लगानी बोर्डको सीईओमा खतिवडालाई ल्याउने खतिवडाको रणनीति, कानुनमै नभएको उपसमिति गठन

Advertisement

काठमाडौं । ठूला स्वदेशी तथा विदेशी लगानीलाई सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको लगानी बोर्डमा अर्थमन्त्री युवराज खतिवडाले आफ्नो विश्वासपात्रलाई ल्याउने योजना बनाएका छन् । उनले बोर्डमा यसअघि परामर्शदाताको रुपमा काम गरेर छाडेका रामकृष्ण खतिवडालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउने तयारीमा रहेको स्रोतले बतायो ।

छनोट समितिले १२ जना आवेदकहरुमध्येबाट सुशील भट्ट, सुशील ज्ञवाली, लक्ष्मीविलाश कोइराला, डा. सरोज कोइराला र रामकृष्ण खतिवडालाई सर्टलिष्टिङ गरेको छ । समितिले तीन जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्नेछ ।

Advertisement

अर्थमन्त्री खतिवडा संयोजक रहेको र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गोविन्द नेपाल र आयोगका वर्तमान उपाध्यक्ष डा. कँडेल सदस्य रहेको छनोट समितिले यसअघि सर्टलिष्टिङमा परेको भन्दै फरक फरक व्यक्तिहरुको नाम सार्वजनिक गरेका थिए । यसबाट पनि बोर्डको सीईओ नियुक्तिमा निकै चलखेल भइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।

कानुनमै नभएको उपसमिति गठन

सीईओ छनोटका लागि अर्थमन्त्री खतिवडाको संयोजकत्वमा रहेको छनोट समिति आफैले आवश्यक प्रक्रिया गर्नुपर्नेमा कानुनमा नभएको उपसमिति बनाइएको छ । छनोट समितिले उपसमिति बनाएर उम्मेदवारहरुलाई नम्बर दिनमिल्ने व्यवस्था कानुनमा देखिन्न् ।

कुल १०० नम्बरमध्ये उपसमितिले दिएको ७० नम्बरको आधारमा पाँच जनालाई प्रस्तुतीकरणका लागि शुक्रबारको लागि बोलाइएको छ । बाँकी ३० नम्बरको निर्णय प्रस्तुतीकरणपछि समितिले दिनेछ । मन्त्री खतिवडाले बनाउन लगाएको उपसमितिमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा पूर्वसचिव राजन खनाल र प्रशासकीय अदालतका डिल्लीराज घिमिरे सदस्य छन् ।

उपसमिति बनाउँदा आफूमाथि दोष पनि नआउने र आफूले रोजेकोलाई पनि बनाउन सकिने अर्थमन्त्री खतिवडाको विश्लेषण देखिन्छ । महाप्रसाद अधिकारी मन्त्री खतिवडाका भरपर्दा व्यक्ति हुन् । गभर्नर हुँदा निकै सहयोग गरेकाले खतिवडाले महाप्रसादलाई गभर्नर बनाउन निर्णायक भूमिका खेलेका थिए ।

राजन खनाल पनि खतिवडाका सहयोगी मानिन्छन् । उनले राष्ट्र बैंकको गभर्नर बन्ने इच्छा देखाए पनि महाप्रसादलाई नबनाई नहुने अवस्था आएपछि उनलाई प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको प्रमुख नियुक्ति गरिदिएका थिए । रामकृष्ण खतिवडालाई सीईओ बनाउन सकियो भने बोर्डमा आफूअनुकुलका निर्णयहरु पनि गर्न सकिने र यसअघिका अधुरा कामहरु पनि पूरा हुने विश्वास मन्त्री खतिवडा र गभर्नर अधिकारीको रहेको छ ।

यसअघि महाप्रसादलाई बोर्डको सीईओ बनाउने क्रममा प्रस्ताव र प्रस्तुतीकरणका सबै डकुमेन्ट रामकृष्ण खतिवडाले तयार गरिदिएका थिए । बोर्डमा पनि उनले महाप्रसादको निजी सहयोगी जस्तो भएर काम गर्ने गरेको बोर्डका कर्मचारीहरु बताउँछन् ।

