एलआईसी इण्डियामा क्षमता देखाएर आएका एलपी दास एलआईसी नेपाललाई उचाईमा पुर्याउँदै

Advertisement

म (एलपी दास) एक वर्षभन्दा बढी समयदेखि एलआइसी नेपालको सीईओका रुपमा काम गरिरहेको छु । मलाई नेपालमा काम गर्दा आफ्नै गाउँठाउँमै छु जस्तो अनुभव भइरहेको छ । नेपाल र भारतको धेरै कुरा समान छन् । हाम्रो भूगोल, धर्म र संस्कृतिमा धेरै समानता छन् ।

त्यसकारण मलाई नेपालमा काम गर्न निकै रमाइलो र आनन्द लागिरहेको छ । मैले यसअघि पनि कैयौं पटक नेपाल आउने प्रयास गरेको थिएँ । तर, सफल भइन् । एलआइसी नेपालले मलाई त्यो अवसर जुटाई दियो ।

Advertisement

कलकत्तादेखि काठमाडौंसम्म

मैले सहायक अधिकृतका रुपमा कलकत्ताबाट एलआइसी इण्डियामा काम थालेको थिएँ । त्यसपछि मुम्बईको सुरतको कर्पाेरेट अफिसमा पनि काम गरें । म सन २००५ मा मेरो जन्मस्थल भुवनेश्वर शाखामा मार्केटिङ डिपार्टमेन्टमा आएँ । त्यसपछि म मार्केटिङमै काम गरिरहें ।

मैले मुजफ्फरपुर, जम्सेदपुर लगायतका ठाउँमा पनि काम गरें । नेपाल आउनुभन्दा अघि म भुवनेश्वरीमा सिनियर डिभिजनल म्यानेजरका रुपमा काम गर्दै थिएँ । आफ्नै गृहनगरमा धेरै समय काम गर्न पाउने थोरै भाग्यमानीहरु मध्येमा म पर्छु । एलआइसीमा एक सय १२ वटा डिभिजन छन् ।

तीमध्ये ६ वटा डिभिजनले मात्रै आफ्नो व्यवसायीक लक्ष्य प्राप्त गरेका थिए । तीमध्ये एउटा डिभिजन भुवनेश्वरी थियो । म त्यसकै एउटा हर्ताकर्ताका रुपमा कायम रहें । त्यसपछि म अन्तरवार्ता दिएर एलआइसी नेपालको नेतृत्व सम्हाल्न आइपुगेँ । मैले भुवनेश्वरीमै स्कुलदेखि उच्चशिक्षा हासिल गरें ।

उडिसा युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबाट उच्च शिक्षा हासिल गरें, जुन मेरो घर नजिकै थियो । पोष्ट ग्राजुयसनमा म कलेज टपर पनि भएँ । एलआइसी आउनुभन्दा अगाडी तीन वटा बैंकहरुमा थोरै थोरै समय जागिर पनि खाएँ । त्यतिबेला केरलासम्म जाने अवसर जुटेको थियो ।

नेपाल र भारतको कार्यशैली

नेपाल र भारतलाई भूगोल, जाति, भाषा, धर्म संस्कृति र सभ्यताले नै जोडेको छ । त्यसकारण हाम्रो कार्यशैली पनि मिल्छ । बरु भारतमा भन्दा नेपालमा मानिसहरु धेरै मेहनती भएको पाएँ । नेपालमा त कार्यालय समय सकिएपछि पनि यति काम गरिदिनुस् भन्यो भने कर्मचारीले गर्छन् । 

एलआइसीका शाखाहरु निकै कठिन भूगोलमा पनि छन् तर, पनि नेपाली कर्मचारी दाजुभाई दिदीबहिनीहरुले निकै मेहनतका साथ जिम्मेवारी पूरा गर्नुहुन्छ ।

नेपालको बीमा बजार

नेपालमा बीमाको बजार तीब्रत्तर विकास भइरहेको छ । यहाँ तीन करोड जनसंख्या छ । जीवन बीमा कम्पनी १९ वटा छन् । बीमा समितिले नियामनको कडा व्यवस्था गरिरहेको छ । नागरिकहरुमा बीमाप्रति निकै चासो बढिरहेको छ ।

