जेठो टेलिकमका 'कान्छा एमडी’को परिपक्क सोच, डिजिटल फाइनान्स कम्पनी खोल्ने तयारी

Advertisement

काठमाडौं । ‘आम्दानी बढाउन प्रडक्ट, नेटवर्क र कार्ययोजना चाहिन्छ । आज नेपाल टेलिकमसँग तीनै कुरा उपलब्ध छन् । अघिल्ला वर्षहरु झैँ आम्दानी घट्ने क्रममा ब्रेक लागेको छ । अब टेलिकमको आम्दानी निरन्तर वृद्धि हुँदै जानेछ ।’ यो भनाई हो ११ महिनादेखि नेपाल टेलिकम सम्हाल्न आएका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको ।

यसपटक नेपाल टेलिकमले उत्कृष्ट करदाताको पुरस्कार पाएन । गत आर्थिक वर्ष २०७५।७६ वर्षमा लाभांशबाहेक नै टेलिकमले २५ अर्ब कर तिरेको थियो । बार्षिक ६–७ अर्ब कारोबार गर्ने कम्पनीले उत्कृष्ट करदाताको पुरस्कार पाउनु र टेलिकम छुट्नुलाई अधिकारी अचम्मको विषय मान्छन् ।

उनी भन्छन्, ‘उत्कृष्ट करदाता सम्मान किन पाइएन ? म आफैं कन्फ्युजमा छु ।’ यद्यपी ठूला कारदाता कार्यायलले मंसिर ४ गते सबै भन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा नेपाल टेलिकमलाई भने सम्मान गरेको उनी बताउँछन् ।

पहिलो त्रैमासिकको हिसाब–किताब
पहिलो त्रैमासिक अर्थात असोज मसान्तसम्ममा टेलिकमले तीन अर्ब २४ करोड रुपियाँ नाफा आर्जन गरेको छ जुन २०७५ असोज मसान्तमा तीन अर्ब ४५ करोड रुपियाँ थियो । अर्थात टेलिकमको नाफामा २१ करोडको गिरावट आएको देखिन्छ ।

तर यो नाफाको गिरावट प्राविधिक विषय भएको अधिकारीको तर्क छ । उनी भन्छन, ‘गत वर्षको पहिलो त्रौमासिकमा रिचार्ज कार्ड बेच्नेलाई छुट्टै कमिसन दिएका थियौं । त्यसको हिसाब एक सय रुपियाँ बेच्दा पुरै आम्दानी मै गणना हुने थियो । तर यसपटक भने एक सय रुपियाँको रिचार्ज कार्ड बेच्दा ९६ रुपियाँ मात्रै आम्दानीमा गणना गरियो । कार्ड बेच्नेलाई सिधै छट दिएकाले सुरुमै ३२ करोड उता गयो, त्यसलाई गणना गरेको भए गत वर्ष भन्दा यसपटक आम्दानी बढि नै हुने थियो ।’

प्रवन्ध निर्देशक अधिकारीले ५१ जिल्लामा विस्तार भएको फोरजीको आम्दानी आउन थालेपछि मुनाफामा उल्लेख्य सुधार हुने पनि बताए । उनी उत्साहित हुँदै भन्छन्, ‘फोरजीको प्रतिफल आउने बेला हुँदैछ, त्यो आएपछि अघिल्ला वर्षहरुको जस्तो आम्दानी घट्ने क्रममा ब्रेक लागेको छ । अब टेलिकमको आम्दानी निरन्तर वृद्धि हुँदै जानेछ ।’

टेलिकमको आम्दानीलाई दिगो बनाउन आवश्यक सबै पूर्वाधार तयार पारिसकेको पनि उनले दावी गरे । अधिकारीले भने, ‘मैले नेतृत्व लिने बेलामा जुन प्रतिवद्धता गरेको छु, सोअनुसार आम्दानी बढाउँछौं । आम्दानी बढाउन प्रडक्ट, नेटवर्क र कार्ययोजना चाहिन्छ । आज नेपाल टेलिकमसँग सबै कुरा तयार छन् । अघिल्लो कात्तिकको तुलनामा यसपटकको कात्तिकमा आम्दानी राम्रो देखिसकेको छ ।’

राष्ट्रको सञ्चारः जनताका लागि सेवा
नेपालमा सबैभन्दा धेरैलाई दूरसञ्चार सेवा दिन नेपाल टेलिकम नै हो । ल्याण्डलाइनमा टेलिफोन र इन्टरनेट थियो । अब एफटीटीएच पनि थपिएको छ । केही समयभित्रै एफटीटीएचमा आइपी टिभी पनि थपिँदैछ ।