बोर्डमा उनी पूर्वाधार हेर्ने परामर्शदाताको रुपमा काम गर्थे । त्यहाँ छोडेर विद्युत नियामन आयोगको सदस्य हुन गएका खतिवडा काम गर्न नसकेपछि आफै राजीनामा दिएर हिँडेका थिए । अर्थमन्त्री खतिवडा र गभर्नर अधिकारीसँग कुरा गरेपछि खतिवडाले बोर्डको सीईओ हुन अघि बढेका थिए ।

सर्टलिष्टिङमा परेकाहरुमध्ये उनी अनुभव र योग्यताले निकै जुनियर भए पनि अर्थमन्त्री खतिवडाले पिकअप गर्ने तयारी गरेका हुन् । अर्का उम्मेदवार सुशील भट्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र हुन् । प्रचण्डले नै उनलाई योजना आयोगका सदस्य बनाएका थिए ।

आयोगको सदस्य भएर माननीय भइसकेको व्यक्ति लगानी बोर्डमा जान राम्रो हुन्न भन्दै अर्थमन्त्री खतिवडाले उनलाई सिफारिस नगर्ने संकेत दिइसकेका छन् । यद्यपि भट्टलाई सीईओ बनाउन प्रचण्डको चर्को दबाब रहेको स्रोतको भनाई छ । अर्का उम्मेवार सुशील ज्ञवाली नेकपाका महासचिव बिष्णु पौडेलका विश्वासपात्र हुन् ।

हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओसमेत रहेका उनले आफ्नो कार्यकाल सकिन लागेको भन्दै बोर्डमा जाने इच्छा देखाएका छन् । तर, प्रधानमन्त्री केपी ओलीले प्राधिकरणको काम नसकिएको भन्दै त्यो ठाउँ नछोड्न सल्लाह दिएकाले उनको बोर्डमा हुने संभावना कम रहेको बताइन्छ । बाँकी दुई उम्मेदवारहरु डा. सरोज कोइराला र लक्ष्मीविकास कोइरालालाई कस्को समर्थन हो ? खुल्न सकेको छैन् ।

कसरी मिलाइँदैछ नम्बर ?

अर्थमन्त्री खतिवडा आफू संयोजक रहेको समितिमार्फत नम्बर दिएर रामकृष्ण खतिवडालाई सीईओ नियुक्ति गर्न सिफारिस गर्दा विवाद हुने भएकाले उपसमिति बनाएर अघि बढेका छन् । अब मुल समितिले दिने नम्बरमध्ये ७० नम्बर उपसमितिले दिइसकेको छ, जसमा पहिलो नम्बरमा रामकष्ण खतिवडा रहेको स्रोतको दावी छ । उपसमितिले अध्ययन, अनुभव र लिखित प्रस्तावका आधारमा ७० नम्बरको निर्णय गरेको छ ।

त्यसपछि समितिले प्रस्तुतीकरणमा २५ र व्याक्तित्वमा दिइने पाँच नम्बरको निर्णय गर्नेछ । मुल समितिका संयोजक नै आफ्नै मान्छे भएकाले रामकृष्णलाई पहिलो उम्मेदवार हुन कुनै कठिनाई देखिदैन् । त्यसरी प्रक्रियागतरुपमा मिलाएर नियुक्तिका लागि सिफारिस गर्दा मन्त्रिपरिषद् र प्रधानमन्त्रीलाई पनि कन्भिन्स गर्न सहज हुने अर्थमन्त्री खतिवडाको योजना छ । त्यसमाथि खतिवडालाई बनाउन गोकुल बास्कोटासमेत सक्रिय ढंगले लागेकाले रामकृष्ण खतिवडाको भाग्य चम्किने जानकारहरु बताउँछन् । रामकृष्ण खतिवडा पनि गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेका हुन् ।

Advertisement

Advertisement