नागरिकहरुको आम्दानी थोरै भए पनि बीमाप्रति आकर्षण बढिरहेको छ । युरोपियन देशहरुमा नगद बचत हुने बित्तिकै नागरिकको पहिलो प्राथमिकतामा बीमा पर्छ । त्यसपछि मात्रै बैंकमा राख्ने, सेयरमा लगानी गर्ने वा अरु क्षेत्रमा जाने भन्ने हुन्छ ।

नेपालमा पनि अहिले बैंकमा निक्षेप राख्दा थोरै ब्याज पाउने अवस्था बन्न थालेको छ । म नेपालमा आउँदा निक्षेपको ब्याजदर १० प्रतिशत बढी थियो । अहिले ६.५ प्रतिशत छ । र, यस्तो ब्याजदर अझै कम भएर ५ देखि ५.५ प्रतिशतमा रहने अवस्था बन्दै गएको छ ।

यसको अर्थ अब भने बीमाका लागि पनि समय थप अनुकुल हुँदै गएको छ । अब मानिसहरुले निक्षेपमा पैसा राख्न चाहँदैनन् । त्यसको विकल्पका लगानीका क्षेत्र खोज्न थाल्छन् । त्यसको विकल्प भनेको बीमा हुन सक्छ । बीमामा गरिने लगानी भनेको दिर्घकालिन हो ।

यदि कसैले पाँच वा १० वर्षको पोलिसि खरिद गर्छ भने उसले आफैंलाई मुर्ख बनाइरहेको हुन्छ । बीमाबाट लाभ लिने हो भने लामो अवधीका पोलिसि खरिद गर्नुपर्छ ।

१९ कम्पनीः प्रतिस्पर्धाको म्याराथन

नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरुले सेवा दिईरहेका छन् । एलआइसीले सन २००१ मा लाइसेन्स लिएको हो । सुरुमा कम्पनीको ग्रोथ खासै रफ्तारमा थिएन् । अहिले भने हामी पनि तीब्रगतिमा ग्रोथको बाटोमा हिँडिरहेका छौं । सन् २०१८ जुनसम्म हाम्रो जम्मा ४८ शाखा थिए अहिले सतप्रतिशत बढिसकेको छ ।

डेढ वर्षको अवधीमा सतप्रतिशतको आकारमा शाखा बढाउने कुरा चानचुने पक्कै पनि होइन् । अरु कम्पनीहरुले पहिले नै शाखा विस्तार गरिसकेका थिए । हामीले भने भर्खरै त्यस्तो काम अघि बढाएका हौं । यो सबै कुरा नयाँ बीमा कम्पनीहरुले सेवा आरम्भ गरेपछि सुरु भएको प्रतिस्पर्धाकै नतिजा हो ।

एजेन्टहरुले अरु कम्पनीका शाखा आईसके, हाम्रो खोई ? भन्ने अवस्था बनेपछि हामीले पनि शाखा विस्तार थालेका हौं ।

जटिल व्यवसाय र एजेन्टको भूमिका

बीमा भनेको जटिल प्रकृतिको व्यवसाय हो । सामान्यतया बिमितलाई पोलिसिका शर्तहरु के के हुन ? भन्ने नै थाहा पाउन मुस्किल हुन्छ । त्यसकारण नै यसमा एजेन्ट आवश्यक हुन्छ । युरोप र अमेरिका पनि एजेन्टबिना बीमा पोलिसि बेच्नसक्ने अवस्था छैन् ।

बिमितको ढोका ढोकामा पुगेर समयमै प्रिमियम भराउने काम निकै जटिल हुन्छ । तर, यो एजेन्टहरुले नियमित गरिरहेका हुन्छन् । त्यसकारण एजेन्टलाई कमिसन दिने व्यवस्था गरिएको हो । मृत्युको दावी भुक्तानी पनि एजेन्टहरुले घरघरमै पुगेर गरिरहेका हुन्छन् ।

बिमितलाई त प्रिमियम तिर्ने बाहेकका केही पनि थाहा छैन् । मैसँग २० वटा जति बीमा पोलिसि छन् । मेरो श्रीमतीलाई त्यसबारे केही पनि थाहा छैन् । मैले ती पोलिसिहरु दराजमा थन्क्याएर राखेको छु । त्यसको पूरा विवरण एजेन्टलाई मात्रै थाहा छ । कहिले कहिले एजेन्टहरुको ‘मिस सेलिङ’का कारण बीमामा समस्या पनि आउन सक्छ ।

त्यसका लागि कम्पनीहरुले आफ्ना एजेन्टहरुलाई उपयुक्त ढंगले नियामन गर्नुपर्छ । एजेन्टहरुलाई अहिले राम्रोसँग काम गर्दा पछिसम्म निरन्तर आम्दानी हुने भर्याङ देखाउनुपर्छ । भारतमा बार्षिक १२ पोलिसी र एक लाख प्रिमियम बुझाउन नसक्ने एजेन्टहरुको लाइसेन्स खारेज हुन्छ ।

नेपालमा भने एक रुपियाँको पोलिसि नबेचे पनि लाइसेन्स खारेज हुन्न । अर्काे कुुरा एउटै व्यक्तिले जति पनि कम्पनीको एजेन्ट बन्न पाउने सुबिधा पनि छ । यी व्यवस्थाहरुमा संशोधन हुनु आवश्यक छ । बीमा प्राधिकरणसम्बन्धी प्रस्तावित ऐनको मस्यौदामा त यी कुरा पनि समेटिएकै छन् भन्ने सुनेको छु ।

एलआइसी नेपालमा बार्षिक साढे छ हजार जति एजेन्टले पोलिसि बेचिरहेका हुन्छन् । हामी एजेन्टहरुलाई आवश्यक तामिल र प्रोत्साहन गरिरहेका हुन्छौं ।

पहिलो नम्बरको रेस

हामी अहिले प्रिमियमका आधारमा दोस्रो नम्बरमा छौं । गत आर्थिक वर्षमा कोभिड १९ का कारण हामीले प्रथम बीमा शुल्क उद्देश्यअनुसार उठाउन सकेनौं । हामी फेयर बिजनेस गरेरै पहिलो हुन चाहान्छौं ।

हाम्रो पहिलो र अन्तिम प्राथमिकता नै बिमितहरु हुन् । बिमितहरुले पाउने लाभलाई कम गरेर हामी अघि बढ्न चाहाँदैनौं । बिमितहरुको हित भनेको बोनसमा पनि निर्भर गर्छ । नेपालमा धेरै बोनस दिने कम्पनीहरुको पहिलो नम्बरमा एलआइसी नै आउँछ । हामी त्यो बोनसलाई घटाउने पक्षमा छैनौं ।

आफ्नो सैयौं करोड रुपियाँ बैंकहरुमा निक्षेप राखेका छौं । त्यसको ब्याजदर १० प्रतिशत बढीबाट घटेर ६ प्रतिशत हाराहारी आईपुगेको छ । जब हाम्रो आम्दानी नै कम हुन्छ, त्यसले बोनसमा प्रभाव पारिहाल्छ । तर पनि हामी त्यस्तो बोनस घट्न दिँदैनौं ।

बीमा समितिलाई पनि धन्यवाद छ कि उसले बिमितलाई भविष्यमा दिने बोनसका लागि अहिले नै प्रोभिजन राख्न भनेको छ । हामीले त पहिलेदेखि नै त्यस्तो प्रोभिजन राखिरहेका छौं । त्यसकारण एलआइसीका बिमितहरुका लागि भविष्यको बोनस पनि सुनिश्चित भइसकेको छ ।

अर्काे कुरा, बीमा कम्पनीका लागि जीवन बीमा कोष (लाइफ फण्ड)को ठूलो महत्व हुन्छ । हाम्रो लाइफ फण्डको वृद्धिदर साह्रै राम्रो छ । हामी पनि चाहान्छौं कि १९ कम्पनीमध्ये पहिलो नम्बरको बनौं । तर त्यसका लागि पनि हतार गरेर हुन्न ।

विस्तार आफ्नो लक्ष्यमा अघि बढ्ने हो । बिमितहरुको मन जित्दै पहिलो हुने हो । हाम्रोमा चार पाँच प्रिमियम तिरेर छाड्नेहरु थिए । उनीहरुको १९–२० करोडको दावी अल्झिएको थियो । पोलिसि परिपक्क भएको थियो । तर, उनीहरुले चार पाँच वटाभन्दा बढी प्रिमियम तिरेका थिएनन् ।

अहिले हामी त्यो सबै दावी फर्स्योट गरिरहेका छौं । तीमध्ये ७० प्रतिशत दावी हामीले भुक्तानी गरिसकेका छौं । हामी ल्याप्स रेसियो घटाउनका लागि एजेन्टहरुलाई पनि बिशेष ढंगले परिचालन गरिरहेका हुन्छौं । ल्याप्स रेसियो कम गरेका आधारमा पनि प्रोत्साहन दिईरहेका हुन्छौं ।

