केयूको एमबीबीएस परीक्षामा गोलमाल, पुनः परीक्षा गर्न विद्यार्थीहरुको माग

Advertisement

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले डाक्टर बन्ने सपना बोकेका हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ । एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा चरम लापरबाही भएपछि विद्यार्थीको मागअनुसार रिटोटलिङ गरिएको थियो । तर, रिटोटलिङको नतिजा पनि गोलमाल छ ।

प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रमाण भेटिँदा पनि केयूका पदाधिकारी छानबिन गर्नुको सट्टा मौन बसेका छन्, विद्यार्थी आन्दोलनमा छन् । तर, गम्भीर समस्या समाधानको पहल गर्नुको सट्टा उपकुलपति प्राडा रामकण्ठ मकाजू बिदेसिएका छन् भने रजिस्ट्रार सुबोध शर्मा सम्पर्कमा आउनै चाहँदैनन् । विद्यार्थीले पुनः प्रवेश परीक्षाको माग गरेका छन् । प्रवेश परीक्षामा कम्तीमा २८८ विद्यार्थीको नतिजा हेरफेर भएको थियो ।

एमबिबिएस तथा बीडीएसको प्रवेश परीक्षामा आठ हजार दुई सयभन्दा बढी विद्यार्थी सहभागी थिए । छात्रवृत्तिसहितका लागि लिएको प्रवेश परीक्षाको नतिजा ४ असोजमा सार्वजनिक भएको थियो । तर, नौ सय ८६ विद्यार्थीले चित्त नबुझाएर रिटोटलिङ गरेपछि गत शुक्रबार पुनः दोस्रोपटक नतिजा सार्वजनिक भएको थियो ।

पहिलो सूचीमा उच्च अंकसहित पास भएका विद्यार्थी दोस्रोमा फेल भएका छन् भने पहिले फेल भएका उच्च अंकसहित दोस्रो नतिजामा पास भएका छन् । पहिलो सूचीमा नरहेका ५९ नाम दोस्रो सूचीमा भित्रिएका छन् । त्यस्तै, पहिलो सूचीमा नाम भएका ५८ जना दोस्रो सूचीमा छैनन् । नयाँ सूचीमा रिटोटलिङको निवेदन नदिएकाहरू पनि थपिएर आएका छन् । अंक र मेरिट लिस्टमा तलमाथि हुनेको संख्या धेरै छ । एउटा विद्यार्थीको नाम र सिम्बोल नम्बरमा अरूको नाम र सिम्बोल नम्बर गाभिएर आएको छ । सिम्बोल नम्बर २७८७४ की शिवानीकुमारी शाहको पहिलो सूचीमा ८२ अंकसहित १३३ नम्बरमा नाम निस्केको थियो । तर, दोस्रो नतिजामा उनी फेल भएर सो स्थान सिम्बोल नम्बर २७८७५ की संस्कृति चापागाईंले पाएकी छिन् । पहिलेको सूचीमा संस्कृतिको अंक ७० र मेरिट नम्बर १३३२ थियो । सुरुको सूचीमा नामै नभएका एमडी नसिर दोस्रो लिस्टमा ७४ अंकसहित ७७३ नम्बरमा आएका छन् । विद्यार्थी थपिँदा पनि पहिलो लिस्टमा र्यांक थपिएको छैन । १३३ भन्दा माथिको पहिलो र पछिल्लो सूची एउटै छ । विद्यार्थीका अनुसार केयू प्रशासन एकदेखि सयसम्मको मेरिट लिस्ट अब परिवर्तन नगर्ने अडानमा छ । समग्रमा पहिलो नतिजामा चार हजार ६ सय ४८ जना पास हुँदा दोस्रो नतिजामा संख्या घटेर चार हजार चार सय ८९ पास भएका छन् ।

त्यस्तै, केयूले लिएको एमबीबीएसको प्रवेश परीक्षाबाट नियमविपरीत प्रश्नपत्रसमेत बाहिरिएको छ । परीक्षासम्बन्धी नियममा कुनै पनि प्रश्नपत्र विद्यार्थीले बाहिर लैजान नपाउने व्यवस्था छ । तर, विद्यार्थीमार्फत नै प्रश्नपत्र बाहिरिएका छन् । यस्तो संवेदनशील विषयप्रति केयूका पदाधिकारी भने बेवास्ता गर्दै छन् । परीक्षाअघि वा परीक्षा चलिरहेको अवस्थामा वा पछि बाहिरिएको भन्ने खुल्न सकेको छैन ।

पुनः परीक्षाको व्यवस्था गर्न विद्यार्थीको माग
रिटोटलिङबाट समेत चित्त नबुझाएका विद्यार्थी तथा विश्वविद्यालयको विद्यार्थी नेतृत्वले पुनः परीक्षाको माग गरेका छन् । एमबिबिएसको प्रवेश परीक्षाको पहिलो सूचीमा फेल भएका, तर दोस्रो सूचीमा ७४ अंकसहित ७७३ नम्बरमा आएका मोहम्मद नसिरले केयूको प्रवेश परीक्षामा चरम लापरबाही भएकाले पुनः परीक्षा गर्नुपर्ने बताए । ‘मेरो ८५ भन्दा बढी अंक आउनुपथ्र्यो, तर पहिले फेल गराए, अहिले ७४ नम्बर आएको छ । यसमा मलाई कुनै विश्वास छैन, अब पुनः परीक्षा नै समाधानको बाटो हो,’ उनले भने । पैसाको चलखेलमा नतिजा अविश्वसनीय आएको उनको आरोप छ । प्रश्नपत्रसमेत बाहिरिएको र कसैले डिभाइस पनि प्रयोग गरेको सुनिएकाले पुनः परीक्षा गर्नुको विकल्प नभएको उनले बताए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement