नीति कार्यक्रमः ढुंगानाको नेतृत्व र उत्साहित पुँजी बजार

Advertisement

धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम स्थापित बोर्डले पछिल्ला नीति तथा कार्यक्रम भन्दा थोरै भिन्न र पृथक रूपमा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७।७८ मा सम्पादन गर्ने कार्यहरु समेटी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रमले नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय वजारलाई विकास तथा विस्तार गरी स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी एवं प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई विभिन्न लक्ष्यहरु लिईएका कार्यक्रम प्रसंशनीय छन ।

आ.व. २०७६÷७७ को धितोपत्र बजार र बोर्डको नीति तथा कार्यक्रमको प्रगति समीक्षा सहित विश्वभर महामारीका रुपमा देखिएको कोभिड(१९ का कारणले स्थानीय तथा विश्व आर्थिक गतिविधिमा संकुचन आई धितोपत्र बजारमा समेत यसको प्रभाव परेको कुरा उल्लेख गर्दै धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बुक विल्डिङ्ग विधिमार्फत् सार्वजनिक निष्काशन गर्न सक्ने, हकप्रद सेयर निष्कासनलाई थप प्रभावकारी बनाउने लगायतका व्यवस्था समावेश गरी नियमावली संशोधनका साथै सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग, मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल व्यवसायीसम्बन्धी नियमावलीहरुको समसामयिक संशोधन गरिएको कुरा प्रस्तुत नीति तथा कार्यक्रममा जनाईएको छ ।

नेप्सेको कारोवार प्रणालीलाई धितोपत्रका लगानिकर्ताहरूको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गर्ने, धितोपत्र कारोबार राफसाफ तथा फर्योट प्रणाली टी प्सल टु मा हुने तथा नेप्सेको टीएमएसलाई प्रभावकारी बनाउने, आइओएससीओको साधारण सदस्य प्राप्त गर्ने कार्य अगाडि बढाउने, धितोपत्र व्यापारी (स्टक डीलर) लाई अनुमति दिने, साना तथा मझौला कम्पनीहरूको लागि छुट्टै कारोबार हुने गरी एसएमई(साना तथा मझौला) प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्ने कार्यक्रमहरूले आगामी दिनमा पुँजीबजारलाई नयाँ उँचाईमा पुर्याउने कुरामा दुईमत छैन ।

लगानीकर्ता प्रत्यक्ष संवाद रेडियो कार्यक्रम, २०७६ असारबाट विद्युतीय प्रणालीमार्फत् ऋणपत्रको दोस्रो बजार कारोबारको व्यवस्था, बोर्डबाट संचालन हुदैं आएको पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रमलाई थप परिष्कृत गरी निरन्तरता, पुँजीगत लाभकर गणनालाई थप सरल र सहज बनाउने क्रममा लगानीकर्ता स्वयंले सिडिएससीको वेबसाइटमार्फत् आधार मूल्य प्रविष्ट गरी पेश गर्न सक्ने व्यवस्था, हाल २१ धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोबार गर्न अनुमति प्राप्त गरेकोमा तिनीहरुको कारोबार संचालन तथा बिस्तार गर्ने व्यवस्था लगायत खुलामुखी सामूहिक लगानी कोष संचालनलाई सहजीकरण गरिएको व्यवस्था प्रशसंनीय छ ।

बोर्डले धितोपत्र बजारको विकास, विस्तार तथा सुधारका लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको जनाएको छ । साथै, बोर्डको नीति तथा कार्यक्रमको कार्यान्वयनमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बजार तथा वस्तु विनिमय बजारका सहभागीहरु, लगानीकर्ता, बजार विज्ञ सहित अन्य सम्पूर्ण सरोकारवाला पक्षहरुको समेत सहयोग एवं सहकार्यको अपेक्षा गरेको छ । लगानिकर्ताहरूले बुझाएका ५८ बुँदे सुझाबका केहि महत्वपूर्ण बुँदाहरू यो नीति तथा कार्यक्रमले समेट्न सकेको छैन । यस तर्फ पनि बोर्डले ध्यान दिन जरूरी छ ।

बोर्डको आगामी कार्य दिशा र बोर्डले अवलम्वन गरेको नीति तथा कार्यक्रम साच्चिकै गर्व गर्न लायक छ । आ.व.२०७७/७८ को नीति तथा कार्यक्रम र बजेटको मर्म अनुरूप पुँजी बजारको विकास र विस्तारका लागि अवलम्वन गरिएका हरेक गतिविधी प्रति आम लगानिकर्ताहरू आशावादि हुन सक्ने अवस्था छ । नेपाल धितोपत्र वोर्डका नव नियुक्त अध्यक्ष भिष्म राज ढुंगाना साच्चिकै आशा र भरोसाका केन्द्र बनेका छन् । ढुंगानाका काम कार्यवाही र आज सम्म गरिएका पहलहरूको सकारात्मक परिणाम लगानिकर्ताहरूले महशुस गरेका छन । ढुंगानाको कार्यकालमा नेपालको पुँजी बजार कोशेढुंगा सावित हुने कुरामा हामी लगानिकर्ताहरू आशावादी छौं । -लेखक फुल्लेल सेयर लगानीकर्ता संघका उपाध्यक्ष हुन् ।

Advertisement

Advertisement

Advertisement