सात करोड २४ लाखको लागतमा लघु औद्योगिक ग्राम, ८५ प्रतिशत निर्माणको काम सकियो

Advertisement

कर्णाली । लघु तथा साना उद्यमीहरुको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण कार्यले तीव्रता पाएको छ । वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय परिसरमा निर्माणाधीन औद्योगिक ग्रामको ८५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

निर्देशनालयका प्रमुख मुकुन्दनाथ योगीले अबको छ महिनाभित्रै औद्योगिक ग्राम सञ्चालनमा आउने बताए । रु सात करोड २४ लाख ८२ हजार लागतमा निर्माण भइरहेको ग्राममा छ वटा ब्लक छन् । यहाँबाट कर्णाली प्रदेशका साना उद्यमीहरुलाई तालिम, उनीहरुका उत्पादन र बजारीकरणसम्बन्धी कार्यहरु गरिनेछ ।

यस अघि सङ्घीय सरकार मातहत रहेको औद्योगिक ग्राम गत वर्ष प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो । निर्देशनालयले औद्योगिक ग्राम सञ्चालनसम्बन्धी निर्देशिका बनाउने तयारी शुरु गरेको जनाएको छ । ग्राम निर्माणले कर्णालीको लघु उद्यम क्षेत्रको प्रर्वद्धन तथा उत्पादित सामग्रीको बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कर्णालीमा हालसम्म औद्योगिक ग्राम नहुँदा यहाँका लघु उद्यमीहरुले बजारीकरणको समस्या झेल्नुपरेको छ ।

Advertisement

Advertisement

Advertisement