त्यसबाहेक मोबाइल इन्टरनेटमा थ्रीजी र फोरजी सेवा उपलब्ध छन् । फोरजीको सेवा व्यापक मात्रामा विस्तार गरिँदैछ । भ्वाइसमा जीएसएमको टूजी र थ्रीजी सेवाले व्यापकता पाईरहेको छ । संसारभर भ्वाईस सेवाको आम्दानी घटिरहँदा नेपाल टेलिकमले भने वृद्धि गरिरहेको अधिकारी बताउँछन् । त्यसबाहेक एसएमएस सेवा तथा लोप हुँनै लागेको सीडीएमए र वाईम्याक्स पनि छन् । यी दुई सेवामा भने थप लगानी नगर्ने उनले स्पष्ट पारे ।

अहिले विश्वव्यापी माग रहेको मोबाइल ब्रोडब्याण्डको फोरजी र फिक्स ब्रोडब्याण्डमा फाइबर हो भन्दै अधिकारी यिनीहरुको विस्तार आक्रामक बनाईरहेको बताउँछन् । हाल टेलिकमको ग्राहक आधार दुई करोडभन्दा बढी पुगेका छ । यद्यपी सक्रिय उपभोक्ता कति छन् ? भन्ने यकिन चाँही भएको छैन् ।

सार्वजनिक खरीद ऐनको झमेला
निजी क्षेत्रका कम्पनीसँग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले ढल खन्ने नीति नियमले प्रविधि किन्ने कुरालाई गाइड गर्न नसक्ने उनी बताउँछन् । संशोधित सार्वजनिक खरिद ऐनले टेलिकमलाई खरीद कार्यविधि बनाएर सार्वजनिक खरिद अनुगमन कार्यालयको स्वीकृतिमा काम गर्न सक्ने सुबिधा दिएको छ । सोहीअनुसार टेलिकमले खरीद कार्यविधि संशोधन मस्यौदा गत गत साउनमै सार्वजनिक खरिद कार्यालयमा पठाइएको छ । एक हप्ताअघि मात्रै कार्यालयसँग छलफल भएको र चाँडै अनुमति लिएर कार्यान्वयनमा ल्याइने अधिकारी बताउँछन् ।

संशोधित कार्यविधिले प्राबिधिकरुपमा सक्षम कम्पनीहरुको मात्रै व्यवसायीक प्रस्ताव हेरे पुग्ने व्यवस्था अघि सारेको छ । त्यसले आवेदनकर्ताहरुको मूल्यांकन गर्न सहज बनाउँछ । अधिकारी भन्छन्, ‘त्यसले गुणस्तरीय सेवा तथा वस्तु किन्ने सुनिश्चितता गर्छ, अहिले स्मार्ट फोन किन्न टेण्डर आव्हान गर्यो भने सामसङदेखि एप्पल हुँदै स्पाइस र साओमीले पनि दरखास्त दिन्छन् र अन्तिममा स्पाइस किन्नुपर्ने बाध्यता आइलाग्छ । तर उपभोक्ताले एप्पल खोजेका हुन्छन् । हामीलाई यस्तो बाध्यताबाट यो नयाँ कार्यविधिले मुक्ति मिल्छ ।’

फोरजीका कुरा
केही विवाद र आरोप प्रत्यारोपका श्रृ्खलापछि फोरजी सेवा सहजढंगले अघि बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आवश्यक छानविन गरेर प्रक्रिया अघि बढाउन भनेपछि फोरजी विस्तार अघि बढेको उनी बताउँछन् । टेलिकमको प्रगति नरुचाउनेहरुले जहिल्यै भाँजो हाल्दै आएकाले फोरजीमा पनि झमेला भएको अधिकारीले दावी गरे । उनी भन्छन्, ‘सबै बाधाहरुलाई चिर्दै ५१ वटा जिल्लामा फोरजी सेवा विस्तार गरिसकेका छौं । ग्राहकहरुको संख्या १० लाख नाघेको छ । ६५ लाख मोबाइल फोन प्रयोगकर्ताहरुका फोनले फोरजी नेटवर्क टिप्ने देखेका छौं, अब आक्रामक बजार विस्तार गर्छौ ।’ सन २०१७ पछि वितरण भएका सबै सिम कार्डमा फोरजी चल्छन् । नचले निःशुल्क सिम दिने व्यवस्था गरिएको छ । त्यसमा पनि दुई सय एमबी डाटा निःशुल्क गरिएको छ । अर्थात नेपाल टेलिकमको फोरजीका नयाँ ग्राहकले दुईसय एमबी इन्टरनेट निःशुल्क पाउँछन् ।

