कोरोनापछि अधिकांश चुनढुँगा खानी सञ्चालन र ढुवानीमा समस्या, क्लिंकर आयात बढ्यो

Advertisement

काठमाडौं । कोभिड १९ का कारणले नेपालका चुनढुंगा खानी बन्द हुँदा भारतबाट क्लिंकरको आयात ह्वात्तै बढेको छ । वैशाखसम्म मासिक औसत २५ करोड ६१ लाख रुपियाँबराबरको क्लिंकर आयात भइरहेकामा जेठमा मात्रै ८१ करोड ७१ लाख रुपियाँको आयात भएको छ ।

भन्सार विभागका अनुसार जेठ मसान्तसम्म (११ महिना)मा कुल ३ अर्ब ३७ करोड ८७ लाख रुपियाँबराबरको ४ लाख ६७ हजार ४ सय ४० टन क्लिंकर आयात भएको छ । वैशाखसम्म २ अर्ब ५६ करोड १६ लाख रुपियाँबराबरको ३ लाख ६८ हजार ६ सय ४० टन क्लिंकर आयात भएको थियो ।

जेठको एक महिनामा मात्रै ८१ करोड ७१ लाख रुपियाँबराबरको ९० हजार ८ सय ८० टन क्लिंकर आयात भएको हो ।

वैशाख र जेठमा सिमेन्टको माग भए पनि खानी नचल्दा भारतबाट क्लिंकर आयात गर्नुपरेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

कोरोना संक्रमण जोखिमका कारण नेपालका अधिकांश चुनढुंगा खानी सञ्चालनमा आउन सकेका छैनन् । ‘लकडाउनकै बीचमा सरकारले उद्योग खुलाउने निर्णय गरेपछि उद्योगहरू त चले, तर खानी चल्न सकेनन्,’ उनले भने, ‘कोरोनाको कारण देखाउँदै अधिकांश खानी सञ्चालमा स्थानीयले अवरोध गरे, उत्खननमा मात्रै होइन, ढुवानीमा समेत अवरोध भयो ।’ स्वदेशी खानी सञ्चालनमा आउन नसक्दा सिमेन्ट उद्योगले भारतबाट क्लिंकर मगाएर सिमेन्ट उत्पादन गरेका हुन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement