बाढी पहिरो देखाउँदै तरकारीको मूल्य दोब्बरले बढाइयो, बिचौलिया सक्रिय

काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपियाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपियाँमा बिक्री गर्दै आएका छन् ।

बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ । बाढीपहिरोले बाटो बन्द भएको छैन । पानी पर्नासाथ एक्कासि बजारमा तरकारीको मूल्य दोब्बर–तेब्बर भएको छ । यो बाढीको बहानामा बिचौलियाले खेलेको खेल हो ।’

उनका अनुसार बिचौलियाले आलु प्रतिकिलो २० रुपियाँमा ल्याएर उपभोक्तालाई ६० देखि ७० मा बिक्री गरिरहेका छन् । उपभोक्ताले प्रतिकिलो ८० देखि ९० रुपियाँमा बोडी किन्छन् । तर, उनीहरूले किसानबाट प्रतिकिलो १५ रुपियाँमा बढी खरिद गर्छन् ।

बिचौलियाले १५ रुपियाँमा किनिएको काँक्रो ६०–७० रुपियाँमा बिक्री गरिरहेका छन् । वर्षा र बाढीको बहाना बनाएर हरियो तरकारीमा प्रतिकिलो ४० देखि ५० रुपियाँ बढी मूल्य लिइएको महर्जनले बताए ।

सरकारले बजारमा अनुगमन नगर्दा बिचौलियाको हावी बढेको उनको भनाइ छ । उनले भने, ‘बिचौलिया कम गर्न सरकारले मूल स्रोतमै अनुगमन गर्नुपर्छ । किसान र बजार तहको मूल्य निर्धारण गर्नुपर्छ ।’

कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले अविरल वर्षाका कारण उपत्यकामा हरियो तरकारीको मूल्य बढेको बताए । विभिन्न ठाउँमा बाढीपहिरो आउँदा काठमाडौं उपत्यका आउने तरकारीको आपूर्ति कम भएको उनले बताए । बजारमा आपूर्ति कम हुँदा तरकारीको मूल्य बढ्नु स्वाभाविक भएको खतिवडाको भनाइ छ । उनका अनुसार उपभोक्ताले सहज मूल्यमा तरकारी पाउन काठमाडौं उपत्यकामा दैनिक १३ सय मेट्रिक टन आउनुपर्छ ।

खतिवडाले भने, ‘अहिले विभिन्न ठाउँमा पानी परिरहेकाले दैनिक ५ सयदेखि ६ सय मेट्रिक टन मात्र हरियो तरकारी आउँछ । तरकारीको आपूर्ति नै कम हुँदा उपत्यकामा पछिल्लो साता तरकारीको मूल्य बढेको हो ।’

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अविरल वर्षाका कारण हरियो तरकारीको मूल्य बढेको बताए ।

उनले भने, ‘कालिमाटी तरकारी बजारमा तरकारीको मूल्य बढेको बारेमा जान्न खोज्दा व्यापारीहरूले वर्षाका कारण नै मूल्य बढेको बताएका छन् । बिचौलियाका कारण तरकारीको मूल्य बढाइएको पाइएमा हामी कानुनबमोजिम कारबाही गर्छौं ।’

विभागले तरकारीको मूल्यलाई लिएर बजार अनुगमन गर्ने तयारी गरेको महानिर्देशक सुवेदीले बताए । उनले तरकारी बजारमा बिचौलिया भित्रिन नदिनेसमेत बताए ।

राजधानी दैनिकबाट ।