सुनचाँदीको मूल्य निर्धारण बैज्ञानिक र पारदर्शी बनाउः महासंघ

Advertisement

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनचाँदीको दैनिक मूल्य निर्धारणलाई थप वैज्ञानिक र पारदर्शी बनाउनु पर्ने सुझाव दिएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालयले उप-सचिव देवीप्रसाद थपलियाको संयोजकत्वमा सुनचाँदीको दैनिक मूल्य निर्धारण सम्बन्धमा प्रतिवेदन पेश गर्न गठन गरेको कार्यदललाई महासंघले उक्त सुझाव प्रस्तुत गरेको महासचिव कृष्णलाल महर्जनले बताए । विगत १० वर्षदेखि कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकले तोकेका वाणिज्य बैंकहरु मार्फत सुनको पैठारी हुँदै आएको र चाँदीको आयात भने खुला रहेको महासंघद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

महासचिव महर्जनद्वारा प्रकाशित विज्ञप्तिमा-‘बैंक मार्फत पैठारी हुने सुनको थोक विक्री नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघका साथै अन्य दुई महासंघहरु समेत गरी विभिन्न ५ संस्थाबाट सिफारिश गरिएको आधारमा व्यवसायीहरुले सम्बन्धित बैंकबाट खरीद गर्ने परिपाटी रहेको छ । आयातकर्ता बैंकले विक्री गर्ने सुनको मूल्य एकै दिनमा बैंक पिच्छे फरक–फरक हुने गरेकोले त्यसको असर खुद्रा मूल्यमा पर्नु स्वाभाविक छ । यसबाट गहना व्यवसायी र आम उपभोक्तामा अन्योल सिर्जना हुन सक्ने विषयलाई ध्यानमा राखी यस महासंघले बैंकबाट खरीद गरिएको आधारमा दैनिक खुद्रा मूल्य निर्धारण गर्दै आएको’ उल्लेख छ ।

आयातकर्ता बैंकले दैनिक मूल्यमा एकरुपता कायम नगरेको र कतिपय संस्थाले ‘आधिकारिक मूल्य’ भन्दै बैंकको आधार–मूल्य भन्दा पनि कम रकमको दैनिक खुद्रा मूल्य तोकेर बजारलाई अराजक बनाएको विगतको अभ्यास पनि हाम्रो सामू छ । तसर्थः मूल्य निर्धारण कार्यलाई बैज्ञानिक, पारदर्शी व्यवसाय–मैत्री र आम उपभोक्ताको हक, हितको समेत प्रत्याभूति हुने गरी स्पष्ट प्रणालीको तर्जुमा गर्नु पर्ने महासंघको सुझाव छ ।

Advertisement

Advertisement

Advertisement