भारतीय वायुसेनाले भित्र्यायो ८ वटा अत्याधुनिक अपाचे हेलिकोप्टर

Advertisement

काठमाडौं । अमेरिकाले दिएका ८ वटा अत्याधुनिक अपाचे हेलिकोप्टर मंगलबार भारतीय वायुसेनालाई हस्तान्तरण गरिएको छ। भारतसँग अमेरिकाले २२ वटा अपाचे हेलिकोप्टर दिने सम्झौता गरेकामा पहिलो खेपमा यी ८ वटा ल्याइएका हुन्।

अमेरिकी कम्पनी बोइङले निर्माण गरेका यी हेलिकोप्टरलाई गत २७ जुलाईमा गाजियावादस्थित हिन्डन एयरबेसमा ल्याइएको थियो। त्यसपछि यसको परीक्षण उडानपछि पठानकोट ल्याएर भारतीय वायुसेनालाई हस्तान्तरण गरिएको हो। मंगलबार आयोजित कार्यक्रममा वायुसेना प्रमुख बीएस धनोआले यो विश्वकै शक्तिशाली अट्याक हेलिकोप्टर भएको र यसले कैयौं मिसनलाई पूरा गर्ने बताए।

अमेरिकी सरकारले दिने बाँकी १४ वटा अपाचे हेलिकोप्टर भने सन् २०२० को मार्चसम्म आउने बताइएको छ।

अमेरिकाको डिफेन्स सेक्युरिटी कर्पोरेशनले अपाचे एएच–५४ इ होलिकोप्टरले भारतीय सेनाको रक्षात्मक क्षमता बढाउने जनाएको छ । यसबाट भारतीय सेनालाई जमिनमा रहेको खतराबाट लड्न सहयोगमिल्ने कर्पोरेशनको भनाइ छ। भारतले यी हेलिकोप्टरलाई पाकिस्तानी सीमा जोडिएको पठानकोट एयरवेसमा राख्नेछ।

२८० किलोमिटर प्रतिघन्टा उड्न सक्ने यो हेलिकोप्टरले एकैचोटि १६ मिसाइल हान्न सक्नेछ । हेलिकोप्टरमुनि राखिएको राइफलमा एकपटकमा ३० मिमिको १२०० गोली राख्न सकिने बताइएको छ।

Advertisement

Advertisement

Advertisement