कोरोना संक्रमण बढिरहेको बेला सार्वजनिक यातायात खुल्ला गर्ने निर्णय, भाडा पनि बढाइयो

Advertisement

काठमाडौं । कोरोना (काभिड १९)को संक्रमण बढिरहेको बेला सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भाडा वृद्धिसँगै छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकपछि आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए । काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यस्ता साधनहरु चल्न पाउनेछन् ।

ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्नसक्ने भन्दै खतिवडाले ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्ने बताए । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।

त्यस्तै, अन्य सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् भने ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ । सार्वजनिक यातायातमा हिँड्दा यात्रुले अनिवार्यरुपमा मास्क लगाउनुपर्नेछ भने चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । त्यसबाहेक हरेक सार्वजनिक यातायातका साधनको दिनमा एक पटक निसंक्रमण गर्नुपर्नेछ ।

कोरोना (काभिड १९) महामारीसँगै लागू गरिएको लकडाउनपछि ग्यारेजमा गाडि थन्क्याउन बाध्य भएका यातायात व्यवसायीहरुले आफूहरुले बैंकको किस्ता तिर्न नसक्ने भन्दै चावी बुझाउन थालेपछि सरकार दबाबमा पर्दै गएको थियो । उनीहरुले आफूहरुलाई विशेष राहत प्याकेजको घोषणा गर्न मागसमेत गरेको सन्दर्भमा सरकारले भाडासमेत वृद्धि गर्दै छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिमका कारण धेरै यात्रु चलाउन नमिल्ने भएकाले पनि भाडा बढाउनुपर्ने बाध्यता भएको हो । सार्वजनिक बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement