तरकारी मूल्य आकाशियो, थोक र खुद्रा मूल्यमा आधा अन्तर

Advertisement

काठमाडौं । उदयपुरकी चन्द्रकला पौडेललाई हिजोआज भान्छा अचाक्ली महँगिएको महसुस भइरहेको छ। लकडाउन खुलेपछि हरियो तरकारी छुनै नसक्ने अवस्थामा पुगेको उनले बताइन्। बरु लकडाउनका बेला तरकारीको मूल्य केही सस्तो थियो। तर, अहिले मूल्य बढेर घरव्यवहार चलाउनै कठिन भएको छ। लकडाउनले गर्दा आफ्नो ब्युटिपार्लर व्यवसाय चौपट भएको अवस्थामा तरकारी अचाक्ली महँगो हुँदा भान्छा चलाउन कठिन भएको छ।

‘खै यो बजारलाई के भाको हो कुन्नि ? अचम्मै भएँ। बरु लकडाउनका बेला तरकारी निकै सस्तो थियो’, उनले भनिन्, ‘अहिले त छुनै नसक्ने गरी मूल्य बढ्यो। भान्छाको खर्च बढेर घरव्यवहार चलाउनै कठिन भयो।’

उनले असार १२ गते रातो आलु प्रतिकिलो ४८ रुपियाँमा खरिद गरेकी थिइन्। अहिले भाउ बढेर खुद्रा मूल्य ७५ रुपियाँ पुगेको छ। उनले परबल किलो ४५ रुपियाँमा किनेकी थिइन्, अहिले १ सय ६० पर्छ। बोडी प्रतिकिलो ५० रुपैयाँमा पाइन्थ्यो, सोमबार १ सय २० रुपियाँ पुगेको सुन्दा उनी अचम्मै परिन्। ‘हरियो तरकारी किनेर खाने समय रहेन’, उनले भनिन्।

पौडेलजस्तै अरू राजधानीवासी हरियो तरकारी अत्यधिक महँगोमा किन्न बाध्य छन्। लकडाउन अन्त्यसँगै पछिल्लो साता संघीय राजधानी मात्रै होइन, देशभरका बासिन्दाको भान्छा महँगिएको छ। यसका पछाडि प्राकृतिक वर्षा र बाढीसँगै बिचौलिया कारक देखिएका छन्।

त्यसो त तरकारीको थोकभन्दा खुद्रा मूल्य दोब्बरसम्म देखिएको छ। थोक र खुद्रा व्यापारमा ठूलो मूल्य अन्तर छ। लकडाउनका कारण आर्थिक रूपमा धराशायी बनेका नेपालीलाई यो मूल्यवृद्धिले थप पीडा दिएको छ।

लकडाउनअघि काठमाडौं उपत्यवासीले अत्यधिक परिमाणमा चामल, दाल र खाने तेल भण्डारण गरेकाले यी खाद्यान्नको माग घटेर मूल्य बढेको छैन। मध्य असारदेखि साउन अन्तिम सातासम्म वर्षात्का कारण तरकारी बाली अधिकांश गलेर उत्पादनमा कमी आउँछ। मागअनुसार उत्पादन नहुँदा बिचौलिया र खुद्रा व्यापारीले आफूखुसी मूल्य वृद्धि गरेको देखिन्छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement