उद्योग बाणिज्य महासंघको चुनाव सर्यो, चन्द्र ढकालको भने विमति

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व चयनका लागि यही साउन २६ र २७ गतेलाई तोकिएको बार्षिक साधारणसभासहितको निर्वाचनको कार्यक्रम स्थगित भएको छ ।

निर्वाचनका लागि अनुमति दिन सरकारले ढिलो गरेपछि महासंघको पदाधिकारी समितिको बिहीबारको बैठकले साधारणसभा स्थगित गरेको हो । सरकारले साधारणसभा गर्न अनुमति दिएको १५ दिनभित्रमा निर्वाचन गर्ने बैठकले निर्णय गरेको छ ।

साधारणसभाको मिति सार्ने विषयमा भने उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले भने विमति जनाएका छन् । वरिष्ठ उपाध्यक्षका लागि अर्का उपाध्यक्ष किशोर प्रधान र ढकाल प्यानलसहित चुनावी तयारीमा थिए ।

लकडाउन अन्त्य भए पनि साधारण सभा गर्न दिन सरकारले ढिलाई गरेका कारण अन्योलता बढेकोले चुनाव सार्नुको विकल्प नरहेको महासंघका एक सदस्यले बताए ।

यस्तो छ निर्णयः

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज महासंघ सचिवालयमा महासंघको पदाधिकारी समिति बैठक बस्यो । महासंघका पूर्व अध्यक्षहरू एवं पदाधिकारीहरू सम्मिलित बैठकमा २०७७ साउन २६ र २७ गते काठमाडौंमा आयोजना गर्ने भनि तय गरिएको महासंघको ५४ औं वार्षिक साधारण सभाका विषयमा गम्भिर छलफल भई देहायको निर्णय गरिएको छ ।

निर्णयः
कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमवारको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि कुनैपनि प्रकारको सभा/सम्मेलन/भेला आयोजना गर्न प्रतिवन्ध लगाएको निर्णय समेतलाई आधारमानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारण सभा सरकारले सभा/सम्मेलन/भेला गर्ने स्वीकृति दिएको १५ दिन भित्र आयोजना गर्ने ।

बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्व अध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकालको सहभागिता थियो ।

Advertisement

Advertisement

Advertisement