साढे सात लाख पोलिसि

एलआइसीमा साढे सात लाखभन्दा बढी पोलिसि चालु छन् । त्यसबाहेक केही पुराना पेलिसिहरु पनि छन्, जसको प्रिमियम रेगुलर छैन । तर, हामी त्यस्ता पोलिसिहरुलाई नविकरण गर्ने सुबिधा दिईरहेका छौं । दुई वर्षदेखि नविकरण नगरिएको पोलिसिहरुमा पनि ब्याज छुट दिईरहेका छौं ।

हामी यतिबेला २७ वटा प्रोडक्ट बेचिरहेका छौं । गत वर्ष धनवृष्टि योजना ल्याएका थियौं । त्यसपछि सिंगल प्रिमियम पोलिसि पनि ल्याएका थियौं । त्यसबाट २० करोड जति प्रिमियम आएको छ । हामी सिंगल प्रिमियममा कम ध्यान दिन्छौं । यसपटक कुल प्रिमियमको पाँच प्रतिशत सिंगल प्रिमियमका पोलिसिबाट उठेको छ ।

रुचाईएको प्रोडक्ट

सबै भन्दा धेरै बिकेको प्रडक्ट भनेको जीवन तरंग हो । यसमा प्रडक्ट परिपक्क भएपछि एक सय ५० प्रतिशत बोनस आउँछ । त्यसपछि वर्षेनी पाँच प्रतिशतका दरले जीवनभर प्रतिफल पाइन्छ । २० लाखको प्रोडक्ट किनिएको हो भने परिपक्क भएपछि पनि बर्षेनी एक एक लाख रुपियाँ पाइन्छ ।

त्यसकारण यो प्रोडक्ट बिमितहरुको अत्याधिक रोजाईमा परिरहेको छ । जीवन आनन्द पनि अर्काे रुचाईएको प्रोडक्ट हो । यी र इन्डोमेन्ट र धनवृष्टि प्रडक्टले नै हाम्रो ९० प्रतिशत प्रिमियम उठ्छ ।

एलआइसी इण्डिया र नेपाल

एलआइसी इण्डिया र एलआइसी नेपालमा ठूलो भिन्नता छ । एलआइसी इण्डियामा पूर्णतः भारत सरकारको स्वामित्व छ । एलआइसी नेपालमा ५५ प्रतिशत सेयर एलआइसी इण्डियाको छ, २५ प्रतिशत बिशाल ग्रुप र बाँकी २० प्रतिशत सेयर पब्लिकको छ । 

भारत सरकारलाई एक लाख ५० हजार करोड भारु आवश्यक परेको छ । त्यो स्रोत जुटाउनका लागि एलआइसी इण्डियाको सेयर बेच्न लागिएको हो । भारत सरकारले करिब ५ प्रतिशत सेयर बेच्ने भनेको छ । फेरि पनि संसारकै उच्च मूल्यको आईपीओ हुने भनिएको छ ।

भारतमा २५ वटा बीमा कम्पनी छन् । बीमा बजारमा भने ७५ प्रतिशत हिस्सा एलआइसी इण्डियाकै छ । अर्थात, यो अब्बल कम्पनी हो, सरकारलाई पैसा चाहिएकाले केही सेयर बेच्न लागिएको हो । त्यो पनि संसारकै उच्च मूल्यमा बेच्न लागिएको छ । भारतमा एलआइसीको सेयर बेच्दैमा नेपालमा कुनै असर पर्दैन् ।

बरु थप सकारात्मक प्रभाव पर्छ । पच्चिस करोड पुँजीमा एलआइसी नेपालको यात्रा आरम्भ भएको थियो । त्यसको ५५ प्रतिशत लगानी एलआइसी इण्डियाले गरेको हो । अहिले दुई अर्ब एक करोड पुँजी पुगेको छ । त्यसमा भारतबाट एक रुपियाँ पनि ल्याईएको छैन् । सबै यहींको नाफाबाट पुँजी पुर्याईएको हो । भोलि पुँजी पाँच अर्ब पुगेछ भने पनि आन्तरिक आम्दानीबाटै पुर्याउँछौं ।  

Advertisement

Advertisement