राखेप सदस्य सचिवमा फेरि विवादास्पद अनुहार, हटाएर फेरि नियुक्ति गरियो

Advertisement

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा फेरि विवादास्पद अनुहारलाई नियुक्त गरेको छ । केही समयअघि मात्रै हटाइएका रमेश सिलवाललाई सरकारले खुल्ला प्रतिस्पर्धाको नाममा प्रक्रिया पूरा गरेर पुनः नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि उनी स्वतः पदमुक्त भएका थिए । नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समिति बनाइएको थियो । सदस्यसचिव नियुक्तिका लागि सिलवालसहित तीन जनाको नाम सिफारिस गरेकामा सिलवाललाई नै मन्त्रिपरिषदले रोजेको हो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

उक्त पदका लागि २७ जनाले आवेदन दिए । शैक्षिक माफियाको रुपमा चिनिएका सिलवालले आफ्नो स्कुल सञ्चालित एमबीबीएसको परीक्षाको प्रश्नपत्र लिक गरेको भन्दै उनीमाथि प्रशासनले छानविनसमेत गरेको थियो । यद्यपि उनी आफ्नो प्रभाव र पहुँचको बलमा कारवाहीबाट जोगिएका थिए ।

Advertisement

Advertisement

Advertisement