जनताका छोराछोरीलाई जिउँदै इट्टाभट्टामा हालेर जलाएको आरोप लागेका आलम कसरी पक्राउ परे ?

Advertisement

रौतहट । केन्द्रीय सत्ता र स्थानीय वर्चस्वको भरमा अपराधको सञ्जाल सञ्चालन गर्दै आएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब आलमसम्म अन्ततः कानुनको हात पुगेको छ।

कानुनको हात लामो हुन्छ भन्ने भनाइ यति बेला चरितार्थ भएको छ । पटकपटक मन्त्री भएका, दुई कार्यकाल नेपाली कांग्रेस रौतहटको सभापति भएका तथा कोइराला परिवारसँग घनिष्ट सम्बन्ध भएका आलम कानुनी कठघरामा पुगेका छन्।

२०६४ चैत २७ को साँझ छिमेकमा अकल्पनीय आवाजमा बम विस्फोट हुँदा मुटु थर्केका ७६ वर्षीय धरिछन साहलाई उक्त दिनको घटना राम्ररी सम्झना छ। ‘विस्फोटलगत्तै कोलाहल मच्चियो र मान्छेको भागाभाग भयो’, उनी सम्झन्छन्, ‘आकाशमा कालो मुस्लो उठ्यो। मान्छेको चिच्याहटले वातावरण नै डरलाग्दो बनायो।’ पहिलो संविधानसभा चुनावको अघिल्लो साँझ भएकाले कुनै अनिष्टले मुटु काम्यो र एक मिनेटमै धेरै मान्छे मरे भन्ने हल्लाले गाउँभरि मौन डर व्याप्त भयो।

विस्फोट भएको घर थियो पूर्वमन्त्री शेख इद्रिसको। उनले गाउँमा कहिल्यै चुनाव हुन दिएका थिएनन्। जहिले पनि बुथ क्याप्चर गरेर चुनाव जित्ने इद्रिसका भतिजा आफताबले पनि त्यसकै सिको गरेका थिए । भोलिपल्ट चैत २८ मा हुने संविधानसभा निर्वाचनमा आफ्नो गाउँको बुथ र मुस्लिम बहुल अन्य गाउँका बुथ क्याप्चर गरी सबै भोट आफ्नो पक्षमा पार्न उनले बम बनाउन लगाएका थिए। सोही क्रममा विस्फोट भएको थियो। बम बनाउने कारिगरमध्ये कसैले चुरोट खाएर फालेको ठुटोबाट सल्केर विस्फोट हुन गएको थियो।

विस्फोटमा कति मारिए र कति घाइते भए, कसैले यकिनसाथ भन्न सक्ने अवस्था रहेन। बम बनाउने र बमको व्यवस्थापन गर्नेमा भारतीय मजदुर बढी भएकाले मृतक तथा घाइतेबारे यकिनसाथ भन्न गाह्रो भएको साहको दाबी छ। बम विस्फोटमा घटनास्थलमै दुईजनाको मृत्यु भएको र अन्य थुप्रै मानिस घाइते भएकोमा घाइतेमध्ये ६ जनालाई जिउँदै जलाएको आरोप आफताबमाथि लागेको छ।

तत्कालीन सरुअठा गाविस–२, हाल यमुनामाई गाउँपालिका–४ निवासी श्रीनारायण सिंहका २२ वर्षीय छोरा पिन्टु सिंह र सरुअठाकै रुक्साना खातुनका छोरा ओसी अख्तर घाइते भएकोमा उनीहरुलाई नजिकै रहेको इँटाभट्टामा हालेर मारेको आरोप पिन्टुका पिता सिंहको छ। घाइतेलाई जिउँदै जलाएर मारेको थाहा पाएपछि गाउँलेमा आफताबको डर यति बढ्यो कि उनीविरुद्ध कोही पनि चुँसम्म बोल्ने अवस्था रहेन।