सूचना प्रवाहमा नयाँ मोड
उपभोक्ताका लागि प्रडक्ट भएर मात्रै हुन्न, त्यसलाई सही ढंगले बजारीकरण पनि गर्नुपर्छ । ‘पहिले हामी फोरपी भन्थ्यौं, अहिले फोरसी भन्छौं । पहिले प्रमोशन भनिन्थ्यो, अहिले कम्युनिकेशन भनिन्छ । अर्थात उपभोक्तालाई सूचना दिने भन्ने हो । त्यसमा नेपाल टेलिकमले नयाँ रणनीति नै बनाएको छ’, अधिकारीले भने । टेलिकमले ठाउँ ठाउँमा कन्सर्ट, पत्रपत्रिका, अनलाइन, मेसेज, होर्डिङ बोर्ड राखेर उपभोक्तामाझ आफ्नो सेवाहरुको प्रचार प्रसार गर्ने राणनीति अख्तियार गरेको छ ।

नयाँ प्रडक्ट पनि
औद्योगिक क्रान्ति भएका देशमा मात्रै फाइभजी चलेका छन् । यो व्यक्तिगतभन्दा पनि व्यवसायिक कामका लागि उपयोग गरिने अधिकारीको तर्क छ । त्यसकारण टेलिकमले अहिले नै फाइभजीबारे केही योजना बनाएको उनी बताउँछन् । अधिकारी भन्छन्,  ‘हामी अहिले फोरजी र फिक्स ब्रोडब्याण्डमा केन्द्रित छौं । भारतले नै सन २०२५ सम्म फाइभजी विस्तार नगर्ने भनेको छ ।’

अब एफटीटीएचमा टेलिभिजन सर्भिस दिने तयारी नेपाल टेलिकमले गरेको छ । अब जहाँ जहाँ फाइबर नेटवर्क छ, त्यहाँ त्यहाँ इन्टरनेट, भ्वाईस र टेलिभिजन सर्भिस पाइन्छ । त्यसका लागि ठेकेदारसँग सम्झौता पनि भइसकेको छ । सरकारी कम्पनी भएकाले अरु भन्दा सस्तोमा नै ती सबै सेवा दिने उनले प्रतिवद्धता व्यक्त गरे ।

पल्स रेटबारे
कुनै समय एक मिनेटको पल्स रेट थियो । अहिले १० सेकेन्ड कायम भएको छ । अबको केही समयभित्रै प्रति सेकेण्ड बिलिङ प्रणाली आउनेमा प्रवन्ध निर्देशक अधिकारी आशावादी देखिन्छन् । ‘हामीले अदृश्य शुल्क लिएका छैनौं, केही समयमै प्रति सेकेण्ड बिलिङ प्रणाली पनि आउँछ’, उनले भने ।

रणनीतिक साँझेदार कहिले ?
नेपाल टेलिकममा रणनीतिक साँझेदार ल्याउने चर्चा चलेको लामो समय भयो । संसदीय समितिदेखि मन्त्रिपरिषद्सम्म छलफल पनि भए । यतिबेला भने कम्पनीको डीडीएसमेत सम्पन्न भएर मन्त्रालय पठाइएको छ । अधिकारी भन्छन्, ‘अब बाँकी कुरा सरकारको हातमा छ । अहिले आठ प्रतिशत सेयर पब्लिकको छ र ९२ प्रतिशत सरकारको हिस्सा छ । यसलाई कसरी अघि बढाउने भन्ने कुरा पनि सरकारकै हुनेछ ।’

जनशक्तिका कुरा
अहिले नेपाल टेलिकममा ४२ सय जना स्थायी कर्मचारी छन् । केही परामर्शदाताका रुपमा पनि काम गरिरहेका छन् । टेलिकममा कुनै बेला छ हजार कर्मचारी थिए । नयाँ नयाँ प्रविधिमा काम गर्नुपर्ने भएकाले उनीहरुको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिईरहेका उनी बताउँछन् ।

स्थिर सम्पतिको उपयोग कसरी ?
नेपाल टेलिकमसँग ठूलो स्थिर सम्पति छ । सरकारी कम्पनी भएकाले पनि स्थिर सम्पति धेरै हुनु अस्वभाविक होइन । कम्पनीले केही सम्पति लिजमा दिएका छ । केही आफ्नै कार्यालय सञ्चालन गरिरहेको छ । बाँकीलाई उपयोग कसरी गर्ने ? भन्नेबारे रणनीतिक साँझेदार भित्र्याउने चरणमा थप छलफल हुने आशा अधिकारीको छ ।

