‘साना उद्योगका निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गरियोस्’

Advertisement

काठमाडौं । स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्तरुपमा मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रम महासंघका कार्यवाहक अध्यक्ष उमेश सिंहले नेपाली वस्तुको ट्रेडमार्क कायम नहुँदा नेपालको मौलिक संस्कृति, हस्तकला तथा अन्य वस्तुहरुमा समेत नेपालको हक कायम हुन नसकेको बताए ।

उनले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपछि विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटीओको नियम कानुन अन्तर्गत रही आफ्ना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भने– ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरु अन्य मुलुकहरुमा समेत उत्पादन हुने गर्दछन् । यसरी उत्पादित वस्तुहरु मुलरुपमा नेपालबाट उत्पादन सुरु भए पनि अन्य मुलुकहरुले यस्ता वस्तुहरुको प्रतिलिपि उतारगरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरु समेतमा नेपालको हक कायम नभइदिँदा भविश्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्नसक्ने र हाम्रा उत्पादनहरुले उल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’

नेपालमै उद्गम भएका कतिपय निर्यातयोग्य वस्तुहरुमा हाम्रो स्वामित्व कायम गर्नु अपरिहार्य रहेको सिंहले बताए । उनले थपे– ‘हालसम्म पेटेन्ट अधिकारको बारेमा नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई वौद्घिक सम्पत्तिको संरक्षणका बारेमा जानकारी समेत छैन् । उनीहरुलाई ट्रेडमार्क र ब्राण्डसम्बन्धी चेतना जगाउनुपर्छ ।’

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बौदिक सम्पत्ति भनेको अत्यन्तै महत्वपूर्ण कुरा भएको बताउँदै कुल ग्राहस्थ उत्पादनको छ प्रतिशत उद्योगको योगदान रहेको र त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको, साना व्यवसायीले उत्पादन गर्ने दुःख गर्ने थुप्रै सामानको सिर्जना हुने तर सिर्जनामा उनीहरुकै ट्रेडमार्क सुरक्षित नहुने अवस्था रहेको छ भने ।

ट्रेडमार्क भनेको उद्योगी व्यवसायीको आफनो सम्पत्ति भएको भन्दै सिटौलाले यसको बेलैमा संरक्षण गर्न जरुरी भएको बताए । उनले भने, ‘औद्योगिक सामानहरु उत्पादन हुन्छन् तर तिनको पेटेन्ट दर्ता अत्यन्तै कम हुनुको पछाडि सचेतनाको अभाव र समयको अभावले हुन सक्छ । तर यो विषयमा व्यवसायी बेलैमा सचेत हुन जरुरी छ ।’

कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंक महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा वौद्घिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारीताका साथै वस्तु डिजाइन तथा वौद्घिक सम्पत्तिका अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी प्रस्तुति गरेका थिए । विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र वौद्घिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुति गरेका थिए ।

Advertisement

Advertisement

Advertisement