त्यत्रो ठूलो घटना हुँदो पनि आलम घटना नै नभएको बनाउन सफल भएका थिए। सिंह र खातुनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन जाँदा प्रहरीले आनाकानी गरेको थियो। २०६५ वैशाख १८ मा हुलाकमार्फत जाहेरी दर्ता भएपछि आरोपित पाँचजनालाई जिल्ला सरकारी वकिलको कार्यालयले बोलाई सोधपुछ गरेर प्रमाण नपुगेको भन्दै मुदा चलाउन इन्कार गरेको थियो। त्यसपछि पीडितले असार ३० मा महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिए। महान्यायाधिवक्ताको कार्यालयले पनि मुद्दा चलाउन नसक्ने जनायो।

पीडितलाई मारिदिने धम्की दिइरहेका आलमले अनेक लोभ पनि दिएका थिए। पीडितहरुमा न्यायप्रतिको आस भने मरेको थिएन। सिंह र खातुनले सर्वोच्च अदालतलाई गुहारेपछि मुद्दा दर्ता भयो र २०६९ जेठ १६ मा महान्यायाधिवक्ताको निर्णय खारेज गरी अनुसन्धान गर्न प्रहरीलाई सर्वोच्चले आदेश दियो। तर शक्तिको आडमा मुद्दालाई कमजोर बनाएको पीडितको आरोप छ। तत्कालीन रौतहट प्रहरी प्रमुख महेशविक्रम शाहले अनुसन्धान अगाडि बढाउन खोज्दा माथिको दबाबमा नसकेको पीडित सिंहको दाबी छ।

शाहपछि गोविन्दराम परियार, उमेश रञ्जितकार, सानुबाबु थपलिया, प्रद्युम्न कार्की, गणेश रेग्मी, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, केदार ढकाल रौतहटमा प्रहरी प्रमुख बनेर आए तर अनुसन्धान अगाडि बढ्न सकेन। एसपी भूपेन्द्र खत्री प्रहरी प्रमुख भएर आएपछि भने अनुसन्धान अगाडि बढेको छ। खत्रीले सरकारी वकिलको कार्यालय तथा अन्य कानुनविद्सित परामर्श गरी घटनाबारे अनुसन्धान गरी यथेष्ट प्रमाण बटुलेर आफताबलाई पक्राउ गरेका छन्।

आफताब पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले गौरको सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा प्रहरी उपस्थिति बाक्लो बनाइएको छ भने अन्य जिल्लाबाट समेत थप प्रहरी बोलाइएको छ।

घटनाका मुख्य अभियुक्त भनिएका आफताब पक्राउ परेपछि उजुरीकर्ता सिंहलाई न्याय पाउने आस पलाएको छ। ‘घटनाको लामो समयपछि भए पनि प्रहरीले आलमलाई पक्राउ गर्दा न्याय पाइन्छ कि भन्ने आस पलाएको छ’, सिंहले भने, ‘सधैं पद र ओहदाका कारण जोगिएर बसेका आफताब पक्राउ परेको देख्दा देशमा अझै प्रहरी र कानुन जीवित छन् भन्ने आभास भएको छ।’ छोरा गुमाएको पीडा भुल्न नसकेका सिंहले ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अदालतको निर्णयपछि थाहा हुने बताएका छन्।

लगातार दुई दिन अदालत बन्द रहेकाले मंगलबार म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी भइरहेको एसपी खत्रीले बताए। घटनाबारे प्रहरीले आफ्नो विवेक तथा स्रोत र साधन प्रयोग गरी अनुसन्धान गरिरहेको र आफताबलाई सम्पूर्ण मानवअधिकार उपलब्ध गराएको उनले बताए। अनुसन्धानमा आफताबले अहिले खासै सहयोग नगरेको तर कानुनलाई सहयोग गर्ने कुरामा आफू विश्वस्त रहेको एसपी खत्रीको भनाइ छ।

आफताब पक्राउ परेपछि रौतहट कांग्रेसले विरोध गरेको छ। कांग्रेसका जिल्ला सभापति कृष्णा यादवले आफताब रिहा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। परोहा नगरपालिकाका मेयर शेख वकिलले प्रहरीले अपहरणको शैलीमा आफताबलाई पक्राउ गरेको आरोप लगाएका छन्।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement