साढे २ अर्ब प्रिमियममा बीमा कम्पनीबीच किचलो, हस्तक्षेप गर्दै बीमा समिति

Advertisement

काठमाडौं । म्यादी बीमाको करिब साढे २ अर्ब प्रिमियमको बाडफाँटमा बीमा कम्पनीहरुबीच किचलो सुरु भएको छ । बीमा समितिले २०७५ माघ १ गतेदेखि म्यादी बीमा पुल मार्फत म्यादी बीमा पोलिसी बेच्ने गरि चार वटा बीमा कम्पनीलाई जिम्मा दिएको थियो । चार वटा बीमा कम्पनीहरुले संकलन गरेको अघिल्लो आर्थिक वर्षमा तिनै कम्पनीले आर्जन गरेको प्रिमियमको आधारमा बाडफाँट गर्ने व्यवस्था गरेको थियो । जस अनुसार बीमा कम्पनीहरुले १ देखि १९ प्रतिशतसम्म प्रिमियम पाउने अवस्था थियो ।

तर प्रिमियम संकलन गर्ने जिम्मेवारी पाएका ४ वटा बीमा कम्पनीले आफु अनुकुल हुने गरि आम्दानी र खर्च बाडफाँटको प्रस्ताव गरेपछि अन्य कम्पनीले असन्तुष्ठि जनाएका हुन् । बीमा समितिले म्यादी बीमा पुलका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ, सुर्या लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई जिम्मा दिएको थियो ।

सबै कम्पनीले खर्च बराबर बाढ्ने तर संकलिन प्रिमियममा भने पुरानै मापदण्ड लगाउने प्रस्ताव गरेका छन् । त्यस बाहेक संकलित प्रिमियम बैंकमा राखेर आएको ब्याज पनि प्रिमियम बाडफाँटकै मापदण्ड अनुसार भाग लगाउने प्रस्ताव गरेका छन् । लिडर कम्पनीहरुले यस्तो प्रस्ताव गरेपछि अन्य बीमा कम्पनीहरुले बीमा समितिमै पुगेर आफ्नो असन्तुष्ठि पोखेका छन् ।‘जुन अनुपातमा प्रिमियम पाउने हो, त्यहि आधारमा खर्च व्यहोर्र्छाै र ब्याज आम्दानी चाँही सबैले बराबर पाउनुपर्छ भन्ने हाम्रो माग हो’, एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कर्पारेट नेपालसँग भने । खर्च बराबर व्यहोर्नु पर्ने तर प्रिमियम र व्याज आम्दानी भने बराबर नहुने कुरा आफुहरुलाई स्वीकार्य नभएको उनले बताए ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले भने म्यादी बीमाको आम्दानी र खर्च बाडफाँटमा खासै समस्या नरहेको बताए । आम्दानी र खर्च बाडफाँटको मापदण्ड नै बनाईएको छ, यसमा समस्या हुनुपर्ने कुनै कारण छ जस्तो मलाई चाँही लाग्दैन, प्राइम लाइफका सिइओ भट्टराईले भने ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले म्यादी बीमा पुलमा संकलित प्रिमियम र व्याज आम्दानी बाडफाँटमा कम्पनीहरुबीच केहि असन्तुष्ठि देखिएको र समाधानको पहल भैसकेको बताए । ‘बीमा कम्पनीहरुबीच केहि असहमति देखिएको छ, हामीले समस्या समाधानको पहल गरिसकेका छौं’, समितिका कार्यकारी निर्देशक पौडेलले भने ।

समितिले पौडेलकै नेतृत्वमा समिति बनाएर छलफल आरम्भ गरिसकेको छ । समितिले साउन १ गतेदेखि जीवन बीमक संघको नेतृत्वमा बीमा पुल मार्फत म्यादी बीमा पोलिसी बेच्ने प्रक्रिया अघि बढाएको छ । खर्च र आम्दानी बाडफाँटमा भने सबैलाई बराबर हुने व्यवस्था प्रस्ताव गरिएको छ । बीमा कम्पनीहरुले पनि सबै कम्पनीले खर्च र आम्दानीमा बराबर हिस्सेदारी पाउनुपर्ने माग गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement