा तला थप्ने भएकोे छ । तला थप र नयाँ भवन निर्माणका लागि यस वर्षको बजेटमा ती वडामा चार करोडदेखि आठ करोडसम्म बजेट विनियोजन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । नयाँ परिस्थितिमा वडा कार्यालयमा धेरै जिम्मेवारी थपिएकाले अहिले भइरहेका भवन अपर्याप्त हुँदा भवन निर्माणमा लागिएको उनले बताए ।

कामपाका निर्माण हुन लागेका नयाँ वडा कार्यालयको नमूना शहरी योजना आयोगले बनाएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार वडा कार्यालयका हेर्दा सुन्दर देखिने गरी नमूना बनाइएको छ । वडा कार्यालयको भवन निर्माण गरिरहे पनि कामपाले आफ्नै भवन भने अझै निर्माण गर्न सकेको छैन । पहिले कामपाको मुख्य कार्यालय रहेको बाग्दरबार नभत्काउन सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशका कारण काम अघि बढ्न सकेको थिएन ।
अहिले कामपाका कार्यालयहरु विभिन्न स्थानमा छरिएर रहेका छन् ।

Advertisement

Advertisement

Advertisement