एघार महिने नेतृत्वका उपलब्धि
डिल्लीराम अधिकारीले टेलिकमको नेतृत्व सम्हालेको ११ महिना भयो । उनी २०७५ पुस २३ गतेदेखि नेपाल टेलिकमको नेतृत्वमा आएका थिए । उनी भन्छ्, ‘म आउनुअघि जिएसएम बाहेकका अरु आयोजना थिएनन् । टेलिकम प्रोजेक्ट होलिडेको अवस्थामा थियो । मैले फोरजी अघि बढाए । अप्टिकल फाइबरका लागि १, २ र ३ प्रदेशको जिम्मा लिएँ । अहिले कर्णाली र सुदुरपश्चिम प्रदेशको पनि जिम्मा पाएका छौं । जीएसएमको सेवा विस्तार पनि अघि बढेको छ । एफटीटीएचको काम पनि धेरै अघि बढिसकेको छ । एउटा टेलिकम कम्पनीलाई चाहिने सबै पूर्वाधार तयार भएका छन् । त्यो मेरै नेतृत्वमा हो ।’

कुलमान बन्ने अवसर
अधिकारी तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनेका हुन् । उनले नेपाल टेलिकमलाई फिक्स ब्रोडब्याण्ड, मोबाइल ब्रोडब्याण्ड, भ्यालु एडिड सर्भिस र कन्टेन्टमा अग्रणी बनाउने? सबै ठाउँमा नेटवर्क विस्तार गर्ने, सबै जनताको हातमा नेपाल टेलिकमको सेवा पुर्याउने र सस्तो सेवा दिने चुनौति लिएका छन् । अधिकारीले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्यमा सहयोग गर्दै डिजिटल इकोनोमीको आधार टेलिकमले खडा गर्ने दावी गर्छ ।

अब डिजिटल फाइनान्स कम्पनी
टेलिकमले राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य गरेर डिजिटल फाइनान्स कम्पनी खोल्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रबन्धपत्र नियमावली तयार पारेर एक अर्ब चुक्ता पुँजीको कम्पनी खोल्न आसय पत्र (एलओआई)का लागि नेपाल राष्ट्र बैंकमा पठाईसकेको अधिकारीले जानकारी दिए ।

उनी भन्छन्, ‘अब मोबाइलका सबै उपभोक्ताले मोबाइलमार्फत नै बैंकिङ सेवा लिन सक्छन् । डिजिटल इन्क्लुजन (समावेशिता)सँगै फाइनान्सियल इन्क्लुजन (समावेशिता) ल्याउने भनेर नै त्यसो गरेका हौं । अर्को आर्थिक वर्षको सुरुसम्ममा कम्पनीले सेवा आरम्भ गर्नेछ ।’

प्रवन्ध निर्देशक अधिकारले जनताले मोबाइलबाटै सबै खाले वित्तिय कारोबार गर्न सक्नुपर्छ भन्ने अभिप्राय राखेको पनि बताए । उनी भन्छन्, ‘हातमा मोबाइल छ भने बैंक पनि छ भन्ने मान्नु पर्छ । बाणिज्य बैंकसँग वित्तिय क्षेत्रको विशेषज्ञता छ, हामीसँग कनेक्टिभिटि छ ।’

को हुन अधिकारी ?
विगत १७ वर्षदेखि टेलिकममा जागिर खाईरहेका अधिकारीले पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट इलोक्ट्रोनिक कम्युनिकेशनमा बिई र इन्फरमेशन एण्ड कम्युनिकेशन सिस्टम इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । २०५९ सालको अन्तिम तिर सातौं तहको इञ्जिनियरका रुपमा अधिकारी टेलिकम छिरेका थिए । उनी भन्छन्, ‘जागिर सुरु गरेदेखि नै खुल्ला प्रतिष्पर्धाबाट हरेक ३–४ वर्षमा बढुवा हुने अवसर पाएँ । १७ वर्षको बिचमा नेपाल टेलिकममा एमडी भएँ ।’

अधिकारी भर्खर ४५ वर्षका भए । टेलिकममा उनलाई कान्छो एमडी भन्ने गरिएको छ । ‘साथीहरुले कान्छो एमडी भन्छन्, मैले चाहीं हिसाब गरेको छैन्’ उनी थप्छन्– ‘सरकारी नियमभित्र बसेर मल्टिनेशनल कम्पनीसँग प्रतिष्पर्धा गर्दै नेपाल टेलिकमले नागरिकलाई विश्वस्तरको सेवा दिईरहनेछ ।’

Advertisement

Advertisement

Advertisement