चुनाव सारिएकोप्रति चन्द्र ढकाल समूहको आपत्ति, ‘महासंघ म्याद सकिएको औषधि जस्तो भयो’

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकाल र उनको समूहले बहुमतका आधारमा निर्वाचनसहितको साधारणसभाको मिति पुनः स्थगित गरिएको भन्दै आपत्ति जनाएको छ ।

सरकारले साधारणसभा गर्न दिन माग गर्दै दिएको निवेदनमा निर्णय गर्न ढिलाई गरेको सन्दर्भमा महासंघको पदाधिकारी बैठकले बिहीबार निर्वाचनको मिति पर सारिएको भोलिपल्ट शुक्रबार पत्रकार सम्मेलन गरी निर्णयको विरोध गरेको हो । कार्यक्रममा ढकालका समर्थकको रुपमा रहेका महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, अर्का पूर्ववरिष्ठ उपाध्यक्ष भास्कर राजकर्णिकार, पदाधिकारीका अन्य प्रत्यासी एवं समर्थकहरु सहभागी थिए ।

पदाधिकारी बैठकले सभा सम्मेलन गर्न नदिने सरकारको पछिल्लो निर्णयलाई औंल्याउँदै महासंघका सदस्यहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखी सरकारले साधारणसभा गर्न अनुमति दिएको १५ दिनभित्र सभा गर्नेगरी यही असार २६ र २७ गतेलाई तोकिएको साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । साधारणसभा गत चैत अन्तिममा नै हुनुपर्ने भए पनि कोरोना महामारी र लकडाउनका कारण पहिलो पटक स्थगित भएको थियो ।

ढकाल समूहले निर्वाचन सार्ने पदाधिकारी बैठकको निर्णयको वैधानिकमाथि प्रश्न उठाउँदै यस विषयमा छलफल गर्न कार्यसमितिको बैठक माग गर्ने संकेत गरेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले स्वास्थ्यसम्वन्धी प्रोटोकल बनाएर सभा गर्दा समस्या नहुने र यसअघि विषय परिस्थितिमा पनि महासंघको साधारणसभा सम्पन्न भएको उदाहरण रहेको अवस्थामा अहिले पुनः स्थगित जरुरी थिएन भन्दै पदाधिकारी बैठकको निर्णयले महासंघ म्याद सकिएको औषधि जस्तो बन्न पुगेको बताए ।

उनले आफूलाई पदमा पुग्न हतार भएको भनी लगाइएको आरोपको खण्डन गरे । ढकालले चुनावी दाउपेचका लागि सभा स्थगित गरिएको आरोप पनि लगाए । उनले महासंघको ५५ बर्षको गरिमा जोगाउनु जरुरी रहेको बताए । कार्यक्रममा पूर्वअध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष उमेशलाल प्रधान, उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघाईलगायतले बोलेका थिए ।

चन्द्र ढकालको पक्षमा रहेका पूर्वअध्यक्ष ढकाल र पूर्ववरिष्ठ उपाध्यक्ष राजकर्णिकारको विवादित छवीका कारण महासंघका अधिकाश पदाधिकारीदेखि पूर्वअध्यक्षसम्मले किशोर प्रधानको समूहलाई साथ दिएका थिए । महासंघभित्र हावी हुँदै आएका चण्डि ढकालको प्रभाव पनि अन्त्य भएको बिहीबारको पदाधिकारी बैठकबाट देखिएको छ । उनकै कारण चन्द्र ढकाल पनि संकटमा परेको उनलाई समर्थन गर्दै आएका केही व्यवसायी बताउँछन् ।

Advertisement

Advertisement

Advertisement