उद्योग दर्ता हुने क्रम घट्दो, अघिल्लो वर्ष एक हजार ६८८, गतवर्ष एक हजार ४४८ मात्रै

Advertisement

चितवन । कोभिड–१९ को जोखिमले गर्दा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम घटेको छ । गत आर्थिक वर्षमा अघिल्ला वर्षभन्दा कम उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ भन्दा गत आर्थिक वर्ष २०७६/०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने घटेका छन् । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आर्थिक वर्षमा एक हजार ६८८ उद्योग दर्ता भएका थिए । गत वर्षमा यो सङ्ख्या एक हजार ४४८ मा झरेको छ ।

उद्योगको प्रकृतिअनुसार कार्यालयले आठ वटा शीर्षकमा उद्योग दर्ता गर्ने गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५८, पर्यटनमूलक तर्फ १९०, सेवामूलक १८५, उत्पादनमूलक २१२ वटा र विज्ञान तथा सूचना प्रविधिमा उद्योग तीन वटा दर्ता भएका छन । उक्त आर्थिक वर्षमा ऊर्जामूलक, खनिजजन्य तथा निर्माणमूलक उद्योग कुनै पनि दर्ता भएका छैनन ।

यसैगरी अघिल्लो आर्थिक वर्षमो सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५६ वटा दर्ता भएका थिए । यस्तै उत्पादनमूलक ३५७, सेवामूलक २९५, पर्यटनमूलक १७८ , विज्ञान तथा सूचना प्रविधि दुई वटा दर्ता भएका थिए भने ऊर्जामूलक, खनिजजन्य र निमार्णमूलक उद्योग कुनै पनि दर्ता भएका थिएनन् ।

कार्यालयका प्रमुख नारायण लम्सालले कोरोनाका कारण गतचैतबाट यता उद्योग दर्ता गर्ने सङ्ख्या ठप्प जस्तै भएकाले उक्त सङ्ख्यामा कमी आएको जानकारी दिए । उनले भने, “कोरोनाका कारण नयांँ दर्ता गर्ने पनि आएनन ।” गत वर्षबाट रु पाँच लाखभन्दा कम पूँजी लागनीको उद्योग स्थानीय पालिकामा दर्ता हुने सरकारले निर्णय गरेको छ ।

नवउद्यमीमा अन्योल र अनिश्चितता बढेका कारण पनि उद्योग दर्ता गर्नेको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । उद्योग दर्ता घटेपछि राजश्व सङ्कलन पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा उद्योग दर्ताबाट रु ४९ लाख १४ हजार राजश्व सङ्कलन भएकोमा गत आर्थिक वर्षमा रु ३५ लाख ५८ हजार मात्र राजश्व सङ्कलन भएको छ ।

Advertisement

Advertisement

Advertisement