दूरसञ्चारका ठेक्कामा स्वदेशी कम्पनीलाई प्राथमिकता दिन निर्देशन

Advertisement

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले दुर सञ्चार सम्बन्धी वस्तु तथा सेवा खरिद एंव सेवा विस्तारका कार्यहरुमा स्वदेशी कम्पनीहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले गुणस्तर, समय र लागतमा प्रतिष्पर्धी हुने नेपाली कम्पनीहरुलाई उच्च प्राथमिकतमा राखेर ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । सोमबार समितिमा नेपाल दुर सञ्चार प्राधिकरणले अघि बढाएको अप्टिकल फाइबर बिछ्याउने कामको प्रगति सम्बन्धी छलफल थियो । छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका निमित्त सचिवसहित नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष समेत उपस्थित थिए ।

समिति सभापति कल्याणी खड्काले ठेक्का लगाउँदा नै विदेशी कम्पनीहरुले मात्रै आवेदन दिन पाइने गरि मापदण्ड तय हुने गरेको देखिएकाले अब त्यस्तो नगर्न निर्देशन दिएको बताइन् । ‘नेपाली कम्पनीहरुले प्रतिष्पर्धामा भाग लिनै नपाउने गरि मापदण्ड तयार हुने गरेको गुनासो आईरहेको छ, हामीले लागत, गुणस्तर र समयमै काम हुने अवस्था रहेमा नेपाली कम्पनीहरुलाई प्राथमिकतमा राख्नु भनेका छौं’, समिति सभापति खड्काले बताइन् । पछिल्लो समय नेपालका हरेक जसो ठेक्का पट्टामा सिमित व्यक्ति तथा कम्पनीहरुको हालीमुहाली हुने गरेको गुनासो आईरहेको छ । निर्माण सम्बन्धी ठेक्का होस् वा अन्य खरिद प्रक्रियामा निश्चित कम्पनीहरुसँग सरकारी अधिकारीहरुले सेटिङ मिलाउने गरेको आरोप लाग्दै आएको छ ।

समितिले निर्देशनमा भनेको छ–‘कोरोना भाइरस ९कोभिड १९० को महामारीले उत्पन्न गरेको विषम परिस्थितीमा बेरोजगारीको संख्या वृद्धि भइ अर्थतन्त्रमा ह्रास आउने देखिएकोले स्वदेशी उद्योगी, परामर्शदाता तथा निर्माण व्यवसायीहरुले न्युनतम लागतमा गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने क्षमता राख्दछन् भने त्यस्तो कार्यलाई प्राथमिकतामा राखी देशमा रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्न र देशको अर्थतन्त्रलाई टेवा दिनसक्ने कार्ययोजना तयार गरी काम अगाडी बढाउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ ।’

Advertisement

Advertisement

Advertisement