अधिक तरलताले बैंकहरु समस्यामा, बचत मात्रै आउँछ, ऋण माग्ने आउँदैनन्

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) निरन्तर बढ्दो छ । गत आर्थिक वर्षको अन्त्यमा भएको सरकारी खर्च बैंक तथा वित्तीय संस्थामा आएको, नयाँ कर्जा माग नभएको, रेमिट्यान्स वृद्धिलगायत कारण वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढिरहेको हो । राष्ट्र बैंकका अनुसार बिहीबारसम्म वित्तीय प्रणालीमा करिब २ खर्ब ५ अर्ब रुपियाँ लगानीयोग्य रकम छ ।

‘प्रणालीमा अधिक तरलता भएपछि एक साताका लागि रिभर्स रिपोमार्फत २० अर्ब रुपियाँ बजारबाट झिकिएको छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने । उक्त पैसा झिक्दा पनि अझै १ खर्ब ८५ अर्ब रुपियाँ अधिक तरलता रहेको उनले बताए । राष्ट्र बैंकले आह्वान गरेको रिभर्स रिपोका लागि १९ वटा बैंक तथा वित्तीय संस्थाबाट ८३ अर्ब ५ करोड रुपियाँको माग भएको थियो । रिभर्स रिपोको बट्टादर ०.०३० प्रतिशत छ । गत साताको तुलनामा यो कम हो । राष्ट्र बैंकले गत साता पनि रिभर्स रिपोमार्फत २० अर्ब रुपियाँ तानेको थियो । त्यसको परिपक्वता अवधि पूरा भए पनि बिहीबार पुनः सोही रकम बराबर पैसा झिकिएको हो । बजारमा अधिक तरलता धेरै भइरहँदा पनि ब्याजदरको लोभले राष्ट्र बैंकले पैसा नतानेको आरोप लागिरहेका बेला पछिल्ला दुई सातामा लगातार पैसा उठाउन थालिएको हो । रिभर्स रिपोलगायत उपकरणमार्फत राष्ट्र बैंकले बजारबाट पैसा तान्दा सो रकमको ब्याज तिर्नुपर्छ । यसकारण वित्तीय प्रणालीमा धेरै तरलता थुप्रिँदा पनि बजारबाट पैसा नझिक्दा राष्ट्र बैंकलाई ब्याजको लोभले पैसा नतानेको आरोप लाग्दै आएको छ । करिब एक महिनापछि गत सातादेखि मात्र राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थालेको छ ।

Advertisement

नयाँ कर्जा माग छैन

नयाँ आर्थिक वर्षको सुरु र लकडाउन हटे पनि बैंक तथा वित्तीय संस्थामा कर्जाको माग छैन । पुराना ऋणीले केही ऋण थप गरे पनि नयाँ कर्जाको माग नभएकाले तरलता थुप्रिएको बैंकहरू बताउँछन् । राष्ट्र बैंकले गत चैतमा स्वीकृत ऋणमा २० प्रतिशत कर्जा सीमा थप गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यही व्यवस्थाले केही ऋण गए पनि ठूलो परिमाणमा नयाँ ऋणको माग नभएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । 

कान्तिपुर दैनिकबाट । 

Advertisement

Advertisement